टिआइएबाट दैनिक ७० अन्तर्राष्ट्रिय उडान

उन्नाइस देशका २४ एयरलाइन्सको उडान
सोमबार, असार ६, २०७९

काठमाडौँ । सात दशक लामो इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइएं) विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाका हो । विदेशीलाई नेपालको झझल्को दिने ऐनाका रुपमा पनि काठमाडौँ विमानस्थललाई लिइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७० वर्षभन्दा बढी लामो समयपछि मुलुकभित्र अर्को भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल करिब निर्माण सम्पन्न भई शीघ्र सञ्चालनको तयारीमा छ । हाल देशभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् । यी विमानस्थल विदेशी नागरिक प्रवेश गर्ने पहिलो ढोका हुन् । विमानस्थलको सेवासुविधा भौतिक पूर्वाधारको अवस्थाले नेपाल झल्काउने भएकाले विमानस्थलको सेवा सुदृढीकरण र आधुनिक पूर्वाधार एवं प्रविधिमैत्री बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालय लागिपरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनकुन देशमा कति एयरलाइन्सले उडान भर्छन् भन्ने आम चासोको विषय बन्न सक्छ । त्यसैले कोभिड–१९ महामारीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुनकुन एयरलाइन्सले उडान सञ्चालन गरिरहेका छन् भनेर सङ्क्षिप्तमा सामग्री तयार गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोभिडपछि अन्तर्राष्ट्रियतर्फ ७० उडान भइरहेका छन् । 
आन्तरिकतर्फ कोभिडपूर्वकै अवस्था अर्थात् करिब शतप्रतिशत उडान भइरहेको छ । अन्तर्राष्ट्रियमा अहिले दैनिक सरदर दुईतर्फी ६० उडान हुँदै आएका छन् । यो सङ्ख्या मौसम सामान्य अवस्थामा भएका बेला उडान व्यवस्थापनमा सहज हुने तर अहिले मनसुन सिजन भएकाले विमानस्थलमा बढी उडान चाप हुने गरेको प्रवक्ता सिटौलाको भनाइ छ । 
विमानस्थलबाट थाई स्माइल एयरले छिट्टै उडान भर्दैछ । कोभिडपछि चिनियाँ जहाजले काठमाडौँ विमानस्थलमा नियमित ‘सेडुअल’ उडान गरेका छैनन् । अहिले चार्टर्ड उडान मात्रै भइरहेको छ । कूल ९२ लाख यात्रु क्षमताको टिआइएमा सबै एयरलाइन्सले पूर्ण क्षमतामा उडान गरेकाले विमानस्थल साँघुरो हुने अधिकारी बताउँछन् । 
त्यसैले काठमाडौँ विमानस्थलको विकल्पका रुपमा भैरहवा विमानस्थललाई सञ्चालन गर्ने प्राधिकरणको नीति छ । पोखरा विमानस्थल पनि सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान व्यवस्थापनमा सहजता आउने अनुमान गरिएको छ । कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

उन्नाइस देशका २४ एयरलाइन्सको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित ३४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका छन् । सबैभन्दा बढी चीनका चार, नेपाल र भारतका समान दुई एयरलाइन्सले उडान भर्दै आएका छन् । 
चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरिरहेका छन् भने भारतको एयर इण्डिया र इण्डिगो एयरले उडान भर्दै आएका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ । 
नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान भर्दै आएको छ । एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् ।
त्यस्तै जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् । 
त्यसैगरी विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेट, ड्रक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् । एक महिनाअघि व्यावसायिक सञ्चालनमा आएको भैरहवा विमानस्थलबाट कुवेतको जजीरा एयरले उडान गरिरहेको छ । 
उक्त विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाइसेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । टिआइएमा विभिन्न १० हेलिकप्टर कम्पनी छन् ।–रासस 
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार