भारतद्वारा प्रस्तावित ‘एअर बबल’ स्वरूपमा ‘उडान गरिने’

आइतबार, मंसिर १४, २०७७

काठमाडौं । भारतले प्रस्तावित गरेको ‘एअर बबल’ स्वरूपमा नेपाल भारतबीच उडान शुरू गर्ने तय भएको छ । गत बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै देशहरूसँग हवाई उडान खोल्ने निर्णय गरेको थियो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, ‘अर्को सातादेखि नेपाल भारतबीच दैनिक एक एक वटा उडान गर्ने गरी व्यवस्था गरिनेछ ।’ 
एअर बबल अन्तर्गत कस्ता मानिस यात्रा गर्न पाउनेहुन् भन्नेबारे दुवै देशका उड्डयन निकाय बसेर टुङगो लगाउने पनि मन्त्री भट्टराईले बताए । यसअघि भारतले तेश्रो मुलुकका नागरिक बाहेक एक अर्काका देशका बसिरहेका नेपाली र भारतीय नागरिकले मात्र उडान गर्न पाउने ‘एयर बबल’ भनिने उडान ढाँचामा सहभागी हुन गरेको आग्रहलाई नेपाल सरकारले मानिरहेको थिएन । 

मन्त्रिपरिषद्को निर्णय किन महत्वपूर्ण ?
मन्त्री भट्टराई भन्छन्, ‘अन्यत्रको उडान खुला नै रहेको थियो । बुधवारको मन्त्रिपरिषद्को बैठकले भारत र बंगलादेशको उडान पनि खोल्ने निर्णय गरेको छ । अब यो तुरुन्तै कार्यान्वयनमा जान्छ ।’ उनले थपे, ‘तीन चार दिनभित्रै अब भारत र बंगलादेशको पनि उडानका तालिकाहरू दिन्छौँ । त्यसका लागि हामीले भारत र बंगलादेशका उड्डयन निकायसँग छलफल गर्नुपर्छ । दुवै देशका अधिकारीहरूले छलफल गरेर तालिका निकाल्छन् ।’ अघिल्लो साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँग ‘एअर बबल’ सम्झौताको सम्भाव्यता भारतले खोजिरहेको बताएका थिए ।
एअर बबल अन्तर्गतको सम्झौतामा विदेशी बाहेक नेपाल वा भारतमा बसिरहेका दुई देशका नागरिकका लागि मात्रै हुने हिसाबले हवाई उडान खोल्न भारतले नेपालसमक्ष प्रस्ताव राखेको बताइन्छ ।
कोभिड–१९ को महामारी देखा परेपछि नियमित उडानहरू अवरूद्ध भएयता भारतले हालसम्म २२ वटा देशसँग यस्तो उडान सम्झौता गरेको छ । भारतसँगको उडान अवरूद्ध हुँदा ठूलो संख्यामा त्यहाँ काम गर्न जाने र अध्ययन गर्न बस्ने नेपालीहरू मारमा परेका थिए । महामारीका कारण लकडाउन लगाइएपछि गएको मार्च महिनापछि केही समय नेपाल–भारत स्थलमार्गबाट भइरहेको आवतजावत पूर्ण रूपमा रोकिएको भएपनि हाल त्यसलाई सीमित पारिएको छ । विशेष अवस्थामा विदेशी नागरिक बाहेक नेपाली नागरिकहरूलाई मात्रै हाल भारतसँगको सीमाका तोकिएका नाकाबाट प्रवेश गर्न दिइएको छ ।

सैद्धान्तिक रूपमा बाटो खुल्यो
पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्ययन महाशाखा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने मन्त्रिपरिषद्को निर्णयले सैद्धान्तिक रूपमा भारत र बंगलादेशमा हवाई उडान गर्नलाई बाटो खोलेको बताए । उनी भन्छन्, ‘अब हामीले सम्बन्धित विदेशी निकायहरूमा जानकारी गराउँदै जानुपर्छ अनि उताबाट प्रतिक्रिया आउँछ अनि कसरी गर्ने भन्ने टुङ्गो लाग्छ । सैद्धान्तिक रूपमा बाटो खुल्यो अब व्यवहारिक रूपमा हामीले कार्यान्वयन गर्छौँ ।’
सीमित प्रकृतिको उडानबारे भारतसँग सम्झौता हुने सम्भावनाबारे सहसचिव लामिछाने, ‘हाम्रो पनि व्यवहारिक रूपमा पहिले जस्तो तहमा उडानहरू भर्न सकिने अवस्था अहिले छैन । हामीले मात्र चाहे अनुसार हुँदैन । यो दुई पक्षीय विषय हो त्यही भएर हामी यसबारेमा उताको उड्डयन निकायसँग समन्वय गर्छौँ ।’

उड्डयन क्षेत्र पुरानै लयमा कसरी फर्केला
भारतले एअर बबल भनिने अवधारणामा सहभागी हुन नेपाललाई तीन महिना अघि नै प्रस्ताव गरेको बताइन्छ । भारत र बंगलादेश बाहेक विगतमा उडान हुने गरेका अरू गन्तव्यहरूमा नेपालबाट उडानका लागि खासै समस्या नरहेको अधिकारीहरू बताउँछन् । हाल नेपालबाट चीन, मलेसिया, हङकङ, यूएई, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, कुवेत, ओमान र जापानमा उडानहरू भइरहेको अधिकारीहरू बताउँछन् । थाइल्याण्डमा उडान गर्न अनुमति भएपनि हाल त्यहाँ उडान भने नभइरहेको अधिकारीहरू बताउँछन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार भारत र बंगलादेशबाहेक अन्यत्रबाट उडान नरोकिएको जानकारी दिए । उनका अनुसार हाल सरदर दैनिक रूपमा आउने जाने गरी दुई दर्जन बढी उडान भइरहेका छन् । विगतका वर्षमा यसबेला आउने जाने गरी दैनिक ९० वटा उडान हुने गरेको क्षेत्रीले जानकारी दिए ।
केही साता पहिले हङ्कङ उडानमा सवार केही नेपाली यात्रुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि त्यहाँको निकायले नेपाल वायुसेवा निगमको विमानलाई दुई साता उडान गर्नमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि कैफियत देखिएका प्रयोगशालाका रिपोर्टबारे जानकारी दिदैँ नागरिक उड्डयन प्राधिकरणले पर्यटन मन्त्रालयलाई पत्राचार गरेको थियो । 
त्यसअनुरूप स्वास्थ्य मन्त्रालयले चारवटा प्रयोगशालालाई स्पष्टिकरण सोधेको बताइन्छ । त्यसबाहेक नेपालबाट यात्रा गरेका यात्रुमा संक्रमण देखिएपछि जापान र संयुक्त अरब एमिरेट्सले पनि सरकारलाई यसबारे ध्यानाकर्षण गराएका थिए । प्राधिकरणका प्रवक्ता क्षेत्रीका अनुसार सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट जारी गरिएका कोभिड–१९ जाँचका रिपोर्ट ल्याउनेलाई मात्र उडानका लागि अनुमति दिने नीति सरकारले लिएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार