अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

सोमबार, पुस २५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिएका छन् । ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकिकृत कारोवारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताएका हुन् ।
उनले भने, “यही आवश्यकता बुझेर नै पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीजि क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने निर्णय समेत गरेका छौं ।”

IMG-20621673246144.jpg
दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको बताउँदै प्रधानमन्त्रीले यस बाट, हाम्रो देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
“अहिले मर्जर लगायतका क्रियाकलाप पश्चात ठूला परियोजनामा श्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तिय क्षेत्रमा कहिलेकाहिँ देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने अपेक्षा गर्न सकिन्छ,” उनले भने, “तर यो क्रममा नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस भन्ने कुराको हेक्का राख्न जरुरी छ ।”
बैंकिङ क्षेत्रको विस्तार र सुध्रिढिकरणले दिएको अवसरको सही उपयोग गर्न सकियो भने ऋण तथा लगानीका श्रोतमा पहुँच बढेसँगै अर्थतन्त्रलाई गति मिल्ने र आम नागरिक तथा व्यवसायहरुको उत्थानशीलता बढने उनले बताए ।
विप्रेषणको कारोवारलाई भरपर्दो र सुरक्षित गर्न समेत बैंक क्षेत्रको ठूलो भूमिका रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले ठूला परियोजनामा मात्र नभएर नवीनतम बैंकिंग तथा वित्तीय प्रोडक्ट प्रयोग गरेर आम जनताको वित्तिय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताए ।

IMG-20531673246250.jpg
प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पुँजीवजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूवीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकार निजी क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको बताए । पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्याले निजी क्षेत्रमा अन्यौलता छाएको र कतिपय समस्या देखिएको उल्लेख गर्दै उनले निजी क्षेत्रका मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताए ।

IMG-19661673246253.jpg
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय संस्था धेरै हुँदा वित्तीय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिष्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको बताए । यसबाट बैंकिङ क्षेत्रमा उल्लेख सुधार हुनुका साथै वित्तीय मध्यस्थताको लागत समेत घटेको उनको भनाइ थियो ।

ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएको छ । यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो । 
आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताए । मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैंक पुगेको उनको दाबी छ । 
“यसअघि पनि हामी धेरै सूचकमा पहिलो नै थियौँ । तर, आजको मर्जरपछि हामी झनैमाथि उक्लिन सफल भएका छौँ । योसँगै हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र छ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्था एउटै संस्थाका रुपमा एकीकृत गरेका छौँ”, ढकालले भने । 
एकीकृत कारोबारपछि बैंकको कूल पुँजी कोष रु ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन रु चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कूल सम्पत्ति रु पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पु¥याएको छ । हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । 
नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अहिलेको अवस्थासम्म आइपुगेको अध्यक्ष ढकालको भनाइ छ । “मर्जरमा गएकै कारणले हामी मात्रै सफल भएका छैनौँ, सरकारको यो नीतिको कार्यान्वयनबाट अरु बैंक तथा वित्तीय संस्था पनि मर्जरमा जानका लागि उत्साहितसमेत गरेका छौँ”, उनले भने । 
बैंकको आकार र वित्तीय सूचकांकमा ठूलो देखिनु मात्र सफलता नभइ मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने उद्देश्यले मर्जरलाई प्राथमिकतामा राखिएको ढकालको भनाइ छ । 
ठूलो बैंक हुनुका पछाडि अवसर मात्र नभएर कैयौँ चुनौती पनि जोडिएर आउने ढकालको बुझाइ छ । पटक–पटक मर्जरको अनुभव हासिल गरिसकेकाले त्यस्ता चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी बैंकलाई सबल संस्थाका रुपमा विकास गर्न सक्षम हुने विश्वास पनि उनले व्यक्त गरे । 
बैंकहरुको पुँजी कम हुँदा अहिलेको आवश्यकताअनुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी सङ्ख्यामा बैंकहरुको सहकार्य गर्नुपर्ने अवस्था भएको ढकालको भनाइ छ । ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागिसमेत यसले राहत दिने उनले बताए । 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार