बझाङमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

बुधबार, कात्तिक २, २०७९

बझाङ ।  बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । 
जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । उनका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाईते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।
मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ताप्लेजुङमा विभिन्न दुर्घटनामा परी पाँचको मृत्यु

विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्य भएको छ । एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जना ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो ।
आज दिउँसो घाँस काट्न गएका फुङलिङ नगरपालिका–६ बतासे बस्ने चन्द्र भनिने ५० वर्षीय लालबहादुर गुरुङको लडेर मृत्यु भएको छ । आफ्नै बारीमा घाँस काट्न गएका उनी कान्लाबाट लडी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कैलाश राईले बताउनुभयो ।
यस्तै गएराति मैवाखोला गाउँपालिकाको वडा नं २ को तेल्लाबुङबाट वडा नं ५ फाकुम्बातर्फ जाँदै गरेको ट्र्याक्टर वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा दुई घरका दाजुभाइ तथा दिदीबहिनी गरी चार जनाको मृत्यु भएको थियो ।
०२–०३–००१ त ५६५५ नंको ट्र्याक्टर दुर्घटनामा परी मैवाखोला गाउँपालिका–५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, निजका सहोदर भाइ २४ वर्षीय फुर्वा शेर्पा तथा मैवाखोला गाउँपालिका–४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरी १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया शर्मिला शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार