Dashain Banner
Dashain Banner

‘गुठियार बाहिरिँदा समस्या हुन थाल्यो’

बिहीबार, असोज १३, २०७९

काठमाडौँ । राजधानीको मुख्य सहरी क्षेत्रका नेवार समुदाय असन, इन्द्रचोकलगायत ठाउँबाट बाहिरिन थालेपछि दसैँलगायत सांस्कृतिक पर्वको प्रक्रिया लोप हुन थालेको छ । कतिपय मुख्य सहरी क्षेत्रमा जग्गा अभाव भएर काठमाडौँकै अन्य खुला स्थान विशेषगरी काठ क्षेत्रमा सर्न थालेका छन् । कतिपय नेवार समुदाय भने अहिले पनि धेरै जना दाजुभाइ एउटै घरमा बसिरहेका छन् । नेवार समुदायले विभिन्न देवी–देवताका रथयात्रा एवं बडादसैँलगायत मुख्य सांस्कृतिक चाड गुठीबाट भोज गरी मनाउँछन् । गुठीका सदस्य गुठियार टाढिँदा गुठी पनि लोप हुने अवस्थामा पुगिसकेको काठमाडौँ महानगरपालिका वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गीले राससलाई जानकारी दिए । 

“ गुठियार बाहिरिँदा यहाँ मनाइने विभिन्न जात्रामा खट बोक्ने मान्छेसमेत नहुने अवस्था आएको छ, गठेमङ्गल पर्वमा भूतलाई घरबाट बाहिर पठाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ, समुदायका सदस्य एकैठाउँ नहुँदा अन्य पर्वका सांस्कृतिक प्रक्रिया पनि सङ्कटमा परेका छन्”, उनले भने । 
महानगरपालिकाका वडा नं १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ का पूरै भाग मुख्य सहरी क्षेत्रमा पर्छन् । २६, २८, १३ र ११ नं वडाका केही भागमा पनि मुख्य सहरी क्षेत्रबाट गएर बसेका नेवार समुदायको बाहुल्यता छ । सेतो मच्छेन्द्रनाथको पुजारीसमेत रहनुभएका महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष नीलकाजी शाक्य नेवार समुदाय मुख्य सहरी क्षेत्रबाट काठक्षेत्रका बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुनलगायत नगरपालिकामा गएर बस्न थालेकाले गुठी, पर्व एवं रथयात्रा चलाउन अप्ठ्यारो भएको बताउँछन् । 
मुख्य सहरी क्षेत्र साँघुरो हुन थालेकाले बेचेर नेवार समुदाय धेरै जग्गामा घर बनाउन काठक्षेत्र पस्न थालेका हुन् । मुख्य सहरी क्षेत्रमा भने मारवाडी र मुस्लिम समुदाय घर जग्गा किनेर बस्न थालेको उनले सुनाए । यसका कारण दसैँ, नेपाल संवत्, म्हपूजा, किजापूजालगायत सांस्कृतिक पर्वमा प्रभाव पर्न थालेको छ । 
नेवार समुदायमा पहिले दसैँको टीकादेखि तिहारसम्म टीका लगाइन्थ्यो । अहिले भने कोजाग्रत पूर्णिमासम्ममात्र लगाइन्छ । महानवमीको दिन विशेष पूजा गरेर नेवार समुदायमा विजयादशमीका दिन रातो टीकासँगै कालो टीका पनि लगाउँछन् । यसलाई ‘मोहनी सिन्ह’ भनिन्छ । 
नेवार समुदायका श्रेष्ठ, जोशी, राजोपाध्याय र शर्मा बाहेकका थर बौद्धमार्गी भएकाले पछिल्लो समय बलि प्रथा छोड्न थालेको वडाध्यक्ष खड्गी बताउँछन् । उनले भने, “बलि प्रथा छोड्दा दाजुभाइको मिलनमा पनि अप्ठ्यारो हुन थालेको छ, मुख्य सहरी क्षेत्रबाट बाहिरिए पनि बलि प्रथा भएका बेला बलिको मासु लिन बाहिरिएकाहरू पनि मूलघर आउने गर्थे, बलिको मासु जेठोको क्रमअनुसार सबैलाई भाग लगाउने विधि नेवार समुदायमा छ, दाजुभाइबाहेकलाई यो मासु दिइँदैन ।” 
यो परम्पराका कारण सम्बन्ध बिग्रिएका दाजुभाइ पनि दसैँमा एकै ठाउँ हुन्थे । सम्बन्ध सुध्रिन्थ्यो । अब त्यो परम्परा कसरी बसाल्ने भन्ने समस्या हुन थालेको छ । बलिप्रथा छाडेका नेवार समुदायले मासु खान भने छोडेका छैनन् । बलि नदिने तर मासु भने खाने गरी विकसित भएको परम्परा त्यति ठीक नलागेको भन्दै समुदायभित्र आवाज पनि उठ्न थालेको वडा अध्यक्ष खड्गीले जानकारी दिए। 
असनको उदाय् समाजका नौ थरले फरक तरिकाले दसैँ मनाउँछन् । यो समुदायले असनस्थित अन्नपूर्ण मन्दिरको जात्रा आश्विन शुक्ल एकादशीका दिन गर्ने गरेका छन् । यो समुदायमा खड्ग जात्रा पनि आश्विन शुक्ल एकादशीकै दिन हुने गरेको छ । 
मुख्य सहरी क्षेत्रका नेवार समुदाय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका नौवटा तीर्थमा जाने गर्छन् । यसलाई नवरात्रको तीर्थयात्रा पनि भन्ने गरिन्छ । यो यात्रा शङ्खमूलबाट सुरु गरिन्छ । यो यात्रा गर्ने नेवार समुदायले नवरात्रको पहिलो दिन शङ्खमूल जाने गरेको महानगरपालिका वडा नं २५ का अध्यक्ष राजेश डङ्गोल बताउँछन् । 
दोस्रो दिन शोभाभगवती, तेस्रो दिन गोकर्णेश्वर, चौथो दिन पचली भैरव, पाँचौँ दिन टोखा, छैटौँ दिन पशुपति देवपत्तन, सातौँ दिन टेकु दोभान, आठौँ दिन कङ्केश्वरीपारिको लखतीर्थ, नवौँ दिन गुह्येश्वरीमा पूजा आरधना एवं दर्शन गर्ने विधि रहेको उनले जानकारी द्एि ।–रासस 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार