उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता, उम्मेदवारको सूची प्रकाशन पनि आजै

शनिबार, फागुन २७, २०७९

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवार मनोनयनको समय तोकिएको छ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन गरेको छ ।
दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न भोलि (फागुन २८ गते) बिहान १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ ।
उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले आज निर्देशन दिइसकेको छ ।
आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ।

 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार