क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

१० देखि १२ वर्षको सजाय माग दाबी
सोमबार, कात्तिक १४, २०७९

काठमाडौं । जबरजस्ती करणीको आरोपसहित उजुरी परेपछि अनुसन्धानका लागि हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि सोमवार सरकारी वकिलहरूले मुद्दा दायर गरेका छन् ।
काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा उनलाई ‘मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय माग गरिएको’ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख तथा सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेले बताए । त्यसबाहेक पीडितलाई उचित क्षतिपूर्ति दिइनुपर्ने समेत माग छ । मुद्दा दायरसँर्गै अब थुनछेक बहसको प्रक्रिया सुरु हुने छ।
लामिछानेले हिरासतमा पर्नुअघि एक फेसबुक स्टेटस लेख्दै ‘आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने’ जनाएका थिए । उनी २६ दिनदेखि प्रहरी हिरासतमा छन् । यसबीचमा प्रहरीले तीन पटक अदालतबाट म्याद थपेर अनुसन्धान गरेको थियो । ६ कात्तिकमा प्रहरीले आफ्नो अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा त्यसलाई रायसहित पेश गरेको थियो ।

प्रहरी के भन्छ ?

काठमाडौं प्रहरी परिसरले अनुसन्धानका क्रममा केही ‘विधि, प्रविधि र क्रम’ पछ्याइएको र सोही अनुसारको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले अनुसन्धानका क्रममा फेला पारिएका कुराहरू खुलाएनन् । ‘तर केही नभइकन मुद्दा दायर गरिँदैन’, उनले भने ।
‘राज्यले पीडितको तर्फबाट मुद्दा लड्ने भएकाले हामी दुवै ‘प्रहरी र सरकारी वकिलेको उद्देश्य पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउनु हो’, मैनालीले भने, ‘राम्रोसँग अनुसन्धान भएको’ बताउँदै आफूहरूको राय र सरकारी वकिलहरूको माग दाबीमा धेरै फरक हुँदैन ।’
नेपाली क्रिकेट टोलीका निलम्वित कप्तान लामिछानेमाथि एक नाबालिगलाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको थियो ।
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् । उनले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालय उजुरी दिएकी थिइन् ।
जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नेपाल क्रिकेट सङ्घ क्यानको कार्य सम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । नेपालमा उजुरी दर्ता हुँदा उनी क्यारिबीअन लीग खेल्न जमैकामा थिए । उनीमाथिका आरोपहरू सार्वजनिक भएपछि उनी उक्त लीगलाई बीचमै छाडेर केही समय बेपत्ता भएका थिए । केही समयपछि नेपाल आएका थिए ।
प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनीविरुद्ध इन्टरपोलमार्फत् डिफ्युजन पनि जारी गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार