उम्मेदवारसँग सडक र शिक्षामा सुधार माग्छन् कोञ्जोसोमवासी

आइतबार, वैशाख २५, २०७९

कोञ्जेसोम (ललितपुर), २५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ललितपुरको दक्षिणी भेगको कोञ्जेसोम गाउँपालिकामा निर्वाचनको रौनक छाएको छ । 
गाउँका अधिकांश घरमा राजनीतिक दलका झण्डा देखिन्छ भने चिया पसल, दूध डेरीलगायत नागरिकको जमघटमा निर्वाचनमा कसले जित्ला वा कसले जित्नुपर्छ भन्ने नै प्रमुख विषयवस्तु बनेको छ । काठमाडौँ उपत्यकाबाट नजिक भएर पनि भौतिक विकास र सामाजिक विकासका दृष्टिले यो पालिका पछाडि रहेको छ । खासगरी तामाङलगायत जनजातिको बाहुल्यता रहेको गाउँपालिकामा शिक्षा क्षेत्रमा खासै विकास हुन सकेको छैन । निर्वाचन नजिकिँदै गर्दा यहाँका स्थानीयवासी (मतदाता) ले सडकको विकास हुनुपर्ने, सुविधासम्पन्न अस्पताल र कृषिमा सहयोगका विषयमा उम्मेदवारसँग माग गरिरहेका छन् । 
कोञ्जेसोमकी सिर्जना लामा उम्मेदवारले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछिन् । पालिकाका पाँच वडामध्ये तीन वडामा बालबालिका विद्यालय गए पनि बीचमा नै छाड्ने गरेको र अभिभावकमा पनि छोराछोरी पढाउनुपर्छ भन्ने सोचाइ नरहेको उनको भनाइ छ । कक्षा ४÷५ पुग्दासम्म धेरै बालबालिका पढाइ छाडेर काममा लागिसक्ने उनले बताइन् । 
उनले भनिन्, “आमाबुबालाई नै छोरीछोरी पढाउनुपर्छ भनेर सम्झाएर बुझाउनुपर्छ र गरिब मान्छेलाई सहयोग पनि गर्नुपर्छ ।” गाउँपालिकामा अधिकांश सडक कालोपत्र हुन सकेको छैन । वडाका केन्द्रसम्म पुग्न सडक भए पनि सबै कच्ची छन् भने वर्षामा कतिपय सडक हिँड्नै नसकिने अवस्था छ । सडकको सुधार गर्नुपर्ने, कृषिका सामान भण्डारण गर्न केन्द्र, युवाका लागि खेलकुद मैदान, विद्यार्थीका लागि पुस्तकालय निर्माणमा उम्मेदवारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।आफूले भोट माग्न आउनेसँग उनीहरुको योजनाका बारेमा सोध्ने गरेको बताइन् । उनले भनिन्, “सबैले यो यो गर्छु भन्ने कुरा लगभग उस्तैउस्तै छ ।” गाउँपालिकामा पाँच वडामध्ये तीन वडामा तामाङ जातिको बाहुल्यता रहेको छ भने बाँकी दुई वडामा तामाङ, पहरी, मगर, ब्राह्मण, क्षेत्रीलगायतको बसोबास छ । नल्लु, भारदेउ, चौघरेलगायतका गाउँमा तामाङ जातीको पहिचान झल्कने घर, बस्ती, बाटोघाटो छन् । उचाईमा रहेको दलचोकीबाट काठमाडौँ उपत्यकासँगै तराईसम्म देख्न सकिन्छ । गाउँपालिकामा रहेको गुप्तेश्वर गुफा, दलचोकी भ्यूटावर, मनकामना मन्दिर, पाथीभरा मन्दिर, बिभिन्न गुम्बा, चैत्यलगायतका पर्यटकीय महत्वका स्थान रहेका छन् । यीनको प्रचारप्रसारमार्फत यहाँको जनजीवनमा सुधार ल्याउन सकिने सम्भावना छ । स्थानीयवासी पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै त्यस क्षेत्रमा उल्लेखीय काम हुन नसकेको भन्दै अब गाउँपालिकामा जितेर आउने पदाधिकारीले त्यसमा ध्यान दिनुपर्ने बताउँछन् । 
स्थानीय रेनुका सापकोटा बालबालिकादेखि वृद्धवृद्धा सबैले यहाँको बाटोमा सुधार चाहेको बताइन् । बाटो सबैतिर पुगे पनि कच्ची भएकाले त्यसलाई कालोपत्र गरेर ओहोरदोहोर सजिलो गराउनुपर्ने उनको अब निर्वाचित हुने अध्यक्ष, उपाध्यक्षसँग अपेक्षा छ । दलचोकीमा यसअघिको नेतृत्वले सुरु गरेको भ्यूटावर चाँडो सम्पन्न गर्न अब आउनेले ध्यान दिनुपर्ने उनले बताइन् ।    
सडकपछि निर्वाचित प्रतिनिधिले शिक्षाको सुधारमा ध्यान दिनुपर्ने सापकोटाले बताइन् । बालबालिकाका लागि राम्रो विद्यालय हुनुपर्ने र पढाई राम्रो हुनुपर्ने उनले बताइन् । आफू नपढेको भए पनि सन्तानले गाउँमै राम्रो पढाइको अवसर पाउन भन्ने उनको चाहना छ । अहिलेसम्म गाउँमा निजी विद्यालय नभएको र अब पनि सरकारी विद्यालय नै राम्रो हुनुपर्नेमा उनको जोड छ । उनले भने, “समयअनुसार अहिले सबैले इङ्लिस चाहिन्छ तर सरकारीमा नेपाली मात्रै छ ।”
स्थानीय युवा सुदीप स्याङ्तान सडक र शिक्षाको कमी नै कोञ्जेसोमको मुख्य समस्या भएको र अब निर्वाचित हुने व्यक्तिले त्यस क्षेत्रमा ध्यान दिनुपर्ने बताए । पालिकाको मुख्य सडक दुई लेनको बनाएर कालोपत्र गर्दा नै समृद्धिका लागि बाटो खुल्ने उनले बताए । 
शिक्षामा गुणस्तर सुधारमा ध्यान दिनुपर्ने र वडाका सबै बस्तीसम्म शिक्षको पहुँच विस्तार गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “भौगोलिकरुपमा डाँडाकाँडासम्म फैलिएकामा त्यहाँसम्म स्कुलको पहुँच पुग्नुपर्छ ।” 
पालिकाभित्र कृषि र पशुपालनमा आबद्ध जनसङ्ख्या धेरै भएकाले आधुनिक कृषि प्रणाली अपनाउनुपर्नेमा स्याङ्तानको जोड छ । परम्परागत कृषिमा सुधार आवश्यक छ । अबको निर्वाचनमा सातै पदमा भोट हाल्दा सक्षम र योग्य व्यक्ति छान्ने र आफ्ना साथीभाइ र परिवारजनलाई पनि त्यही सुझाव दिइरहेको उनले बताए । 
पाँच वर्षसम्म आफ्नो पालिका चलाउने मान्छे यस्तो भयो भनेर पछि पश्चाताप गर्नुभन्दा पहिले विचार पु¥याउनुपर्ने उनको भनाइ छ । उनले भने, “पारदर्शी र सक्षम व्यक्ति जितेर आउनुपर्छ ।”
कोञ्जेसोम गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)बाट कृष्णमान लामा, नेकपा (माओवादी केन्द्र) बाट गोपीलाल सिङ्तानले उम्मेदवारी दिएका छन् । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसबाट राजनप्रसाद घिमिरे, एमालेबाट रणिता तामाङले उम्मेदवारी दिएकी छन् । 
कोन्जयोसोम गाउँपालिकामा अध्यक्षमा तीन जना र उपाध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षमा १७, वडा सदस्यमा ३१, महिला सदस्य १५, दलित महिला सदस्य १२ गरी ८० ले उम्मेदवारी दर्ता गराएका छन् ।–रासस
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार