निजी डेरीले एकतर्फी रुपमा बढाए प्रति लिटर दूधमा १४ रुपैयाँ 

शनिबार, पुस १६, २०७९

काठमाडौँ । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ सम्म बढाएका हुन् ।  व्यवसायीले दूधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन । डेरी क्षेत्रकै अन्य व्यवसायीले यसको विरोध गरेका छन् । राष्ट्रिय दुग्ध विकास नीतिमा “वार्षिक मूल्य वृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक दुई वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था गरिने उल्लेख छ । 
दूधको मूल्य हरेक दुई वर्षमा परिमार्जन गरिनुपर्ने व्यवस्था रहेपनि व्यवसायीले ११ महिनामै मूल्य बढाएका हुन् । यसअघि सरकारले २०७८ माघमा दूधको मूल्य तोकेको थियो । 
दूधको उत्पादन लागत बढेको र किसानबाट खरिद गर्ने मूल्य नै महँगो परेपछि मूल्य बढाउनुपरेको डेरी उद्योगीहरूको भनाइ छ । किसानको उत्पादन लागत नै महँगो परेपछि बाध्य भएर मूल्य बढाएको नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताए । “दाना, चोकरको मूल्य बढेका कारण लागत बढ्यो । कर्मचारीको तलबदेखि बैंकको ब्याजसम्म बढेको छ । मूल्य बढाउन किसानले पटकपटक दबाब दिए । महँगोमा नकिने किसान पलायन हुने र दूध नपाउने अवस्था आयो”, दाहालले भने । सरकारले दूधको न्यूनतम समर्थन मूल्य तोकेको भएपनि अधिकतम मूल्य भने बजार मागअनुसार तोकिने उनको भनाइ छ ।
“किसानलाई न्यूनतम मूल्य नदिएको भए निकायमले कारबाही गर्न सक्छ । तर बढी मूल्य दिन नपाउने भनेर अहिलेसम्म हामीलाई कुनै पत्र आएको छैन । दिन प्रतिदिन किसानको मूल्य बढ्दै जाने तर हामीले बजारमा सस्तोमा बेच्ने भन्ने पनि सम्भव छैन’, दाहालले भने । गतवर्ष माघमा सरकारले दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ९७ पैसा तोकेको थियो । त्यसमध्ये किसानले प्रतिलिटर ५६ रुपैयाँ चार पैसा पाउँछन् भने प्रतिलिटर ९३ पैसा चिस्यानमा राख्ने खर्चका रुपमा रहन्छ । तर पछिल्लो समय किसानले नै प्रतिलिटर ७० रुपैयाँ सम्ममा दूध बेच्न थालेको र किसानबाट खरिद मूल्य बढेपछि बजारमा उपभोक्ता मूल्य पनि बढाइएको उनको भनाइ छ ।
दूधमा मूल्य बढाउँदा त्यसको लाभ किसानले नभई व्यवसायीले नै लिने गरेको भन्दै आलोचना भइरहेको छ । “सामान्यतया दूधको मूल्यमा ७० प्रतिशत किसानको नाफा र ३० प्रतिशत व्यवसायीको रहन्छ । तर अहिले प्रतिलिटर १४ बढाउँदा १२ रुपैयाँ त किसानले नै पाएका छन्”, उनले भने । दुग्ध विकास संस्थान (डीडीसी) भन्दा निजी क्षेत्रले प्रतिलिटर एक रुपैयाँ बढी मूल्य तिरेर दूध खरिद गर्ने पारस्पारिक समझदारीमा भएको पनि उनको भनाइ छ । 
डेरी उद्योग सङ्घले दूधको मूल्य बढाउने निर्णय गरे पनि नेपाल डेरी एशोसियशन र केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले भने त्यसमा सहमति जनाएका छैन । राष्ट्रिय दुग्ध विकास बोर्डले भने केही व्यवसायीले आफूखुसी मूल्य बढाउनु उचित नरहेको जनाएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले सीमित दुग्ध व्यवसायीले मूल्य वृद्धि गर्न नपाउने बताउँछन् । “राष्ट्रिय दुग्ध विकास नीति र दुग्ध विकास ऐनले हरेक दुई वर्षमा मूल्य समायोजन हुन्छ भन्ने प्रावधान राखेको छ । सबै सरोकारवालासँगको छलफलपछि २०७८ माघमा मूल्य निर्धारण भएको थियो । अहिले व्यवसायीले आफैँ मूल्य बढाउनु जायज होइन”, यादवले भने ।  दुग्ध व्यवसायीले एकलौटी मूल्यबारे आइतबार कृषि तथा पशुपक्षी मन्त्रालयका सचिवसँग छलफल राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार