यो वर्ष पनि दोहोरियो गुलियो उखुको अमिलो कथा, उखु किसान आन्दोलित

शुक्रबार, माघ ६, २०७९

काठमाडौं । गुलियो उखुको अमिलो कथाले यो वर्ष पनि निरन्तराता पाउने अवस्था देखिएको छ । नगदेबालीका रुपमा उखु लगाएका किसानले समयमै भुक्तानी नपाउने तथा उखुको खरिद मूल्य कम तोकिँदा वर्षेनी पीडा खप्दै आएका छन् । अघिल्लो वर्ष उखु किसान काठमाडौंको माइतीघरमा महिनौसम्म आन्दोलनमा रहेका थिए । आन्दोलनमै रहेका बेला काठमाडौंको कठाङिग्रने जाडोले एकजना किसानको ज्यानै लिएको थियो । यो वर्ष पूर्वी तराई तथा पश्चिम तराईका उखु किसानले आफूहरुको पाउनु पर्ने रकम नभएको भन्दै आन्दोलन सुरु गरिसकेका छन् ।
यसै मेसोमा कपिलवस्तुका उखु किसानहरूले आन्दोलन नै सुरु गरेका छन् । किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उखु किसानहरुले ज्ञापनपत्र बुझाएका छन् ।
आव २०७१-७२ मा प्रतिक्विन्टल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ ।
त्यस्तै महालक्ष्मी सुगर मिलले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकाले उक्त मेसिन किसान सङ्घको नाममा गरिदिने, विसं २०७३-७४ मा सरकारले तोकेको मूल्यभन्दा महालक्ष्मी सुगर मिलले कम मूल्यमा उखु खरिद गरेकाले सो रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
सरकारले उखुको मूल्य बर्सेनि तोक्ने तर स्थानीय व्यापारीले किसानाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।
किसानको मागमा सिँचाइको व्यवस्था, किसानले ट्र्याक्टर खरिदमा भन्सारमा सहुलियत, चिनी मिलको स्थापनालगायतका नौ बुँदे माग गरेका छन् । पटक–पटकको आन्दोलनपछि २०७७ साल पुस १३ गते नेपाल सरकारसँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी रहेको अध्यक्ष चौधरीले बताए ।
ज्ञापनपत्र दिँदै अध्यक्ष चौधरीले माघ २० गतेसम्म पनि कुनै सुनुवाइ नभएमा माइतीघर मण्डलामा धर्ना प्रदर्शन गर्ने जानकारी दिए । किसानहरूले जीविकोपार्जनका रूपमा उखुखेती गरे पनि सरकारले किसानलाई संरक्षण गर्नुपर्ने समयमा उद्योगलाई संरक्षण गरेको आरोप लगाए ।
पटक–पटक आन्दोलन गर्दासमेत सुनुवाइ नभएकाले किसान पीडित बन्ने अवस्थामा रहेको चौधरीको भनाइ छ । विगतको तुलनामा उखु उत्पादन गर्ने किसानको सङ्ख्या पनि घटेकाले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार