कालोबजारी नियन्त्रण गर्न उपभोक्ता आफैं सचेत रहन आग्रह 

आइतबार, असोज १६, २०७९

काठमाडौँ । कुनै पनि किसिमका अनियमितता, ठगी र अखाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् ।
उपभोक्ता जागरण अभियानको प्रथम साधारणसभाका सहभागी वक्ताले विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगोमा वस्तु तथा सेवा बिक्री गर्न तल्लीन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु र सामग्रीको उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता जागरुक र जिम्मेवार बन्नुपर्ने बताए ।
दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि मारमा उपभोक्ता पर्ने गरेको भन्दै अनुगमनकारी निकाय र उपभोक्ताकर्मीले उपभोक्ताका हितका लागि एकताबद्ध अभियान सञ्चालन गरिनुपर्ने उनीहरूको सुझाव छ । कार्यक्रममा पूर्वसचिव कृष्णहरि बाँस्कोटाले बजारमा विकृति र विसङ्गति बढेकाले उपभोक्ता अधिकारवादी र नियमन तथा अनुगमनकारी निकाय सक्रिय ढङ्गले लाग्नुपर्ने खाँचो औँल्याए  । उनले बजारमा बढ्दो अनियमितता र कालोबजारी नियन्त्रण गर्न उपभोक्ता सचेत र जागरुक बन्नुपर्ने बताए । 
पूर्वसचिव बाँस्कोटाले भने “बजारमा दण्डहीनताको अवस्था बढेको छ । यसको मारमा उपभोक्ता छन् त्यसैले संविधानले सुनिश्चित गरेको उपभोक्ता अधिकार सुनिश्चित गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ, यसमा आम उपभोक्ता पनि सचेत र जागरुक हुन जरुरी छ ।” 
उनले उपभोक्ताले बजारमा वस्तु तथा सामग्री खरिद गर्दा उत्पादन मिति, मूल्यसूचीलगायत विषयमा सचेत हुनुपर्ने बताए ।
पूर्वसचिव डा हरि दाहालले उपभोक्ता अधिकारको सुनिश्चितताका लागि उपभोक्ता अधिकारकर्मी र नियमनकारी निकायले सचेतना अभिवृद्धि गर्दै अनुगमन कार्यलाई वर्षैभरि सञ्चालन गर्नुपर्ने खाँचो औँल्याए ।
वाणिज्य विभागका निर्देशक भेषबहादुर कुँवरले उपभोक्ताको अधिकारका लागि विभागले स्रोत साधन र जनशक्तिले भ्याएसम्म बजार अनुगमन र गुणस्तर अभिवृद्धिमा लागिपरेको उल्लेख गर्दै यो अभियानमा उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ताले सहयोग गर्नुपर्छ भने । 
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको हकहित संरक्षण र जागरणका निम्ति सरोकारवाला निकाय एवं संस्था एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
कृषि बाली व्यवसाय प्रवद्र्धन संस्था नेपालका अध्यक्ष मोहनबहादुर थापा, सामाजिक अभियन्ता रमेशकुमार पौडेललगायतले उपभोक्तालाई जागरण गर्ने र विक्रेतालाई सचेत गर्ने कार्यमा उपभोक्ताकर्मी लाग्नुपर्नेमा जोड दिए । 
मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफैँ सचेत नभएसम्म बजार स्वस्थ नहुने भन्दै उपभोक्तामा जागरण फैलाउन अधिकारकर्मी एक भएर लाग्नुपर्ने बताए । 

भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति
साधारणसभाले महासचिव चिन्तामणि पराजुली र कोषाध्यक्ष केशवप्रसाद चौलागाईँको प्रतिवेदन पारित गरेको थियो । यस्तै साधरणसभाबाट कृष्णप्रसाद भण्डारीको नेतृत्वमा मञ्चको नयाँ कार्यसमितिसमेत चयन भएको छ । 
मञ्चको उपाध्यक्षमा सुशीलाकुमारी दबाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे, रोहितकुमार दाहाल र महासचिवमा चिन्तामणि पराजुली, सचिवमा केशवप्रसाद शर्मा र शान्ता घिमिरे, सहसचिवमा बद्रीविशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चौलागाईँ तथा सदस्यमा लक्ष्मण थापा र रामबाबु दाहाल रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार