सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी थिए । यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चारकर्मीलगायत सहभागी थिए ।
राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाई दिए । सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए । समारोहमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो । विसं २०६२–६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने व्यवस्था छ ।
यस्तो छ पौडेलको राजनीतिक योगदान राष्ट्रपति पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती तथा चार छोरी र एक छोरा छन् । किसान परिवारमा जन्मेका पौडेलको स्थायी बसोबास तनहुँको व्यास–८ बेलथुम्की हो । हाल काठमाडौँ महानगरपालिका–१६ बोहोराटारमा बस्दै आएका छन् । पौडेलले शास्त्री (संस्कृत साहित्य) र स्नातकोत्तर तह (नेपाली साहित्य) उत्तीर्ण गरेका छन् । पौडेललाई अध्ययनशील, बौद्धिक, सादगी, जुझारु एवम् सङ्घर्षशील व्यक्तिका रूपमा लिइन्छ ।
विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ जेठ÷असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनका लागि प्रतिनिधि भएका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री विपी कोइरालालगायत नेतालाई जेलमा राखिएकामा त्यसको विरोध गर्दै पौडेल प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतले २०१९–२०२० सालमा भएको उपत्यकाव्यापी विद्यार्थी आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पौडेल गिरफ्तार भएका थिए । नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६) को जिम्मेवारी सम्हालेका पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ जिल्ला समितिको संयोजक (२०३७), कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख (२०४०) र २०४३ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । नेपाली कांगे्रस पार्टीको केन्द्रीय महामन्त्री (२०६२–२०६४), केन्द्रीय उपसभापति (२०६४–२०७२) र कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेसको कार्यवाहक सभापति भएका थिए । भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोगेका पौडेल विद्यार्थी आन्दोलनका क्रममा पटकपटक गिरफ्तार भएका थिए । विद्यार्थी आन्दोलनसहित नेपाली कांग्रेस पार्टीको जिल्लादेखि केन्द्रसम्म विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा पौडेलले १४ वर्षभन्दा बढी जेलजीवन व्यतीत गरेका थिए । पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४ र २०७० सालमा लगातार प्रतिनिधिसभा निर्वाचन तथा संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ तनहुँ क्षेत्र नं १ बाट उनी निर्वाचित भएका हुन् । पौडेल पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, २०४९ सालमा कृषिमन्त्री र २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए । उनले २०५६ साल र त्यसपछि उपप्रधानमन्त्री तथा सूचना÷सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०)समेत जिम्मेवारी सम्हालेका थिए । पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन्’को सम्मान (सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।