कपिलवस्तुमा ठूला लगानीका होटल

बिहीबार, असोज ६, २०७९

कपिलवस्तु (बुद्धभूमि) । बुद्धस्थल तिलौराकोट आसपासमा ठूला लगानीका होटल खुल्ने क्रम बढेको छ । 
पछिल्लो समय कपिलवस्तुमा होटल, रेष्टुरेण्ट तथा रिसोर्टमा लगानी गर्नेको आकर्षण बढेको हो । जिल्लाको उत्तरी भेग विशेष गरी पूर्वपश्चिम राजमार्गसँग जोडिएका क्षेत्र पिपरा, चार नम्बर जितपुर, बनगाईं, गोरुसिङ्गे, इमिलिया र चन्द्रौटामा करोडौँ लगानीमा धमाधम होटल खुलिरहेका छन् ।
उद्योगीव्यवसायी तथा विदेशबाट फर्केकाले विशेष गरेर यस क्षेत्रमा लगानी बढाएका हुन् । बुद्धस्थलले भरिपूर्ण कपिलवस्तु महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । 
स्तरीय होटल तथा रेष्टुरेण्ट नहुँदा यहाँ घुम्न आउने पर्यटक बाहिरी जिल्लामा खान र बास बस्न जानुपर्ने बाध्यता थियो । आज भोलि होटल तथा रेष्टुरेण्टमा लगानी गर्न उद्योगीको आकर्षण बढेपछि जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा अन्तर्राष्ट्रियस्तरको मायाज इन्टरनेशनल होटल एण्ड बार सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।  
१० करोडमा स्थापना भएको सुविधा सम्पन्न मायाज जिल्लामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सेवा दिने होटल बनेको छ । होटल सञ्चालनमा आउँदासम्म जग्गा र भौतिक संरचनाका लागि मात्र १० करोडको लगानी परेको छ । त्यसैका कारण स्थापनाको पाँच÷छ महिनाको अवधिमा होटलमा जिल्लाभित्र तथा बाहिरबाट खान बस्न तथा आवासका लागि आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्ने गरेको छ । विभिन्न स्थानबाट बुटवल र दाङमा आएका व्यक्ति पनि बस्न यही आउने गरेको होटलका सञ्चालक हरिप्रसाद शर्माको भनाइ छ । होटलमा क्याटरिङ, सेमिनारसहितका सुविधा छ । चाँडै जिम हाउस, स्विमिङ पुल, हेल्थ क्लब पनि निर्माणको तयारी छ । 
बुटबल यता सुविधा सम्पन्न होटल नहुँदा विशिष्ट पाहुनालाई समस्या हुँदै आएको थियो । कपिलवस्तु बुद्धको जन्मस्थलका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्छ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएकाले तत्काल ट्राभल्सको पनि सुविधा मिलाउने तयारी गरिएको छ । सबैको साथ र सहयोग रहे यस क्षेत्रकै पहिलो स्टार अङ्कित होटल बनाउने योजना रहेको पनि शर्माले बताए । होटल केवल नाफा कमाउने मात्र नभई यस क्षेत्रका युवालाई रोजगार दिने उद्देश्यले पनि सञ्चालन गरिएको उनले बताए ।
वाणगङ्गा नगरपालिका–१ ठाकुरापुरमा पनि पिस हिमालय रिसोर्ट सञ्चालनमा आएको छ । दुई वर्ष लगाएर निर्माण गरिएको रिसोर्टको लगानी झन्डै १५ करोड रहेको सञ्चालक रामु न्यौपानेले बताए । रिसोर्टको भौतिक संरचनाका लागि ६ करोड लागेको छ । २५ कठ्ठा जग्गाबाट रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । रिसोर्टमा पोखरी, चिल्डे«न पार्क, जिम हाउस, फूटसलसहितको व्यवस्था छ । रिसोर्ट सञ्चालनमा आएसँगै झन्डै ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई कपिलवस्तु जिल्लाको पर्यटकीयस्थल अवलोकनका लागि विशेष व्यवस्था गराउने रिसोर्ट सञ्चालकको लक्ष्य छ । सञ्चालक न्यौपाने भन्छन्, “यहाँ आउने विशिष्ट पाहुनालाई राख्ने ठाउँ नहुँदा बुटवल लैजानुपर्ने बाध्यताको अब अन्त्य भएको छ ।’’ 
आन्तरिक पर्यटकलाई कपिलवस्तु भ्यिायाउने उद्देश्यले पनि आफूले करोडौँको लगानी रिसोर्टमा गरेको उनले बताए । रिसोर्टबाट कपिलवस्तुको पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । 
वाणगङ्गाकै बैरियामा मायादेवी रिर्सोट सञ्चालनमा आएको छ । रु १५ करोडको लगानीको उक्त रिसोर्टले आफ्नो सेवा दिइरहेको सञ्चालक वीरेन्द्र खाण बताउछन् । जिल्लाको पश्चिमी क्षेत्र चन्द्रौटामा पनि करोडौँ लगानीमा रिसोर्ट निर्माण भएको छ । चन्द्रौटा बजार क्षेत्रमा तीन बिघा क्षेत्रफलमा झण्डै ७० करोड लगानीमा लुम्बिनी ग्रिन रिसोर्ट निर्माण गरेर सेवा सुरु गरिएको हो । रिर्सोटमा ३६ अत्याधुनिक सुविधायुक्त कोठासहितका आवश्यक सुविधा रहेको होटेलका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।
रिसोर्ट क्षेत्रमा आफ्नै २२ बिघा क्षेत्रफलमा फैलिएको माछा पोखरीको बीचमा बनेको यस रिसोर्टमा माछा मार्ने लगायतका गतिविधि गर्न सकिने सकिने होटेलका अध्यक्ष भण्डारीले बताए । रिसोर्टले क्यासिनो सञ्चालकको तयारी थालेको छ । यसका लागि लाइसेन्स लिइसकेको र छुट्टै भवन पनि बनी सकेको उनले बताए  । 
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएसँगै लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई कपिलवस्तु भ्यिाउने उद्देश्य जिल्लावासीको छ । पर्यटन प्रवद्र्धनका लागि होटल, रेष्टुरेण्ट पनि आवश्यक भएकाले सुविधाजनक होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्नुपर्ने कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष दोलकराम घिमिरे बताउँछन् । “राज्यले पर्यटन प्रवद्र्धनको कुरा मात्र गरेर हुँदैन”, घिमिरेले भने, “पर्यटक बसोबास गर्ने खालका होटल तथा रेष्टुरेण्ट पनि हुनुपर्‍यो ।”

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार