सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरू क्षुद्र स्वार्थमा अल्झिए /

राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहयो : ओली

शनिबार, फागुन २०, २०७९

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले क्षुद्र स्वार्थमा अल्झिएर सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गर्न सफल भएको आरोप लगाएका छन् ।  भक्तपुरमा शनिबार भएको पार्टी निकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले देशका लागि एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको दाबी गरे । उनले भने, ‘क्षुद्र स्वार्थमा अल्झिएकाहरूले नै सत्ता कब्जा गरे । दुर्भाग्यको कुरा देशका लागि एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार हुन खोज्छ। यथार्थ त्यही हो ।’ 
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘किनभने सामाजिक रूपान्तरण परिवर्तनका विरोधी शक्तिहरू आफ्ना क्षुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् अहिले पनि।’
अध्यक्ष ओलीले उनीहरू नै जनता अलमल्याउन र चटके कुरा गर्न सफल भएको भन्दै बौद्धिक जगतले दिग्भ्रमित पार्ने शक्तिहरूबाट जनतालाई मुक्त गर्न बिगुल फुक्ने काम गर्नुपर्ने सुझाव दिए । 
इतिहास निर्माणका प्रेरक शक्ति हिजो, आज र भोलि पनि जनता नै भएको भन्दै जनतालाई सही मार्गदर्शन गर्न सक्नु अहिलेको चुनौती रहेको ओलीको भनाइ छ। अध्यक्ष ओलीले विरोधी जमातले सङ्गठित र सक्रिय ढङ्गले सामाजिक सञ्जालबाट एकै पटक आक्रमण गर्न सक्ने भए पनि त्यसबाट नआत्तिन आग्रह गरे।
‘सय जना विरोधीले एकै पटक आक्रमण गरे भने नआत्तिनुस्, तपाईँको विचारबाट उनीहरु आत्तिएर एकै पटक आक्रमण गर्न सङ्गठित ढङ्गले सक्रिय भएका हुन् ।
नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरु खनिएका हुन्’, ओलीले भने, ‘उनीहरुले तपाईंको विचारलाई इगनोर गर्न सक्थे तर तपाईँको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरुले इगनोर गर्न सक्दैनन् र सङ्गठित ढङ्गले हमला गर्छन् ।’
सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगत्मा हाबी हुन बुद्धिजीवीहरूलाई ओलीको आग्रह छ ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार