सोसल मिडिया
Contact Us
युनिकोड
गलकोट, १२ जेठ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड अहिले क्षतविक्षत अवस्थामा रहेको छ । यस राजमार्गको सुरुमा उक्त खण्ड कालोपत्रे गरिएको थियो । राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधेदेखि गलकोटको हटिया सडक कालोपत्रे भएको सात वर्ष बित्यो । अहिले उक्त खण्ड निकै जीर्ण बनेको हो । कमसल सामग्री प्रयोगका कारण अहिले सडकखण्डको विभिन्न स्थानमा कालोपत्रे उप्किएर यात्रा गर्न निकै समस्या भएको छ ।
वर्षामा आएको बाढी र पहिरोका कारण क्षतविक्षत भएको उक्त जीर्ण सडकखण्डमा अहिले यात्रुले सास्ती खेप्दै आएको गलकोट नगरपालिका–२ का वडाध्यक्ष हेमन्त भण्डारीले जानकारी दिए । “यात्रुले यो सडकखण्डमा निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन्, सरोकारवालाले अहिले चासो देखाएको बुझिएको छ”, उनले भने । घोडाबाँधे–गलकोट खण्डको २० किलोमिटर सडकको अधिकांश स्थानमा खाल्टाखुल्टी, बर्षायाममा सडकमाथिदेखि झरेको भलसहितको लेदो र पहिरोका कारण कालोपत्रे सडक जीर्ण बनेको छ । केही स्थानमा कालोपत्रे उप्किएर खाल्टा पर्दा पानी जमेको छ ।
कालोपत्रे सडक जीर्ण बनेपछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले मर्मतसम्भारका लागि चासो देखाएको छ । कालोपत्रे गरेको सडक सात बर्षपछि जीर्ण बनेर दुर्घटनाको जोखिम बोढेपछि सडक मर्मतका लागि आयोजना कार्यालयले ममंतसम्भारको प्रक्रिया अघि बढाएको हो । घोडाबाँधेदेखि गलकोट हटियासम्मको २० किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अगाडि बढेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका कार्यालय प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। उनले सडक मर्मतका लागि बोलपत्र आह्वान गरिसकेको बताउँदै ठेक्का प्रक्रियामा गएपछि मर्मत कार्य सुरु हुने बताए। उहाँले २० किलोमिटर सडक मर्मतका लागि झण्डै रु २० करोड खर्च लाग्ने बताएका छन ।
“सडक मर्मतका लागि बोलपत्र आह्वान भएको छ, ठेक्का सम्झौतालगत्तै सडक मर्मतकार्य सुरु हुनेछ”, उनले भने । उहाँका अनुसार ठेक्का सम्झौता भएको दुई वर्षमा सडक मर्मत सक्ने समयसीमा हो । उक्त खण्डमा पहिरोका कारण कालोपत्रे मात्रै नभएर पूर्वाधारमा समेत क्षति भएको भण्डारीले बताए। उहाँका अनुसार कल्र्भट, पर्खाललगायतका पूर्वाधारमा ठूलो क्षति भएपछि अहिले उक्त सडक मर्मत गर्न थालिएको हो । उक्त सडक आर्थिक वर्ष २०७१÷७२ मा कालोपत्रे भएको थियो । कालोपत्रे सडक बिगँ्रदा सवारीसाधनसमेत मर्का परेको र धेरै सावरीसाधन बिग्रदै गएको सवारीचालक लोकबहादुर विकले गुनासो गरे । उहाँले सडक कालोपत्रे बिग्रिएपछि कच्ची सडकझैं यात्रामा असहज भएको बताए।
अहिले मध्यपहाडी लोकमार्गको करिब २० किलोमिटरबाहेक अन्य सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४२ किलोमिटर दूरीको रहेको छ । अहिले जिल्ला सदरमुकाममा कालोपत्रेको काम भइरहेको छ । आगामी केही महिनामा लोकमार्गको सबै सडक कालोपत्र भइसक्ने र बिगर्दै गएको अन्य खण्डसमेत क्रमशः मर्मत गर्दै जाने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनायो ।