सोसल मिडिया
Contact Us
युनिकोड
ब्युँतिँदै नेपाली खेल क्षेत्र काठमाडौं । कोभिड–१९ को महामारीबाट शिथिल प्रायः बनेको खेल क्षेत्र विस्तारै व्यूतन खोजेको छ । यसको सुरुवात ‘छैटौं नेपालगन्ज म्याराथन’ बाट भएको छ । क्षेत्रगत रुपमा फाट्टफुट्ट खेल प्रतियोगिता आयोजना भए पनि राष्ट्रियस्तरमा कोभिड–१९ भएयताको यो पहिलो प्रमुख घरेलु प्रतियोगिता हो । घरेलु खेलकुद हुन नसक्दा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट प्रक्रिया सबै अवरुद्ध हुन पुगेको थियो । त्यही भएर क्रिएटिभ ह्यान्ड्सले आयोजना गरेको नेपालगन्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय छनोटको आधार बनाएर टोकियो ओलम्पिकको बाटो खोलेको छ । नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की नेपालगन्ज म्याराथन जित्दै टोकियो ओलम्पिकका लागि स्थान पक्का गरेका छन् । ण्घरेलु म्याराथनमा खेलाडीका लागि २ घण्टा २० मिनेटमुनिको समय हम्मेहम्मे पर्दै आएको छ । गोपीचन्द्रले ४२.१९५ किमि दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरे । अघिल्लो मंसिरमा नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटरमा स्वर्ण जितेका गोपीचन्द्रले लामो दूरीबाट पनि फड्को मारेका छन् । नेपाली सेनाका कृष्ण बस्नेत यसपालि दोस्रो भए । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे । महिलातर्फ हाफ म्याराथनको उपाधि १३ औं सागकी रजत विजेता पुष्पा भण्डारीले जितेकी छन् । विभागीय टोली एपीएफसँग आबद्ध सल्यानकी पुष्पाले १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै उपाधि जितिन् । जुम्लाकी धावक मञ्जु रावत दोस्रो र दाङकी शर्मिला घर्ती तेस्रो भइन् । गोपीचन्द्र पार्कीले ओलम्पिकको लक्ष्य छुने धुनमा व्यक्तिगत जीवनका केही सुनौला पल त्याग्नुपरेको सुनाए । ‘दुई वर्षदेखि घरमा पाइला टेक्न पाएको छैन, उमेर पुग्यो, बिहे गर्न भ्याएको छैन । यसभन्दा ठूलो बलिदानी के हुन्छ र ?’ उनले भने । सपना जब पूरा हुन्छ, त्यतिबेला मनको खुसी आँखामा झल्किन्छ । शनिबार छैटौं नेपालगन्ज म्याराथनका जितेका सशस्त्र प्रहरी बल (एपीएफ) का धावक गोपीचन्द्र पार्कीले यस्तै अनुभूति गरे । उनका लागि नेपालगन्जको यो म्याराथन केवल दौडमात्रै थिएन, जापानमा सन् २०२१ मा हुने टोकियो ओलम्पिकसम्म पुग्ने सूत्रधार पनि थियो । त्यसैले कुनै पनि हालतमा नेपालगन्ज म्याराथन जित्नुपर्ने उनको पहिलो लक्ष्य थियो । उनी ओलम्पिकमा पुग्ने सपना सार्थक गर्न एक दशकदेखि निरन्तर दौडिरहेका छन् । यसअघि पनि थुप्रैपल्ट सफलता नपाएका होइनन् तर शनिबारको नतिजाले भने ओलम्पिक जाने सपना पूरा गरिदिएको छ । ‘ओलम्पिकमा पुग्ने अस्त्रको पर्खाइमा थिएँ, सफल भएँ । अहिले खुसीको सीमा छैन’, नेपालगन्ज म्याराथन जितेपछि गोपीचन्द्रले भने । म्याराथनको निर्धारित दूरी उनले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए । उनले २४ प्रतिस्पर्धीलाई पछि पार्दै ७५ हजार रुपैयाँ पुरस्कार पनि जितेका हुन् । उनी १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेतासमेत हुन् । उनले त्यतिबेला मध्यम दूरीमा सफलता पाएका थिए । ५ हजार मिटरमा स्वर्ण जितेका उनी खासमा म्याराथन धावक नै थिए । सागमा स्वर्ण जितेपछि उनले आफू पुनः म्याराथनमा फर्कने बताएका थिए । सफलतामा पुग्न थोरै मिहिनेतले पुग्दैन, त्यसभित्र जीवनका रमाइला र सुन्दर पाटाको समेत बलिदानी दिनुपर्छ । उनले ओलम्पिकको लक्ष्य छुने धुनमा व्यक्तिगत जीवनका केही सुनौला पल त्याग्नुपरेको सुनाए । ‘दुई वर्षदेखि घरमा पाइला टेक्न पाएको छैन,’ उनले भने, ‘उमेर पुग्यो, बिहे गर्न भ्याएको छैन । यसभन्दा ठूलो बलिदानी के हुन्छ र ?’ ओलम्पिकमा पुग्ने सपना पूरा भएसँगै ३२ वर्षीय गोपीचन्द्रको खेलयात्रा अझै परिपक्व बनेको छ । उनले म्याराथन यात्रा भर्खरै सुरु भएको महसुस गरेका छन् । राम्रो प्रशिक्षण र कडा मिहिनेत गर्न सके ४० वर्षको उमेरभित्र राष्ट्रलाई खेलकुदमा उत्कृष्ट योगदान दिन सकिने उनको विश्वास छ । ‘अब खेलको मोडालिटी चेन्ज हुन्छ, कतै खेल्न पाइँदैन’, उनले भने, ‘ओलम्पिक केन्द्रित हुनुपर्छ । अम मेरो वास्तविक दौड सुरु हुन्छ ।’ म्याराथनमा विजयी हुनु पछाडिको मुख्य कारण मिहिनेत नै भएको सुनाउँदै त्यसमा थोरै समय र भाग्यले साथ दिएको उनले बताए । कोरोना महामारीका कारण धेरै जसो खेलाडीले पर्याप्त अभ्यास नै गर्न पाएनन् । महिलातर्फ हाफ म्याराथनको उपाधि १३ औं सागकी रजत विजेता पुष्पा भण्डारीले जितेकी हुन् । विभागीय टोली एपीएफसँग आबद्ध सल्यानकी पुष्पाले १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै उपाधि जितिन् । उनले ३० हजार रुपैयाँ थापिन् । लकडाउन र कोरोनाको प्रभावले राम्रो अभ्यास गर्न नपाए पनि सजिलै सफलता हात पारेको उनले बताइन् । ‘जम्मा दुई हप्ता अभ्यास गरेर दौडमा भाग लिन आएकी थिएँ’, उनले भनिन्, ‘अभ्यास नै नगरी जित्नुले खासै मन सन्तुष्टि नहुँदो रहेछ ।’ सागको पदकपछि प्रशिक्षण अभावमा दौडमा विश्राम लिएको उनले सुनाइन् । यसले खेलाडीलाई पछिसम्मै असर गर्ने उनको अनुभव छ । ‘एक महिना दौड्न नपाए, मसल्स चल्नै छाडेजस्तो हुन्छ,’ उनले भनिन्, ‘त्यसैले खेलाडीले जति खेल्न पायो, उति उत्कृष्ट बन्दै जाने हो ।’ पुष्पाको दौड पछ्याउँदै जुम्लाकी धावक मञ्जु रावतले दोस्रो स्थान हासिल गरिन् । १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दूरी पार गरेर उनले १५ हजार रुपैयाँ पुरस्कार जितिन् । २१ वर्षीया मञ्जु यसअघिको संस्करणमा अल्ट्रातर्फ दोस्रो भएकी थिइन् । रोड रेसमा अभ्यास कम भएकाले दोस्रो हुने विश्वास उनमा थिएन । दोस्रो स्थानमा सफलता पाएपछि मञ्जुको हौसला थपिएको छ । छोरी मान्छे दौडिनुहुन्न भन्ने समाजको आलोचना चिर्न उनलाई यो सफलताले प्रेरणा दिएको बताइन् । ‘कुरा काट्नेले काटिरहून्, मेरो दौड जारी छ’, उनले भनिन् । उनी जुम्लाका हरि रोकायबाट प्रशिक्षित खेलाडी हुन् । हाफ म्याराथनमा दाङकी शर्मिला घर्ती तेस्रो भइन् । १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दूरी पार गरेकी उनले १० हजार पुरस्कार हात पारिन् । १६ वर्षीया शर्मिला कक्षा १० पढ्छिन् । दौडमा रुचि राख्ने उनले म्याराथनमा स्थान पाउने कुनै लक्ष्य नै बोकेकी थिइनन् । खेल्ने उत्साह देखाउँदै एकैचोटि मैदानमा उत्रिएकी उनमा म्याराथनको सम्भावना झल्किन्छ । ‘यति अनुभवी खेलाडीको प्रतिस्पर्धी हुँदै दौडिन पाउनु नै सफलता ठानेकी छु’, उनले भनिन्, ‘अब मेरो दौड रोकिँदैन ।’ म्याराथनमा पुरुषतर्फ पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत यसपालि दोस्रो भए । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे । कृष्णले महामारीकै मारमा परेर अभ्यास नपुगेको स्विकारे । ‘ओलम्पिकमा सहभागिता जनाउन पाउने अवसर थियो, अभ्यास पुगेन,’ उनले भने । कृष्णले ३० हजार रुपैयाँ पुरस्कार पाए । खगेन्द्र भाट २० हजार रुपैयाँ पुरस्कार पाउँदै तेस्रो भए । बीपी चोकबाट सुरु भएको नेपालगन्ज म्याराथन कोहलपुर हुँदै पुनः बीपी चोकमै पुगेर टुंगिएको थियो । कोरोना महामारीले झन्डै ९ महिनादेखि ठप्प भएको खेलकुद गतिविधिबीच क्रिएटिभ ह्यान्ड्सले म्याराथन आयोजना गरेको हो । जसले घरमै खुम्चिएका खेलाडीलाई खेल्न पाउने आशा पलाएको छ ।