महानगरले गीत गाउँदै माग्न बसेका दृष्टिविहीनलाई लखेट्यो

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले  सडकपेटीमा गीत गाउँदै आर्थिक सहयोग माग्न बसेका  दृष्टिविहीन, अशक्त तथा अपांगहरूलाई हटाउन थालेको छ । महानगरपालिकाले निर्देशन अटेर गर्दै काठमाडौंका विभिन्न स्थानको सडक पेटी र आकाशे पुलहरुमा गीत गाउँदै र बाद्यवाधन बजाउँदै माग्न बसेका दृष्टिविहीनहरुलाई लखेट्न र नियन्त्रणमा लिन थालेको हो ।

चार दिन अघिदेखि महानगरपालिकाले दृष्टिविहीनहरुलाई सडक पेटीबाट हटाउन थालेको थियो ।  दैनिकजसो जबरजस्ती उठाएर पठाउँदै महानगरले फेरि सडकमा माग्न नआउन उनीहरुलाई उर्दी जारी गर्ने गरेको छ । सडक पेटीमा बसेर माग्नुबाहेक विकल्प नभएको भन्दै दृष्टिविहीनहरू सडकमा फर्किरहेका छन् ।

बिहीबार पनि दृष्टिविहीनहरु न्यूरोड, सुन्धारा, जमल, बागबजार लगायतका क्षेत्रमा बसेर माग्ने क्रममा महानगरले हटाएको दृष्टिविहीनले बताए । ‘हामी दृष्टिविहीनहरुसँग रोजीरोटीको अरु विकल्प नै छैन । काठमाडौंको विभिन्न स्थानमा बसेर आर्थिक सहयोग संकलन गरिरहेको समयमा महानगरले जबरजस्ती हटायो ।' महानगरको टोलीले दृष्टिविहीनहरुले आर्थिक सहयोग जुटाउन प्रयोग गर्ने ५ वटा स्पिकर पनि लिएर गएको ती दृष्टिविहीनले बताए ।

चारदिन अघि न्यूरोडबाट दृष्टिविहीन लालबहादुर बिसीलाई महानगरपालिकाले नियन्त्रणमा लिएको थियो । बिसीलाई छाडेपनि उनको स्पिकर भने महानगरले नै राखेको केसीले बताए । यस्ता जफत गरिएका सामान महानगरले लिलाम गरेर राजस्व उठाउने गरेको छ । महानगरले सडकपेटीमा बसेर माग्न प्रतिबन्ध लगाएपछि दृष्टिविहीनहरु बिहीबार दिउँसो महानगरको गेटमा धर्ना दिन पुगेका थिए । तर, महानगरपालिकाले त्यहाँबाट पनि उनीहरुलाई आन्दोलन नगर्न भन्दै फर्काएको थियो ।

काठमाडौं महानगरपालिकाले १७ असार २०७९मा नै सार्वजनिक सुचना निकालेर सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको थियो । महानगरपालिकाले २७ असारदेखि साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरेको छ । सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाको चेतावनी छ ।

अब महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन । साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन नपाइने महानगरपालिकाले बताएको छ  ।

असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्ने भन्दै सहयोग चाहिए मानव सेवा आश्रमको आवश्यक परेमा महानगरपालिकामा सम्पर्क गर्न पनि भनेको छ । तर, आश्रम जान नचाहाने दृष्टिविहीनहरु महानगरको यो नीतिको मारमा परेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार