भारतबाट चिनी निर्यातमा प्रतिबन्ध

नेपालमा अभाव हुन सक्ने
शुक्रबार, जेठ १३, २०७९

काठमाडाैं, १३ जेठ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा चिनी अभाव हुन सक्ने आकलन गरिएको छ ।नेपालले चिनी आपूर्ति सहज गर्नका लागि सरकारीस्तरमा भारतसँग पहल गर्ने विषयबारे छलफल सुरु गरेको छ । आन्तरिक बजारमा चिनीको मूल्य बढ्न सक्ने सम्भावना औँल्याउँदै भारतले त्यस्तो निर्णय गरेको बताइएकाे छ । 

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने जनाए पनि हालसम्म त्यसको प्रभाव नेपालका बजारमा नपरिसकेको अधिकारीहरू बताउँछन् । भारतको द इकोनोमिक टाइम्स पत्रिकाका अनुसार बुधवारबाट भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएकाे हाे । पछिल्लो छ वर्षमा पहिलो पटक भारतले निर्यातकेन्द्रित त्यस्तो कदम चालेको  हाे । तर नेपालमा चाडबाडहरू नजिकिँदै गएको र आन्तरिक उत्पादनले बजार माग नधान्ने हुँदा अहिले प्रभाव नपरे पनि भविष्यमा भने त्यसको प्रभाव देखिन सक्ने खुद्रा व्यापारीहरूको भनाइ छ।

''यो त भर्खरै मात्रै कुरा आयो । नेपाल सरकारले यसमा आवश्यकता हेरेर पहल गर्छ । आन्तरिक छलफल भइरहेको छ,'' उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले भनिन् ।

उत्पादनको अवस्था के छ ?

अधिकारीहरूका अनुसार यो वर्ष नेपालमा झन्डै १ लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । त्यसबाहेक चिनी आपूर्ति पनि भएको र त्यसको मौज्दात पनि रहेकाले पनि ठूलो समस्या नपर्ने बताइन्छ । ''भारतले प्रतिबन्ध लगाए पनि पाकिस्तान लगायतका अन्य मुलुकबाट आपूर्ति गर्न सकिन्छ,'' केसीले भनिन् । नेपालमा मासिक २५ मेट्रिक टनको हाराहारीमा चिनी खपत हुने सरकारी तथ्याङ्क छ।

 

 

नेपालको आन्तरिक उत्पादनले सातदेखि आठ महिना मात्रै बजार माग थेग्ने उनी बताउँछिन् । नेपालले सबैभन्दा बढी चिनी भारतबाट आयात गर्ने गरेको छ । भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक हो । त्यसबाहेक पाकिस्तानबाट पनि चिनी आयात हुने गरेको अधिकारीहरू बताउँछन् ।

द इकोनोमिक टाइम्सका अनुसार भारतले लगाएको प्रतिबन्ध रुस र युक्रेनबीच भइरहेको युद्धका कारण कतिपय देशमा चर्को मूल्य वृद्धि भइरहेका बेला विभिन्न राष्ट्रहरूले चालेका कदमहरूसँग मिल्दोजुल्दो छ ।

पछिल्लो बजार अवस्था के छ ?

पछिल्ला महिनाहरूमा चिनीको मूल्यमा केही वृद्धि भएको देखिएको भए पनि बजारमा अभाव भने नरहेको अधिकारीहरू बताउँछन् ।हाल साल्ट्र ट्रेडिङले कर्पोरेशनले एक किलो चिनी ७९ रुपैयाँमा बेच्ने गरेको र बजार मूल्य भने ९६ रुपैयाँको हाराहारीमा रहेको केसी बताउँछिन् । तर खुद्रा व्यापारीहरूका अनुसार चिनीको प्रति किलो मूल्य १०० रुपैयाँ पुगिसकेको छ । यो मूल्यमा भारतको पछिल्लो निर्णयको प्रभाव नरहेको बताइएको छ।नेपाल खुद्रा व्यापार सङ्घका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य बजारमा अहिले नै भारतीय निर्णयको प्रभाव नपरेको भए पनि भविष्यमा भने असर देखिनसक्ने बताउँछन् । ''दसैँ तिहारजस्ता चाड आएपछि त प्रभाव पर्न सक्छ,'' उनले भने । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने बजार मूल्य बढ्न नदिन पछिल्लो समय बजार अनुगमन बढाइएको जनाएको छ । चिनीको कालोबजारी रोक्न र लुकाएर राख्न नदिनका लागि आवश्यक काम कारबाही अघि बढाउन लागिएको अधिकारीहरू बताउँछन् ।–बीबीसी 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार