तिहारसँगै पोखरामा पुष्प मेला गरिने

बुधबार, कात्तिक २, २०७९

लेखनाथ । व्यावसायिक प्रवद्र्धन तथा तिहार पर्वलाई लक्षित गरी पोखरामा छैटौँ पुष्प मेला सञ्चालनमा ल्याइने भएको छ । यहाँका पुष्प व्यवसायीले यही कात्तिक ४ गतेदेखि ६ गतेसम्म पुष्प मेला सञ्चालन गर्न लागेका हुन् । पोखरा रङगशालामा आयोजना गरिने पुष्प मेलामा गोदावरी फूललाई विशेषरूपमा प्रवद्र्धन गरिने गोदावरी प्रदर्शनी तथा पुष्प मेला, २०७९ मूल आयोजक समितिका संयोजक डिलबहादुर गुरुङले जानकारी दिए ।
गोदावरी मेलामा कास्की तथा यस क्षेत्रअन्तर्गत २५ व्यवसायीले आफ्ना नर्सरीमा उत्पादित फूल तथा फूलका बीउको स्टलहरू राख्ने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ । पुष्प मेलामा रु आठ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । 
मेलामा सरकारी तथा विभिन्न सङ्घ संस्थाको सहयोग रहने जानकारी सो अवसरमा दिइएको थियो । प्रदर्शनीमा गोदावरी फूलका अतिरिक्त अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई, बिरुवा प्रदर्शनी एवं बिक्री गरिने जानकारी पुष्प व्यवसायी दयाकुमार द्वाले दिए । 
पोखरामा प्रत्येक वर्ष पुष्प प्रदर्शनी गरिँदै आएको भए पनि पछिल्लो दुई वर्ष कोरोनाका कारण मेला सञ्चालनमा आउन सकेको थिएन । कास्कीमा मात्र ५० भन्दा बढी पुष्प व्यवसायी रहेका छन् । फूलमा गण्डकीलाई आत्मनिर्भर बनाउने उद्देश्यले नै फूलको प्रवद्र्धन गरिएको पुष्प व्यवसायी द्वा बताउनुहुन्छ । पछिल्लो समय पुष्प खेतीतर्फ कृषक आकर्षित भएको र फूलले मूल्यसमेत पाउने गरेको व्यवसायीहरूले बताएका छन् । 
पोखरामा तिहारको समयमा मात्र रु दुई करोडभन्दा बढी मूल्यको सयपत्री तथा मखमली फूलका माला तथा फूल बिक्री हुने गरेको जानकारी उक्त अवसरमा दिइएको छ । आयोजकका अनुसार तिहारमा बिक्री हुने ८० प्रतिशत फूल तथा माला कास्की तथा आसपासका जिल्लामा नै उत्पादित हो भने २० प्रतिशत माला तथा फूल भारतबाट आयात हुने गरेको छ । 

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

चितवन जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि फूल र मालाको मूल्य निर्धारण गरेका हुन् ।
 
कृषकले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी तिहारको तीन दिनका लागि सयपत्री फूलको माया प्रतिगोटा खुद्रा मूल्य रु ९० देखि १०० र होलसेल मूल्य रु ६० देखि ७० कायम गरिएको जानकारी दिएका छन् । तिहारपछिका लागि खुद्रा मूल्य रु ७० र होलसेल मूल्य रु ५० राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सयपत्री फूल प्रतिकिलो रु तीन सय ५० देखि चार सय कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ ।
भारतबाट आयात हुने मालाले नेपाली मालाको बजार विस्थापित गर्न खोजेको भन्दै किसनाले मालाको मूल्य निर्धारण गरेका हुन् । फ्लोरिकल्चर एशोसिएशन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले नेपाली मालाको मूल्य बढी हुँदा भारतीय मालाको आयात बढ्ने भएकाले मूल्य निर्धारण गर्न बाध्य भएको बताए । जिल्लालाई यही उत्पादित मालाले पुग्ने भन्दै उहाँले भारतीय मालाको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरे ।
जिल्लामा अहिले ४० देखि ५० बिघा क्षेत्रफलमा फूल खेती गरिएको सो अवसरमा जानकारी दिइएको थियो । फूलमाला फर्मका सञ्चालक गोविन्द बास्तोलाले तिहार लक्षित गरेर भारतीय माला नेपालमा आइसकेको जानकारी दिए । चितवनमा मात्रै एक ट्रक माला आएको र ठूलो मात्रामा माला आउन लागेको उनले बताए । 
उनले भने, “भारतीय माला नेपालका विभिन्न चिस्यान केन्द्रमा राखिएको छ । अब केही दिनमा बजारमा ल्याउने तयारी गरिँदै छ ।” यसको विरोधमा कृषकले तिहार सुरु भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा त्यस्ता माला नष्ट गर्ने उहाँको दाबी थियो । भारतीय मालामा केमिकलको प्रयोग गरिएको हुने हुँदा बजारमा ल्याएको केही समयमानै कालो हुन थाल्ने उनको भनाइ थियो । मालामा सुतरीको प्रयोग गरिने र छिटो बिग्रने हुँदा मानिसको स्वास्थ्य र कपडामा समेत असर गर्ने उहाँले बताए । बास्तोलाले अहिले कालिका नगरपालिका वडा नम्बर २ मा २ बिघा क्षेत्रफलमा फूल खेती गरिरहेका छन् । पेशाले प्राध्यापक भए पनि उनले फूलमाला फार्म मार्फत पुष्पव्यवसाय गर्दै आएका छन् । 
असोजदेखि मङ्सिरसम्म यो व्यवसाय हुने उनको भनाइ थियो । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको उनले जानकारी दिए । रत्ननगर कृषि शाखाका प्रमुख प्रवीण लामाले अहिले एक बिघा १० कट्ठामा पुष्प व्यवसाय गर्दै आएका छन् । तीन जना मिलेर सुरु गर्नुभएको व्यवसाय राम्रो भए पनि बजारमा मूल्य निर्धारण भएसँगै कृषकको मनोबल बढ्ने उनले बताए ।
तिहारका लागि जिल्लामा पाँच लाख मालाको माग भएको भन्दै उनले जिल्लाले यो माग धान्न सक्ने बताउनुभयो । अहिले व्यावसायिकरुपमा पुष्पखेती गर्ने कृषकले जिल्लामा तीनदेखि चार लाख माला उत्पादन गर्ने उनले जानकारी दिए । जसमध्ये ५० हजारदेखि एक लाख माला मखमली फूलको उत्पादन हुने छन् ।
जिल्लामा उत्पादित मालाबाट कृषकले रु चार करोडको कारोबार हुने अपेक्षा राखेका छन् । गत वर्ष जिल्लाको उत्पादनले यहाँको बजारको ६० प्रतिशत पुगेकोमा अहिले ८० प्रतिशत पुग्ने उनीहरूको अनुमान रहेको छ । बीस प्रतिशत माला गाउँघरमा आफैँ बनाउने गरेकाले यहाँको बजारलाई माला प्रर्याप्त हुने कृषकले बताएका छन् । नेपालमा स्वरोजगार बन्नका लागि यो व्यवसाय उत्तम व्यवसाय भएको अर्का कृषक सुन्दर बस्नेतले बताउनुभयो । उहाँका अनुसार पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउनका लागि कृषकले मालाको मूल्य तय गरेका हुन् । अहिले यो व्यवसायबाट दुई सयले रोजगार पाइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तिहारको समयमा ८० प्रतिशत लागत मूल्य उठ्ने कृषकको भनाइ छ ।
विचौलियका कारण माला बिक्री नहुने चिन्ता बढेको भरतपुर महानगरपालिका–९ की लक्ष्मी सापकोटाले बताए । उनले भने, “यस वर्ष मौसमका कारण उत्पादन राम्रो छ तर भारतीय मालाका कारण समस्या आउने चिन्ता बढी रहेको छ ।” हामीले दुःख गरेका छौँ तर भारतीय माला बजारमा आउन सुरु भइसक्यो उनको गुनासो थियो । कृषकले तिहारलाई लक्षित गरेर आजदेखिनै माला तयार गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार