सवारी निर्देशिका पालना गर्दैनन् व्यवसायी

अनुगमन गर्दैन विभाग
बुधबार, मंसिर १७, २०७७

काठमाडौं । सरकारले  कोरोना भाइरसको जोखिमलाई कम गर्न भनी कोभिड– १९ पछिको सवारीसाधनसम्बन्धी निर्देशिका जारी गरेपनि अहिले त्यो निर्देशिका छायामा पर्दै गएको छ । लामो समय चल्न नसकेका सवारीसाधन असोज १ गतेबाट खुला गरेसँगै भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागमार्फत  सवारीसाधन निर्देशिका जारी गरेको थियो । तर, असोज १ गतेबाट लामो तथा छोटो दूरीको सवारी साधन सञ्चालनमा आएको भए पनि सवारीसाधन  निर्देशिका भने  कुनै पनि  व्यवसायीले पालना गर्न छाडेका छन् । अहिले पनि कोरोना भाइरसको जोखिम उत्तिकै रहेको छ । सवारीसाधनमा आवश्यकताभन्दा बढी भिड हुँदा पनि यातायात व्यवस्था विभागले पछिल्लो समय कुनै अनुगमन गरेको छैन । जोर–बिजोरलाई निरन्तरता दिएको विभागले  सवारीसाधन अनुगमनलाई भने बेवास्ता गर्दै आइरहेको छ । बस व्यवसायीहरू विद्यार्थी कार्डलाई अझै छुट दिन मानिरहेका छैनन् । विद्यालय नखुलेको भन्दै विद्यार्थीलाई छु्ट दिन नमानेका हुन् ।
सवारीसाधन निर्देशिकामा बसमा अनिवार्य रूपमा स्यानिटाइजर राख्नुपर्ने नियम छ । बसमा सिट क्षमताभन्दा बढी यात्रु हाल्न नपाइने नियम भए पनि कुनै पनि सार्वजनिक सवारीसाधनमा भौतिक दूरी र सिट क्षमताअनुसार यात्रु राखेको पाइँदैन । कुनै पनि सवारीसाधनमा स्यानिटाइजरसमेत राखिएको छैन । व्यवसायीले सवारीसाधनको निर्देशिका सुरुवातदेखि नै बेवास्ता गर्दै आएको विभागले पनि कुनै वास्ता नगरेको  सवारीसाधानका अभियन्ता प्रेम बस्नेत बताउँछन् । व्यवसायीहरूको एकत्रछत्र सिडिकेन्डजस्तो देखिएको छ । विभागले भने सवारी निर्देशिका र विद्यार्थी छुटको विषयमा कुनै छलफल पहलसमेत गरेको छैन । 
ट्राफिक प्रहरीले  निर्देशिका जारी भएको केही दिन कडाइ  गर्ने र पालना नगर्नेलाई कारबाही पनि गर्दै आइरहेको  थियो, तर जब दसैँ–तिहारपछि भने ट्राफिक प्रहरी, विभागले निर्देशिकालाई बेवास्ता गरेका छन्  भने पालना नगर्ने सवारीसाधनलाई कारबाहीसमेत गरेको  अहिले रेकर्ड छैन ।
नेपाल यातायात व्यवसायी महासंघले  आफूहरूले जतिसक्दो सवारी मापदण्डलाई पालना  गरेको व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य बताउँछन् । ‘हाम्रोतर्फबाट पनि गल्ती भएको होला, तर सकेसम्म  मास्क, पन्जालगायत स्यानिटाइजरको प्रयोग गर्ने सवारीधनीहरू संघमा आबद्ध हुनलाई निरन्तर भनिरहेका छौँ,’ कर्मचार्यले भने ।
सम्पूर्ण रूपमा सवारीसाधन खुला गरिए पनि सवारीसाधनको निर्देशिकालाई पनि विशेष ध्यानमा राखेर अनुगमन गरिरहेको  यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले बताए । ‘जारी गरिएको निर्देशिकाअनुसार नै ट्राफिक प्रहरी विभागको नेतृत्वमा  विभागको क्षमताले भ्याएसम्मको  अनुगमन गरिएको  व्यवसायीहरूसँग पालना गर्नका लागि निर्देशन दिने काम गरिहेका छौँ,’ भुसालले भने ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार