गिडी दह अवलोकन भ्रमणमा तातोपानी गाउँ सरकार

बिहीबार, असोज ६, २०७९

कर्णाली । कर्णालीमा पाइने प्राकृतिक तालमध्येको तातोपानी गाउँपालिका–४ जुम्लामा अवस्थित गिडी दह एक महत्वपूर्ण ताल हो । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको गिडी दहसम्म पुग्ने सडक तथा पदमार्ग नभएकाले अहिलेसम्म यसको अपेक्षाकृत प्रचारप्रसार हुन सकेको छैन ।
पहाडको खोँचमा रहेको उक्त ताल वरिपरि जङ्गलै जङ्गल छ । हिमाली भेकमा पाइने कोणधारी जङ्गलले ताल ढाकिएको छ । निकै नीलो र रक्स्यानो (डरलाग्दो) देखिने उक्त तालमा पुग्न कोही आँट नै गर्दैनन् । त्यहाँ गए छा (भूत) लाग्छ भन्ने विश्वास त्यहाँका स्थानीयवासीले गर्दै आएका छन् । गाउँपालिकाबाट त्यहाँ पुगेर फर्कन चार दिन लाग्ने गर्दछ । त्यही चार दिनको यात्रा तय गरेर तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं नेतृत्वको ७५ सदस्य टोली मङ्गलबार गिडी दह हिँडेको छ । प्रचारप्रसारको जिम्मा लिएर नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही नेतृत्वको एक दर्जन पत्रकार सञ्चारकर्मी पनि टोलीमै सहभागी भएको छ ।
विशेषगरी ताल भ्रमणको अख्तियार र समन्वय गर्ने वडा नं ४ हाँकुका वडाध्यक्ष अमरबहादुर रोकाय, स्थानीय राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापा, विषयगत शाखाका प्रमुख, सुरक्षा, ट्रेकिङ र प्राविधिक जनशक्ति सम्मिलित टोली पहिलो पटक तालको पहिचान र सार्वजनिकीकरणका लागि अवलोकन भ्रमणमा हिँडेको गाउँपालिका अध्यक्ष चौलागाईंले राससलाई जानकारी दिए ।
“हामी हिजो हाँकुबाट हिँडेर गिडी खोला, भाडु, रातामाटा हुँदै बेलुका फुल्चाउँले पाटनमा बास बस्यौँ”, उनले भने, “आज मौलाहाल्न, तामाचौर, ऐरीजाल गैरीगुम हुँदै साँझ तालमा पुग्छौँ । बेलुकाको बास ताल किनारमै गर्छौं ।” जिपिएससहितको प्राविधिक टोलीले तालको लम्बाइ, गहिराइ, चौडाइ र उचाइ (अवस्थिति) नापजाप गरी यथार्थ विवरण लिएर भोलि फर्कने उनले बताए ।
उनका अनुसार गिडी दहसँगै पाँचसय पाटन, भण्डारखोला वन र अन्य तालको विवरण पनि अभिलेखीकरण गरिने छ । गाउँ सरकारले त्यहाँ भएका प्राकृतिक स्रोतको पहिचान, संरक्षण, सम्वद्र्धन गरी पर्यटन विकासमा जोड दिने मूल उद्देश्य राखेर पहिलोपटक अवलोकन भ्रमणको कार्यक्रम राखेको उनले जनाए ।
तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष रोकायले पालिकाको शिरको सम्पन्नता सार्वजनिक गरेर त्यसको महत्व र आकर्षणलाई संसारमाझ पु¥याउने बताए । कर्णालीको महत्वपूर्ण पर्यटकीयस्थमध्येको गिडी दहलाई यस पटकको भ्रमणले पूर्वाधार निर्माणको रूपरेखा तयार गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने नीति तथा गुरुयोजना निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।

‘गिडी दह होइन, गिरि ताल हो’

भूगोलविद् स्व डा हर्क गुरुङ्ले विसं २०३०÷०३१ सालतिर गिडी दह (गिरि ताल) सम्म जाने प्रयास गरेपनि उच्च हिमाली भेकको हिमपात र बाटोको असहजताका कारण त्यहाँ पुग्न नसकेको स्थानीयवासी बताउँछन् । त्यसयता खासै कुनै सरकारी निकाय वा अन्य सङ्घ÷संस्था, सङ्गठन र आधिकारिक समूह गएको पाइँदैन ।
सबैको पहुँच नभएर होला अहिलेसम्म उक्त तालसम्म जाने बाटो छैन । त्यहाँ पुग्ने बाटो र बीचमा बस्ने बास नहुँदा एकाद मानिसबाहेक अरु त्यहाँ पुगेका छैनन् । सामान्यतः गिडी दह भनिए पनि राष्ट्रियस्तरमा त्यसको प्रचारप्रसार हुन सकेको देखिँदैन । ताल दक्षिण पूर्वी क्षेत्रमा शङ्ख दह, पाले दह, जोगिनी दहलगायत अन्य ताल पनि छन् ।
तालसम्म पुग्ने खास बाटो नभएपनि यतिबेला भ्रमणमा हिँडेको अध्यक्ष चौलागाईंको टोलीले आफैँ बाटो पहिल्याएर त्यहाँ पुग्नेछ । करिब चार दिनको, चिसो र उकालो बाटोमा हिँड्नुपर्ने हुँदा त्यहाँको यात्रामा जानेले निकै बन्दोबस्तीका साथ जानुपर्दछ । रक्तचाप, दमलगायतका दीर्घरोगीलाई हाई अल्टिच्युड लाग्ने खतरा हुने भएकाले उनीहरूले यात्रापूर्व नै ध्यान पु¥याउनुपर्ने देखिन्छ ।
भ्रमण टोलीका सदस्य एवं सामाजिक अभियन्ता दुर्गाप्रसाद पाण्डेले गिडी दहका नामले चिनिए पनि त्यसलाई गिरि ताल भन्नुपर्ने बताए । “गिरि भनेको पहाड हो । दह भनेको गिरिबाट खसेर जम्मा भएको पानीको सङ्ग्रह हो”, उनले भने, “गिरिलाई अपभ्रंश गरेर गिडी भनियो, यद्यपि हुने गिरि नै हो र दहलाई तालभन्दा अब गिरि ताल नै हुन्छ ।”
तालको रोचकतालाई बयान गर्दै अभियन्ता पाण्डेले रासससँग भने, “किंवदन्तीअनुसार धेरै पहिले गाउँका मान्छेहरू शिकार खेल्न त्यहाँ पुगे । दहको किनार (छेउ)मा रुखका पातपतिङ्गर भएकाले उनीहरू त्यही बास बसे । भोजपत्रलगायतका ठूला काठ जम्मा गरेर भात पकाए । आफू बसेको मुनितिर दह र बरफ जमेको छ भन्ने कुराको हेक्का उनीहरूलाई भएन । आगोले उक्त भाग तात्दै जाँदा आगो वरिपरि बसेका सबै शिकारी त्यही डुबेर मरे ।” त्यसपछि त्यहाँ मान्छे जान छोडेको उनले बताए ।
आफू भने पाटनमा घोडी खोज्ने क्रममा २०४८÷०४९ साल तालमा पुगेको अभियन्ता पाण्डेले बताए । “घोडी खोज्न जाँदा पाटनमा पूरै कुहिरो लागेर अँध्यारोजस्तै थियो । पछि कुहिरो हट्दै जाँदा त म तालको छेउमा पुगेको रहेछु”, उनले भने, “हेर्दा त निकै गहिरो र नीलो ताल देखियो । त्यो देखेपछि मलाई डरपनि लाग्यो ।”
उनका अनुसार प्रकृतिप्रदत्त गिरि ताल आफँैमा अद्भूत छ । पहाड र जङ्गलले घेरिएर शालिन अवस्थामा बसेको छ । त्यसबाट जब पानी तल बगेर आउँछ, त्यसलाई गिरि खोला भनिन्छ । जो हाँकु गाउँ पुगेपछि तिला नदीमा मिल्छ । मनोरम दृश्य बोकेर प्रकृतिको काखमा रहेको तालको प्रचारमा राष्ट्रिय पहुँच नपुग्दा आजसम्म पनि त्यसको महत्व बढ्न नसकेको उनको भनाइ थियो ।–रासस

 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार