स्ववियु निर्वाचनका लागि क्याम्पसहरुमा निर्वाचन समिति गठन

क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने
बुधबार, फागुन १७, २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ ।
आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरेको जानकारी दिए ।
प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ । समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था रहेको छ ।
यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकिएको छ । निर्देशनालयका निर्देशक अधिकारीले गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थिति निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न भनिएको छ ।

सुरक्षा व्यवस्था मिलाउन पत्राचार

यस्तै स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालयमार्फत ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरिएको छ । क्याम्पस प्रमुखलाई समेत स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिइएका छ ।
आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ ।
कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।
मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार