माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित भए : ओली 

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा पराजित भएको दोष उनीबाट फुटेर गएका माधव नेपालप्रति खन्याएका छन् । हिजो भएको राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले एमाले उम्मेदवार सुवास नेम्वाङलाई दोब्बर मतले पराजित गरेपछि उनको आक्रोश माधव नेपालतर्फ सोझिएको हो । एमालेले राष्ट्रपति नपाउने भएपछि ओलीले माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन खोजेका थिए तर ओलीको प्रस्तावलाई भर नगरी माधव ७ दलीय गठबन्धनतर्फ लागेको थिए । 
उनले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा भने, ‘माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परे ।’ 
विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको अध्यक्ष ओलीको आरोप थियो । 
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको शपथ ग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको तर्क गरे। 
ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड–माधव नेपालहरूले राजनीतिमा बेईमानी गरेको बताए । उनले खेलाडीहरुलाई पनि फउल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरूले सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोही अनुसारको अघि बढन खेलाडीहरूको ध्यानाकर्षण गराए । 
ओलीले भने, ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं । फउल खेल्नेहरुले दुई तिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाईको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए । विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरूलाई बुझाउने दुष्चेष्टा गरे । सबै गरे । तर तिनीहरूले वास्ताविक सफलता हासिल गर्न सकेनन् । क्रियशनमा सफलता प्राप्त गर्नका लागि अभ्यासद्वारा श्रेष्ठता हासिल गर्नु पर्दछ । श्रेष्ठता हासिल बेइमानीले हुँदैन। इमान्दार प्रयासबाट हुन्छ । त्यसकारण मैले सुरुमै भने सफलताको पूँजी, सफलताको रहस्य इमान्दार प्रयास हो ।’
अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडीहरू नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए । उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार