ललितपुर महानगरले महानगरवासीलाई योग सिकाउने 

त्रिविसँग मिलेर योग प्रक्षिक्षक उत्पादन गर्ने 
मंगलबार, पुस १२, २०७९

ललितपुर ।  ललितपुर महानगरले महानगरको २९ वटै वडाका बासिन्दालाई योग सिकाउने भएको छ ।  पूर्वाधार विकासले मात्रै सहर स्मार्ट नहुने भन्दै महानगरले नगरवासीको स्वास्थ्यलाई महत्व दिएर योग सिकाउने व्यवस्था मिलाउन लागेको हो ।
योग प्रशिक्षक उत्पादनका लागि मंगलबार महानगर र त्रिभुवन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भयो । समझदारी पत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले हस्ताक्षर गरे । महानगरले प्रत्येक वडाबाट एक जनालाई योग विषय अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयमा पठाउनेछ । अध्ययन पश्चात फर्केका ती प्रशिक्षितले वडामा योग सिकाउने छन् । यो कार्यक्रमलाई योग विज्ञान अधिस्नातक छात्रवृत्ति भनिएको छ । समझदारी पत्रमा हस्ताक्षर पश्चात महानगरप्रमुख चिरीबाबु महर्जनले स्मार्ट सहरका लागि सडक, बत्ती मात्रै पर्याप्त नभएको बताए । उनले भने, ‘सहर स्मार्ट हुन, महानगरवासी समेत स्वस्थ हुनुपर्छ, योगले मानिसलाई मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउँछ, त्यसैले यो कार्यक्रम ल्याएका हौं ।’  
उपप्रमुख मंजली शाक्य बज्राचार्यले स्वस्थ महानगर निर्माणको क्रममा महानगरले वडास्तरमा नै योग संचालन गर्ने योजना बनाएको बताइन् । महानगरको यो नितान्त नौलो अभियान भएको उनको भनाइ थियो । 
विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले स्थानीय सरकार ललितपुर महानगरले योगलाई महत्व दिएकोमा खुशी व्यक्त गरे । उनले तीन तहका सरकारले पूर्वाधार निर्माणसँगै मानिसको मानसिक र चित्त सुद्धिका लागि योग र आयुर्वेदलाई प्राथमिकतामा राख्नु पर्ने धारणा व्यक्त गरे । 
महानगरले योग प्रशिक्षक उत्पादनसँगै प्रत्येक वडामा योग गर्न मिल्ने पूर्वाधार निर्माण थाल्ने बताएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रत्येक वडामा योग प्रशिक्षकको व्यवस्था गर्न लागेको बताए । विश्वभर नै औषधि होइन, योग र ध्यानले महत्व र प्राथमिकता पाएको बताउँदै उनले चित्त सुद्धि र शारीरिक तन्दुरुस्तीका लागि व्यक्तिको जीवनमा योग अपरिहार्य भएको उनले दाबी गरे । 


    
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार