सामुदायिक विद्यालयप्रती आकर्षण बढाउन बाल बचतमा अनुदान

शुक्रबार, कात्तिक २५, २०७९

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको वचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउन यो अवधारणा बढाएको हो । 

नगर प्रमुख रणबहादुर राईले सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यस अवधारणाले मद्दत पुर्‍याउने बताए । अवधारणाअन्तर्गत विद्यार्थीले थोरै रकम आफैँ वचत गरी खातामा जम्मा गर्नेछन् । त्यसमा केही रकम नगरले अनुदान दिनेछ । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले भने, “जुन बैंकमा बालबालिकाको खाता खोलिएको हुन्छ, उक्त बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्चिनुपर्ने रकम सोही खातामा लगाइदिने गरी नगरपालिकाले बैंकलाई आग्रह गर्नेछ ।” नगरपालिका र बैंकमार्फत पाउने अनुदान विद्यार्थीले कक्षा ८ उत्तीर्ण गरेपछि मात्र प्राप्त गर्ने नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए । विद्यार्थीले दिनहुँ रु पाँच, रु १० वा मासिक यथासक्य रकम जम्मा गर्नेछन् ।

यस कार्यक्रमले बालबालिकामा वचत गर्ने बानीको विकास हुने, उच्च शिक्षा अध्ययनको बेला खर्च सघाउ पुग्नेछ । नगरप्रमुख राई भन्छन्, “बालबालिकाले धेरै लगानी गर्नुपर्दैन । यसमा नगरपालिकाले बोनस वा थप ब्याजदरका रुपमा अनुदान दिन्छ । तर ८ कक्षाअघि नै कोही विद्यार्थी निजी अथवा अन्य पालिका जान्छ भने त्यो अनुदान उसले पाउँदैन ।”

नगरपालिकाको २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म चार हजार पाँच सय २१ बालबालिका छन् । कक्षा छोड्ने विद्यार्थीको दर तीन प्रतिशत रहेको शिक्षा शाखा प्रमुख भट्टराईले बताए । दीर्घकालीन उपलब्धिका रुपमा बालबालिका माथि लगानी बढाउँदै आएको ‘सूर्योदय’ प्रदेश नं १ को तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार