बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढ्दा व्यवसायी मारमा

बुधबार, असोज १२, २०७९

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले यहाँ आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तक्र्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले बैंकले ब्याजदरबारे सोच्नुपर्ने बेला आएको बताए । “बैंकले नाफा खानका लागि ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन्”, उनले भने । उनले ३० वर्षमा कहिल्यै भोग्नु नपरेको वित्तीय समस्या अहिले आएर भोग्नुपरेको बताए ।
नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले व्याजदर सात प्रतिशतबाट बढाएर १४ प्रतिशत बनाउँदा व्यवसायी अफ्ठ्यारोमा परेको बताए । “बैंकलाई ब्याजदर बढाउन राष्ट्र बैंकले स्वीकृत दियो, यसबाट व्यवसायी मारमा परे”, उनले भने । ब्याजदरमा बैंकले ठगी गरेको उनको आरोप छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका उपाध्यक्ष हेमराज ढकालले उत्पादन बढाएर आयत प्रतिस्थापन गर्न सकेमात्र देशको अर्थतन्त्र संकटमा केही हदसम्म कमी आउने बताए । राष्ट्र बैंक र अर्थ मन्त्रालय आआफ्नो ढङ्गले सञ्चालन हुँदा समस्या परेको उनको भनाइ थियो । बैंकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले महङ्गी र व्यवसायीलाई असर नपर्ने गरी ब्याजदर बढाइएको बताए ।
“बैंकिङ क्षेत्र जोगाउन ब्याजदर बढाएका हौँ, बैंक क्षेत्र डुब्यो भने मुलुकको अर्थ व्यवस्थामा गम्भीर सङ्कट पर्छ”, उनले भने ।

नेपाल राष्ट्र बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईले नेपालमात्र नभई विश्वकै अर्थतन्त्र समस्यामा परेको बताए । “अर्थतन्त्रको समस्या क्षणिक हो, यो विस्तारै सुधार हुँदै जान्छ”, उनले भने ।
सम्झौताभन्दा बढी ब्याजदर लिने बैंकलाई राष्ट्र बैंकले ‘एक्सन’ लिने उनको भनाइ थियो ।

सुर्खेतमा बैङ्क–व्यवसायी टकराव

नेपाल राष्ट्र बैङ्कको निर्देशन विपरीत वाणिज्य बैङ्कहरुले व्यवसायीलाई ताकेता गरेपछि सुर्खेतमा बैङ्क–व्यवसायीबीच विवाद बढेको छ । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैङ्कहरुले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरु आक्रोशित भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले रु पाँच करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैङ्कहरुलाई निर्देशन दिएको थियो । तर बैङ्कहरुले सात दिनभित्र ब्याज÷हर्जना रकम तिर्न भन्दै पत्राचार गर्ने, सूचना टाँस गरेपछि सुर्खेत उद्योग वाणिज्य सङ्घले आपत्ति जनाएको छ । दसैैँको बेला आन्दोलन गर्दा सर्वसाधारणलाई मर्का पर्ने भन्दै बैङ्कविरुद्ध दसैँलगत्तै आन्दोलन गर्ने सङ्घले चेतावनी दिएको छ ।
सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले व्यापार व्यवसाय धरापमा परेका बेला राष्ट्र बैङ्कको नीतिविरुद्ध व्यवसायीहरुलाई मानसिक तनाव दिने काम गरेको बताए । “बैङ्क कर्मचारीबाट व्यवसायीलाई बारम्बार टर्चर दिने काम भएको छ, व्यवसायीको चरित्र हत्या गर्ने गरिएको छ,” उनले भने, “सङ्घले दसैँलगत्तै बैङ्कविरुद्ध आन्दोलन गर्छ, ऋणीलाई सहजीकरण गर्नुको साटो तनाव दिने कामप्रति हाम्रो गम्भीर असहमति छ ।”
सङ्घका अध्यक्ष कँडेलले आफू पनि बैङ्कको ताकेताबाट पीडित भएको बताए ।
“दुई वर्षअघि माछापुच्छ्रे बैङ्कबाट सात प्रतिशत ब्याजदरमा कर्जा लिएँ, अहिले बढाएर १३ प्रतिशत पु¥याइएको छ”, उनले भने, “आर्थिक मन्दीले व्यवसाय ठप्प छ, बैङ्कले मनपरी ब्याज बढाउने, राष्ट्र बैङ्कको निर्देशन विपरीत ताकेता गर्ने काम भइरहेको छ ।
नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले बैङ्कहरुले अस्वाभाविक रुपमा ब्याजदर बढाएपछि व्यवसाय धान्न गाह्रो परिरहेको गुनासो गरे । बैङ्कहरुले राति–रातिको समयमा मोबाइलमा म्यासेज पठाई त्रास दिने काम गरेको उनको टिप्पणी छ ।
यसअघि सुर्खेत उद्योग वाणिज्य सङ्घले आर्थिक समस्या समाधानका लागि अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउनाका साथै राष्ट्र बैङ्क र जिल्लास्थित सम्पूर्ण वाणिज्य बैङ्कहरुलाई विरोधपत्र बुझाइसकेको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले केन्द्रीय बैङ्कको निर्देशन विपरीत बैङ्कहरुबाट काम भइरहेको भए कारबाही हुने बताए ।
उनले भने, “हाम्रा आफ्नो संयन्त्रबाट वाणिज्य बैङ्कका कार्यहरुको निगरानी भइरहेको हुन्छ, अन्य संयन्त्रबाट पनि सूचना पाइरहेका हुन्छौँ, यदि त्यसो हो भने राष्ट्र बैङ्क आवश्यक कारबाही गर्छ ।” बैङ्क ब्याजदर घटाउने, नियन्त्रण गर्ने विषयमा छलफल चलिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टले ऋणीले अर्थतन्त्रको व्यापारचक्र बुझ्न नसक्दा पनि समस्या देखिएको बताए ।

 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार