सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । सरकारले अनिवार्य जस्तै गरेको राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । चितवनसहित ११ जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको हातबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरिएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले परिचय पत्र वितरण गर्ने निर्णय गरेको थियो । परिचय वितरण कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले अब प्रविधिसँगै अगाडि बढ्नुपर्ने भन्दै भरतपुरवासीलाई महानगरपालिका कार्यालयमै इकाइ स्थापना गरी राष्ट्रिय परिचयपत्र वितरणको बन्दोवस्त गर्न लागिएको बताइन् । उनले भनिन्, ‘पञ्जीकरण शाखा पनि छ, जनशक्ति र स्रोत–साधनको पनि व्यवस्था मिलाऔंला ।’ चितवनमा १७ हजार थान राष्ट्रिय परिचयपत्र आएको बताइन्छ । अहिले ११ जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण थालनी भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले जानकारी दिए । १६ वर्ष पुगेर नागरिकता प्राप्त गरेका सबै नागरिकलाई अबको दुई वर्षभित्रै राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य रहेको उनले बताए । कार्यक्रममा चितवन जिल्लाका प्रमुख सेनानी अच्युत घिमिरे, जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्की, अनुसन्धान प्रमुख एसपी कमलप्रसाद भट्टराई, सशस्त्र प्रहरी प्रमुख शशी पाण्डे, विपद् व्यवस्थापन गण रसौलीका गणपति कुलचन्द्र श्रेष्ठ लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।