ललितपुर महानगरमा तीन दिने प्रदर्शनी

डालो, नाङ्लोेदेखि ढाकाका कपडा र अचारसम्म 
शुक्रबार, असार ३, २०७९

ललितपुर । ललितपुर महानगरभित्र उत्पादन भएका सामग्रीहरूको वजारिकरण गर्न शुक्रबारबाट तीन दिने घरेलु प्रदर्शनी आयोजना गरिएको छ ।  आइतबारसम्म सञ्चालन हुने उक्त प्रदर्शनी ललितपुर महानगर र नेपाल घरेलु तथा साना उद्योग महासंघ ललितपुर महानगरसमितिले संयुक्त रुपमा आयोजना गरेको हो । प्रदर्शनी ललितपुर महानगरको पुल्चोकस्थित कार्यालयको बगैंचामा आयोजना गरिएको छ ।

प्रदर्शनीमा ढाकाका कपडा, खेर जाने सामग्रीबाट बनाएका गहना, अचार, डालो, नाङ्लोलगायतका सामग्री राखिएका छन् । प्रदर्शनी स्थलमा ५० वटा स्टल छन् । 
प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले ललितपुरमा भएका उत्पादनको वजारिकरणका लागि महानगरले यो अवधारणा ल्याएको बताए । 

288086664_3136876319962647_4356449010417301650_n1655473099.jpg
उनले भने, ‘अब हामी पाटन ढोकामा छिट्टै कोसेली घर सञ्चालन गर्दैछौं, उक्त घरबाट ललितपुर महानगरभित्र उत्पादन भएका घरेलु उत्पादनको वजारिकरण गर्छौं ।’ महानगरले नगरवासीलाई उद्यमी बनाउन विभिन्न प्रकारका तालिममा धेरै लगानी गरेको बताउँदै उनले भने, ‘अब महानगरले अर्थपूर्ण तालिममा मात्रै लगानी गर्छ, जुन तालिम लिएपछि व्यक्ति उद्यमी बन्न सकोस् ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले रोजगार र उद्यमशीलतालाई प्रबद्र्धन गर्न यो कार्यक्रम आयोजना गरिएको बताए । व्यवसायीको उत्पादनलाई पहिचान गर्न र बजारिकरणमा मद्दत गर्न यस्ता प्रदर्शनीले सहयोग गर्ने उनको भनाई थियो । 
घरेलु तथा साना उद्योग महासंंघका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले उद्यमीको हौसला वृद्धि गर्न स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताए । उनले महानगरको प्रत्येक वडाले एक उत्पादनलाई प्राथमिकता दिँदै त्यसको वजारिकरण गर्न ध्यान केन्द्रित गनुपर्ने बताए । 
नेपाल घरेलु तथा साना उद्योग महासंघ ललितपुर महानगर समितिका सल्लाहकार सुरेश प्रधानले स्थानीय तहले व्यवसायको प्रबद्र्धनका लागि करबाट उठेको ३० प्रतिशत रकम छुट्याउनु पर्ने बताए । स्थानीय तहको धेरै जिम्मेवारी मध्ये उद्यम र रोजगारको सिर्जना महत्वपूर्ण भएको बताए । 
नेपाल घरेलु तथा साना उद्योग महासंघ ललितपुर महानगरसमितिका अध्यक्ष शैलेन्द्र श्रेष्ठले घरेलु तथा साना उद्योगको विकासका लागि प्रदर्शनी आयोजना गरिएको बताए । उनले रात्रिकालिन बजारको अवधारणालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार