सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोना माहामारीका कारण अघिल्लो वर्षको चैत ९ गतेदेखि रोकिएका सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकले भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको छ । ‘नेपाल–भारत उडानबारे बुधबारको सरकारको निर्णय आज (सोमबार) अबेर आइपुग्यो’, सीसीएमसीमा समेत रहेका सहसचिव लामिछानेले कान्तिपुरसँग भने, ‘नेपाल–भारत उडान सञ्चालन खुला भएको जानकारी भोलि परराष्ट्र मन्त्रालयमार्फत भारत र त्यहाँ रहेको हाम्रो दूतावासलाई पत्राचार गर्दैछौं ।’ भारतले प्रस्ताव गरेको एयर–बबल मोडललाई मन्त्रीपरिषदले अनुमोदन गरेको हो । यो मोडलमा नेपाल र भारतका वायुसेवाले दुवै देशका नागरिकलाई मात्रै सेवा दिने छन् । ‘अहिलेलाई बढीमा दुई फ्लाइट हुनेछन् । एउटा नेपाली वायुसेवाले गर्ने अर्को भारतीय करियरले गर्ने छ’, सहसचिव लामिछानेले भने, ‘योसँगै सबै क्षेत्रका लागि नेपालले उडान खुला गरेको छ ।’ अब विदेशी वायुसेवाले यात्रु भएका रुटमा व्यवसायिक उडान गर्न पाउने छन् । पहिले जस्तो सीसीएमसी, परराष्ट्र, पर्यटन मन्त्रालयको विशेष अनुमति लिइरहनु पर्ने छैन ।नेपालमा १६ वटा मुलुकका २६ वटा वायुसेवाले २१ वटा गन्तव्यबाट काठमाडौंका लागि व्यवसायिक उडान अनुमति लिएका छन् । नेपालसँग अन्तर्राष्ट्रिय उडान हुने मुलुकहरुमा जापान, दक्षिण कोरिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर, मलेसिया, भुटान, थाइल्याण्ड र बंगलादेशबाट उडान हुन्छ । त्यस्तै पश्चिममा भारतसहित मध्यपूर्वी मुलुकहरु कतार, कुबेत, मस्कट, युएई र टर्की छन् । अन्तर्राष्ट्रिय उडानमा नेपालका चार वटा वायुसेवा (नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, बुद्ध एयर र श्री एयरलायन्स) ले अनुमति पाएका छन् । ‘हामीले अब सबै मुलुकमा दोहोर उडान खुला गरेका छौं तर, विभिन्न मुलुकले कोरोना संक्रमण रोकथाम गर्न जारी गरेका निषेध, लकडाउनका कारण यात्रु अभाव हुदा उडान संख्या भने चाँडै वृद्धि हुने देखिँदैन,’ सहसचिव लामिछाने भने । नेपालले ०७६ चैत ९ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । ५ महिनापछि भदौं १६ मा शर्तसहित अन्तर्राष्ट्रिय उडान खुकुलो गरिएको थियो । नेपालले पीसीआर नेगेटिभ भएका यात्रुलाई आवागमन खुला गरेको छ भने पर्यटकलाई ७ दिन होटल आइसोलेसन अनिवार्यको नियम बनाएको छ । तर भारत र चीनले अझै पनि निशर्त नियमित उडान खुला गरी सकेका छैनन् ।