विपद्को भयले मनाङवासीलाई अझै झस्काउँछ

बाढीको एक वर्ष
सोमबार, जेठ ३०, २०७९

मनाङ । मनसुन नेपालमा भित्रिसकेको छ । मनसुनको सुरुआत भएसँगै वर्षा भएपछि प्राकृतिक विपत्ति पनि बढ्दै गएको छ । गत वर्ष जेठ र असारमा मस्र्याङ्दी नदीमा आएको बाढीका कारण हिमाली जिल्ला मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो । 
गत वर्षको ३१ जेठ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिएको छैन । बाढीबाट क्षति पुगेका बाढी प्रभावितको आवास तथा बाढीले क्षति पुगेको संरचनाको निर्माण एवं पुनर्निर्माण गर्न सकिएको छैन । विशेषगरी गत वर्ष बाढीले नासोँ गाउँपालिकाका विभिन्न गाउँमा बढी क्षति पु¥याएको थियो ।  
गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका प्रभावित पुराना आवासलाई सरसफाइ गरेर बस्न बाध्य छन् । मनसुनको सुरुआत भएपछि बाढी प्रभावित भयमा बस्न बाध्य छन् । मनाङको सदरमुकाम चामे नै मस्र्याङ्दी नदीको जोखिम रहेको छ । नदीमा आएको बाढीले चामेको विद्यालयलगायत विभिन्न सार्वजनिक संरचनामा क्षति पु¥याएको थियो । बाढीले क्षति पु¥याएका संरचनाको हालसम्म पनि मर्मत सकिएको छैन । 
वर्षामा बाढीको त्रास छ भने जाडोमा चिसोले बाढी प्रभावित सकसमा जीवन जिउन बाध्य छन् । हिउँदको चिसो कठ्याङ्गिँदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशमा छन् । 
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पनि वर्षा बढी हुने जानकारी गराएको छ र वर्षा सुरु भइसकेकाले मनाङवासी तथा विशेषगरी तालगाउँवासीमा त्रास बढेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । 
सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचनामा बाढीले ल्याएको गिट्टी, बालुवा, ढुङ्गा हटाएर टिनको टहरा निर्माण गरी बसेको आचार्यले बताए। 

उनका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु दुई लाख र नासोँ गाउँपालिकाले दिएको रु एक लाखले अस्थायी टहरा मर्मत गरी बसेका छन् । बाढीपीडितका लागि वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित बासको व्यवस्था गर्ने योजना तयारी गर्न नसकिएको प्रजिअ आचार्यले बताए । गत वर्ष मस्र्याङ्दी नदीको बाढीले तालगाउँ र सिरानतालको बस्ती तहसनहस पारेको थियो । 

बस्ती सार्न विज्ञको सुझाव

नासोँ गाउँपालिका–१ तालगाउँ र सिरानगाउँ मस्र्याङ्दी नदीबाट बढी जोखिममा छन् । नदीको किनारमा आएको बाढीको जोखिममा यी दुई गाउँ नै हुन् । जोखिमयुक्त स्थानमा भएको बस्तीले मानवीय क्षति पुग्ने भनेर विज्ञले सार्नुपर्ने सुझाव दिएका छन् । जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित स्थानको खोजीमा स्थानीयवासी छन् । सुरक्षित स्थानको खोजी गर्दागर्दै स्थानीयवासी हिउँदभित्रै घर बनाउने भनिए पनि वर्षा सुरु हुँदासम्म पनि जोखिमयुक्त घर मर्मत गरी बसिरहेका छन् । 

वर्षा लागिसक्दा पनि सुरक्षित बासको अझै ठेगान लगाउन सकिएको छैन । यसले गर्दा पुख्र्यौली थातथलो नै छोड्नुपर्ने हो कि भन्ने चिन्ताले बाढी प्रभावित शान्तरुपमा बस्न सकेका छैनन् । सुरक्षित स्थानको पहिचान नहुँदा उनीहरूले व्यक्तिगत तवरबाट घर बनाउनसमेत पाएका छैनन् । स्थानीय सरकार र प्रदेश सरकारको केही राहत रकम प्रदान गरेको थियो । जग्गा अभावका कारण बाढी प्रभावितको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । 

सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ । 

त्रासमै बाढी प्रभावित

तालगाउँका बाढी प्रभावित त्रासमा रहेको एक वर्ष भएको छ । एक वर्ष हुँदासमेत तालगाउँवासी सुरक्षित महशुस गर्न सकेका छैनन् । स्थानीय मोहन गुरुङले बाढीले क्षतिग्रस्त बनाएको गाउँवासीले केही आरामको महशुस गरेका अवस्थामा फेरि वर्षाको भेल सुरु हुन लागेको बताए । 
लामो समयको पर्खाइपछि टिनको टहरा बनाउन उनले बताए । “ढिलै भए पनि ओत लाग्न पाएका छौँ । सरकार भएको अनुभूति गरेका छौँ”, उनले भने, “अझै जोखिम छ र त्रास भने कम भएको छैन । यस वर्ष पनि नदीमा बाढी नआउला भन्न सकिदैन । त्रासले निद्रा छैन ।” 
नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी गरिएको छ । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निष्कर्ष निकालिनेछ । यहाँका आधाजति बासिन्दा तालमै बस्न इच्छुक छन् ।  

विद्यालय जोखिममा हुँदा सारिँदै

बाढीपहिराको असरले हिमाली जिल्ला मनाङमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । बाढीपहिराको जोखिमका कारण अभिभावकले बालबालिका अन्यत्र सार्ने गरेका छन् । अभिभावकले जिल्ला बाहिर सुरक्षित स्थानका विद्यालयमा सार्ने गरेका छन् । मस्र्याङ्दी नदी किनारमा विद्यालय रहेकाले जोखिम मोल्न नचाहेर अभिभावकले बालबालिका सार्ने गरेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए । “बाढीपहिरोको जोखिम अझै पनि छ । कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागौँला तर बालबालिका भाग्न सक्दैनन् भनेर आफन्तकामा राखेर पढाउन जिल्ला बाहिर लाने गरेकाले विद्यार्थी घटेका छन्”, प्रअ कोइरालाले भने ।

प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिराले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि हालसम्म पनि त्रास रहेको बताए । प्राकृतिक विपत्तिको जोखिमका कारण अभिभावकले विद्यार्थी अन्यत्र लैजानेक्रम बढेको विश्वकर्माले बताए । “अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने गर्छन् । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थाको न्यूनीकरणका लागि सम्बन्धित निकायको ध्यान पुगोस्”, उनले भने । 
नासोँ गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम पन्थी भन्छन्, “सबैभन्दा बढी जोखिमको क्षेत्र भएकाले अभिभावकले बालबालिका सार्ने गरेका छन् । यसवर्ष पनि पानी पर्न सुरु भएको छ । बाढीपहिराले जोखिममा नै छौँ । त्यसकारण अभिभावकले बालबालिका अन्यत्र लगेका छन्”, पन्थीले भने । 
विद्यालयबाट बालबालिका अन्यत्र लैजाँदा विद्यालयको तीन वटा कक्षा यस शैक्षिकसत्रमा पूरै कक्षा खाली भएको छ । अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालयका कक्षा शून्य हुने भएको हो । बालबालिकालाई सुरक्षित बनाउन सम्बन्धित निकायले चासो दिनुपर्छ । विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले बताए ।

मेरुदण्डको सडक सकस

मनाङको मेरुदण्डका रुपमा रहेको बेंसीशहर–चामे सडक खण्डको १०७ किलोमिटर छ । गत असार १ र त्यसपछि आएको बाढीपहिराले मनाङको मेरुदण्डका रुपमा रहेको बेंसीशहर–चामे सडकखण्ड पक्कीरुपमा निर्माण गर्न नसक्दा सकसमा यात्रा गर्नुपर्ने बाध्यता छ मनाङवासी तथा पर्यटकलाई ।

यस सडकखण्डको चट्टानसँगै माटोले बनेको हुँदा वर्षायाममा पानी पर्नासाथ यात्रा सकस हुन्छ । एक मात्र मनाङ प्रवेशको कच्ची सडक छ । वर्षायाममा न त हिउँदयाममा यहाँको काम गर्न सक्ने अवस्था नरहेको प्राविधिक बताउँछन् । मौसमको प्रतिकूलताले गर्दा सडक निर्माणमा समस्या हुँदै आएको छ । 
बेंसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटरमध्ये धेरै स्थानमा बाढीपहिराले क्षति पु¥याएको थियो । उक्त सडकखण्डको नेपाली सेनाको प्राविधिक टोलीलेसमेत बाढीपहिरोपछि अध्ययन गरेको थियो । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोलीले बेंसीशहर–चामे सडक खण्डको नयाँ ट्र्याक खोल्ने प्रक्रियामा अगाडि बढाउने भनिए पनि हालसम्म मौसम प्रतिकूलताले काम हुन सकेको छैन । 

मनाङको वैकल्पिक मार्ग हेलिकप्टर 

विकट हिमाली जिल्ला मनाङमा बाढीपहिरा गत वर्ष आएको बाढीपहिराले सडक यात्रा पूर्णरुपमा बन्द भयो । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले मनाङको सडक पूर्णरुपमा रोकिएको थियो । स्थलमार्ग अवरुद्ध भएको खण्डमा हेलिकप्टरको सहायताविना कुनै पनि यात्रा हुन सक्दैन । अचानक कुनै पनि दुर्घटना भएको खण्डमा मनाङमै उपचार हुनसक्ने अवस्था नहुनु र सडक मार्ग अवरुद्ध भएमा हेलिकप्टर चार्टड मात्रै विकल्प हो । 
यहाँको मौसम पनि कति बेला प्रतिकूल वा अनुकूल बन्न पत्तै पाउन मुस्किल हुन्छ । यस्तो अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले मनाङको मेरुदण्डका रुपमा रहेको मार्गलाई बजेट वर्षैपिच्छे विनियोजन गर्दै आएको छ । 
    
मौसमको अनुकूलता र ठेकेदारले समयमा काम गर्न नसक्दा मनाङको यात्रा सकस नै रहेको छ । आगामी आर्थिक वर्षका लागि सङ्घ सरकारले रु ६१ करोड मनाङको मेरुदण्डको मार्ग चामे–बेसीशहर सडक मार्ग निर्माणका लागि बजेट विनीयोजन गरेको छ । तथापि यो मार्ग पक्की रुपमा निर्माण हुन सकिरहेको छैन । 

डुम्रे–बेंसीशहर–चामे सडक कार्यालयले लमजुङले मौसमको प्रतिकूलताले गर्दा यहाँको सडक निर्माणमा सकस भएको जनाएको छ । 

साना लघुविद्युत्का भरमा मनाङ

हिमाली जिल्ला मनाङ विद्युत् प्राधिकरणबाट प्रवाह हुने विद्युत् उपभोग गर्न गर्दैन । यहाँ साना लघु जलविद्युत्को प्रसारण लाइनमार्फत चलेका विद्युत्ले मात्रै धानेको छ । चामे लघु जलविद्युत् आयोजनालगायतका साना जलविद्युत्बाट उत्पादन भएको र सोलार प्रयोग गरेर बिजुलीको उपभोग भइरहेको छ । गत वर्ष राष्ट्रिय प्रशारण लाइनसँग जोडिएको केही महिनामा नै बाढीपहिराको प्रकोपमा प¥यो र उक्त विद्युत् उपभोग हुन सकेन । 

यहाँ राष्ट्रिय प्रशारण लाइनको विद्युत सरकार तथा गैरसरकारी सङ्घसंस्थामा जडान गरिएको छ । यहाँ सर्वसाधारणले राष्ट्रिय प्रशारण लाइनको विद्युत् उपभोग गरेका छैनन् । सर्वसाधारणलाई विद्युत् प्रवाह गर्ने गरी छाडिएको छैन । सर्वसाधारणले लघु जलविद्युत् र सोलारको विद्युत् उपयोग गरिरहेका छन् । 
गत वर्ष बाढीपहिराले क्षति पु¥याएको सरकारी सङ्घसंस्थालाई कार्यसम्पादनका लागि सहज बनाउने उद्देश्यले गण्डकी प्रदेश सरकारले सौर्य ऊर्जा जडान गरिदिएको थियो । प्रदेशबाट सरकारी कार्यालयको सेवा प्रवाहको सहजताका लागि सौर्य ऊर्जा जडान हो । 
सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । मनाङमा लमजुङको मस्र्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सबस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे–१ स्यार्कुस्थित सबस्टेसनमा जडान गरिएको थियो । बाढीपहिराले प्रसारणमा एक करोड ७० लाखबराबरको क्षति पुगेको छ । बाढीपहिराले ३३ केभी लाइनको ८।४ किलोमिटरको ११६ वटा खम्ब, ५।६ किलोमिटरको ११ केभी लाइनको ८८ वटा पोलमा क्षति पु¥याएकोे छ । ४०० भोल्टको ५१ खम्बामा क्षति पुगेको थियो । 

भौतिक पूर्वाधारको निर्माणमा चासो

राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिराले भौतिक संरचनाको पुनर्निर्माणका लागि अगाडि बढ्ने मेसो देखायो तर, पूरा गर्न भने सकेको छैन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसहितको टोलीले हिमाली जिल्ला मनाङको विकासको अवस्था, चुनौती र सम्भावनाका सम्बन्धमा अध्ययन गरेका थिए । 
विभिन्न गाउँबस्तीमा विपद्का बेला भएको क्षति अवलोकन एवं निजी घर, पुल, सडक, विद्युत् पुनर्निर्माण गरी आगामी कदमका सम्बन्धमा स्थलगत अनुगमन तयारी थाल्ने प्रयास गरे पनि अहिलेसम्म पुरा हुन सकेको छैन । विकट क्षेत्रको  विकासमाथि खेलबाड गर्न नहुने भन्दै वर्षायाममा पनि सहज बनाउने उद्देश्यले यहाँको विकास हुन आवश्यक रहेकाले समयमा कार्य गर्न अनुरोध गरिएको थियो ।–रासस 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार