सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालका ओपनर आसिफ शेख आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार शतक प्रहार गर्दै आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४३.३ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४७ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनमा क्याच आउट भए । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो । समग्रमा उनको क्रिकेट करिअरको चौथो शतक हो । आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका थिए । आसिफ नेपालबाट ओडिआईमा शतक हान्ने पाँचौं खेलाडी हुन् । पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि पाँचौं खेलाडी बनेका हुन् । आसिफ ३८ औं ओभरको चौथो बलमा सेमो कमियाको बलमा मिडअफबाट राइली हेकुरेबाट क्याच आउट भए । शतक बनाउनु अघि आसिफले दुई महत्वपूर्ण जीवनदान पाएका थिए । तेस्रो ओभरको चौथो बलमै आसिफले ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर सेमो कमियाको बलमा एज लागेपनि फस्ट स्लिपमा सेसे बाउले क्याच ड्रप गर्न पुगेपछि आसिफले सुरुवातमै जीवनदान पाएका थिए । आसिफले नवौं ओभरको पाँचौं बलमा पुन ब्यक्तिगत २२ रनमा जीवनदान पाए । पपुवा न्युगिनीका फिल्डरले पुन क्याच छाड्न पुगेका थिए । त्यस्तै आसिफले ओडिआई करिअरको एक हजार रन पनि पूरा गरेका छन् । उनी रोहितपछि ओडिआईमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८।४ ओभरमा १ सय १० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । हेकुरेकै बलमा ठूलो सट खेलेका कुशल मल्ल दुई रनमा क्याच आउट भए । ज्ञानेन्द्र मल्ल पनि हेकुरेको बलमा असद भालाबाट ११ रनमा क्याच आउट भए । चौथो विकेटका लागि रोहित पौडेल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । रोहित ठूलो सट खेल्ने धुनमा ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा रन आउट भए ।