‘पत्रकार वृत्ति पत्रकारिता पेशाप्रति राज्यको सम्मान’

मंगलबार, साउन १०, २०७९

काठमाडौँ । नेपाली पत्रकारिताको इतिहासमा पत्रकारलाई पेन्सन दिन सुरु गरिएको छ । यो सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको हो ।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकार त्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरणको प्रारम्भ गरे । पहिलो वृत्ति पाउने ७६ वर्षीया पत्रकार अर्याललाई पाँच हजार, पाण्डेलाई सात हजार र ७७ वर्षीय खरेललाई १० हजार रुपैयाँ प्रदान गरिएको हो । उनीहरुलाई साउन महिनादेखि हरेक महिना बैंक खातामा जम्मा हुनेगरी वृत्ति रकम उपलब्ध गराइने सूचना तथा प्रसारण विभागले जनाएको छ ।
पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ बमोजिम ज्येष्ठ पत्रकार वृत्ति वितरण गरिएको हो । मापदण्डमा ६५ देखि ६९ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक रु पाँच हजार, ७० देखि ७५ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक रु सात हजार र ७६ देखि ८० वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजार उपलब्ध गरिने भनिएको छ ।
कोषमा हाल छ करोड रुपैयाँ जम्मा भइसकेको छ । उक्त रकमको ब्याजबाट वृत्ति वितरण गरिने छ ।
ज्येष्ठ, द्वन्द्वपीडित र द्वन्द्वमा परी मुत्यु भएका पत्रकारको परिवारका सदस्यलाई आर्थिक तथा अन्य सहयोग प्रदान गर्न र पत्रकारको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले पत्रकार वृत्ति कोष सञ्चालनमा ल्याइएको हो ।
उक्त कोषमार्फत पत्रकारको क्षमता अभिवृद्धि र आर्थिकरुपमा विपन्न पत्रकारलाई आर्थिक सहयोग गरिने मापदण्डमा उल्लेख छ । तीस वर्ष निरन्तर पत्रकारिता गरेका ६५ वर्ष उमेर पूरा भएका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिइनेछ ।
पहिलो वृत्ति प्राप्त गर्ने वरिष्ठ पत्रकार पदमभक्त खरेलले पत्रकारिता पेशाको सम्मानस्वरुप राज्यले पत्रकारको वृत्ति वितरणको राम्रो कामको सुरुआत गरेको बताए । उनले रकम सानै भए पनि राज्यकातर्फबाट पत्रकारिता पेशाप्रति इज्जत र प्रतिष्ठा बढाउन यसले प्रेरित गर्ने उल्लेख गरे ।
पत्रकार खरेलले भने, “राज्यले पत्रकार वृत्ति वितरणको सुरुआत गरेर राम्रो काम भएको छ । यो राज्यले दिएको ठूलो सम्मान हो, यसलाई रकममा तुलना गर्न मिल्दैन । रकमलाई समयसापेक्ष बनाएर लैजानु उपयुक्त हुन्छ ।”
अर्का पत्रकार अर्यालले सरकारले सुरु गरेको वृत्ति वितरण पत्रकारिता क्षेत्रका लागि महत्वपूर्ण कदम हो भने । “हामीले पत्रकार महासङ्घलगायत निकायमा बसेर चौथो अङ्गका रुपमा लिइने पत्रकारलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने कुरा बारम्बार उठाइरहेका थियौ । यो पटक सुरुआत नै भएको छ, यो समग्र पत्रकारलाई खुसीको कुरा हो”, उनले भने ।
पत्रकार वृत्ति कोष सञ्चालन मापदण्डलाई प्रभावकारिताका साथ कार्यान्वयन गरेका खण्डमा यसबाट धेरै पत्रकार लाभान्वित हुने उनको भनाइ छ । पत्रकार अर्यालले भने, “पहिला मिसन पत्रकारिता सुरु गरेका थियौँ । प्रजातन्त्र स्थापना भएपछि समय र प्रविधिको विकाससँगै आधुनिक पत्रकारिताले फड्को मारिसकेको छ । अहिले पत्रकारिता पेशाबाटै जीविकोपार्जन हुन थालेको छ, पत्रकारिता व्यावसायिक हुनुपर्छ । राज्यको चौथो अङ्ग मिडिया हो भने हाम्रो समाज र राज्यप्रतिको दायित्व निर्वाह गर्न पनि पत्रकारले ध्यान दिनुपर्छ ।”
पत्रकार भुवन केसीले लामो समयदेखि पत्रकारका अगुवा संस्थाले उठाउँदै आएको पत्रकारिता वृत्ति कोषको सुरुआत हुनु राम्रो काम भएको बताए । उनले कोषको रकम समयसापेक्ष वृद्धि गर्दै यसलाई पारदर्शी र व्यवस्थित बनाइनुपर्ने धारणा राखे । पत्रकार केसीले भने, “मूलतः पुरस्कार, वृत्ति कोषभन्दा पनि पत्रकार व्यावसायिक हुनुप¥यो र मिडिया सञ्चालक पनि सक्षम हुनुपर्छ यसले मात्र मर्यादित पत्रकारिता हुन्छ ।”
पत्रकार केसीले पत्रकारिताका मूल्यमान्यतालाई आत्मसात गर्दै तथ्यमा आधारित, खोजमूलक सामग्री सम्प्रेषण गरिनुपर्ने आवश्यकता औँल्याए । उनले भने, “पत्रकारिता विशुद्ध व्यावसायिक हुनुपर्छ तर सरकारी र निजीमा काम गर्ने पत्रकारको आआफ्नै मूल्य  र मान्यता छ । मिडिया साक्षरता बढाउनुपर्छ ।”
सञ्चार सचिव डा वैकुण्ठ अर्यालले विगत लामो समयदेखि थाती रहेको ज्येष्ठ पत्रकार वृत्ति वितरण कार्य प्रारम्भ भएको भन्दै यसले पत्रकारिता क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले पत्रकार वृत्ति कोषलाई समयसापेक्ष बनाएर लैजाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता र पत्रकारको सम्मानमा राज्यको तर्फबाट राम्रो कामको सुरुआत भएको उल्लेख गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले ज्येष्ठ पत्रकारलाई वृत्ति वितरणको प्रारम्भले पत्रकारिता क्षेत्रलाई राज्यले चिन्ने अवसर मिलेको बताए ।

 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार