वनभोजमा गएकी जसपा सांसद रहमानको हृदयघातका कारण निधन

शनिबार, फागुन १३, २०७९

भक्तपुर । सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन गएकी जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ । 
आज जसपा नेपाल गैरभौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा भद्रपुर नगरपालिका–६ स्थायी घर भई हाल मध्यबानेश्वर काठमाडौँ बस्ने ६४ वर्षीय रहमान वनभोजस्थलमै मेचबाट एक्कासी ढलेर बेहोस भएपछि उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा लगिएकामा अस्पतालका चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेका थिए । 
जसपाकी केन्द्रीय सदस्यसमेत रहेकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद भएकी थिइन् । 

प्रधानमन्त्रीद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार