स्याङ्जामा आठ महिला र छ स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धामा

बिहीबार, कात्तिक २४, २०७९

वालिङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभासदस्यका लागि स्याङ्जाबाट आठ महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने  निर्वाचनमा आठ महिला उम्मेदवारसहित छ स्वतन्त्र उम्मेदवारले निर्वाचन केन्द्रीय गतिविधिलाई तीव्रता दिएका हुन् । प्रतिनिधिसभातर्फ स्याङ्जा क्षेत्र नं १ बाट एक मात्र महिला जनसमाजवादी पार्टी नेपालबाट तीलकुमारी नेपालीको उम्मेदवारी परेको हो । सोही क्षेत्रको प्रदेश ‘क’ मा भने तीन महिलाको उम्मेदवारी परेको छ । 
वामलोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रकी अमृता थापा, नेकपा एमालेबाट सीताकुमारी सुन्दास र मङ्गोल नेशनल अर्गनाईजेशनबाट तिरथ गुरुङ चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको हो । माओवादी (केन्द्र)की नेत्री थापा २०६४ र २०७० मा समानुपातिकबाट दुई पटक संविधानसभा सदस्य बन्नुभएको थियो । दुई पटक संविधानसभा सदस्य बनेकी थापा यसपाली भने गठबन्धनबाट गण्डकी प्रदेशका लागि स्याङ्जा १ (क) बाट प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् । नेपाली कांग्रेससहित गठबन्धनको साझा उम्मेदवार भएको र यसअघिको प्रदेशसभा सदस्यको निर्वाचनमा यो प्रदेशमा माओवादी केन्द्र विजयी भएकाले थापालाई बलियो उम्मेदवारकोरुपमा हेरिएको छ ।
त्यस्तै नेकपा (एमाले)बाट यो प्रदेशमा एमाले नेत्री सीताकुमारी सुन्दासको उम्मेदवारी परेको छ । उनी यसअघि जिल्ला समन्वय समितिको प्रमुख हुँदै जिल्ला समन्वय महासङ्घको केन्द्रीय अध्यक्ष भएकी थिइन् । यो प्रदेशमा थापा र सुन्दासबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । विसं २०७४मा यो प्रदेशमा माओवादीका दीपक घर्तीमगर विजयी भएका थिए ।    
त्यस्तै क्षेत्र नं १ प्रदेश (ख) मा दुई महिलाको उम्मेदवारी परेको छ । मङ्गोल नेशनल अर्गनाईजेशनबाट चिन्तु गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्तिकुमारी हमाल रहेकी छन् । त्यस्तै स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभामा नेकपा एमाले केन्द्रीय सचिव एवं पूर्वमन्त्री पद्माकुमारी अर्याल र राष्ट्रिय जनमुक्ति पार्टीकी रिमीसरा गाहामगरको उम्मेदवारी परेको छ । यो क्षेत्रमा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले सचिव अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गुरुङ यसअघि २०६४ र २०७० मा समानुपातिकबाट दुई पटक संविधानसभा सदस्य बनेका थिए ।
स्याङ्जाको क्षेत्र नं १ (ख), क्षेत्र नं २ को (क) र (ख) गरी तीन वटै प्रदेशमा महिला उम्मेदवार छैनन् । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छ स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ स्याङ्जा क्षेत्र नं १ मा लोकबहादुर दमै उम्मेदवार हुन् । सोही क्षेत्रको प्रदेश (क) मा पनि दुर्गादत्त भुसाल स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका लागि तीन निर्वाचनको प्रतिस्पर्धामा होमिएका छन् । सागर ढकाल, ढालप्रसाद पाण्डे र चिरञ्जीवी पाण्डे प्रतिस्पर्धी हुनुहुन्छ । क्षेत्र नं २ को प्रदेश (क) मा धनबहादुर गुरुङले स्वतन्त्र उम्मेदवारी दिई चुनाव केन्द्रीत गतिविधिलाई तीव्रता दिएका छन् ।    
जिल्लाका दुई वटै निर्वाचन क्षेत्र र चार वटा प्रदेशमा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै छ । क्षेत्र नं १ मा पुरुष मतदाताको सङ्ख्या ६२ हजार छ सय ७९ छ भने महिलाको सङ्ख्या ६४ हजार सात सय ३१ छ । क्षेत्र नं १ (क) मा पुरुष मतदाता ३० हजार पाँच सय ५८ छ भने महिला मतदाता ३१ हजार नौ सय ९९ छ । 
प्रदेश (ख) मा पुरुष मतदाता ३२ हजार एक सय २१ छ भने महिला ३२ हजार सात सय ३२ छ । क्षेत्र नं २ मा पुरुष मतदाता ५६ हजार छ सय ३१ तथा महिला ६० हजार ४७ जना छन् । क्षेत्र नं २ को प्रदेश (क) मा पुरुष मतदाता २६ हजार तीन सय २४ र महिला २७ हजार आठ सय ६७ छन् ।
त्यस्तै प्रदेश (ख) मा पुरुष मतदाता ३० हजार तीन सय सात जना र महिला ३२ हजार एक ८० जना छन् । स्याङ्जा जिल्लामा कूल दुई लाख ४४ हजार ८९ मतदातामध्ये पुरुष एकलाख १९ हजार तीन सय १० र महिला एकलाख २४ हजार सात सय ७८ जना छन् । एकजना अन्य छन् । समग्रमा जिल्लामा पुरुषभन्दा महिला मतदाता पाँच हजार चार सय ६८ बढी छ ।–रासस 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार