Dashain Banner
Dashain Banner

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट लिनुस्”

बुधबार, वैशाख २१, २०७९

जनकपुर, २१ वैशाख । सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।’ 
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहरबस्ती पुग्ने उम्मेदवारले स्थानीय मतदाताको यो जवाफ सुनेपछि केही छिन अलमल्ल पर्ने गरेका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगारपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा अवस्थित ४० घरपरिवारका बस्तीमा सुरक्षित बास र शौचालयको समस्या छ । 
एकातिर निजी जग्गा नहुँदा पूरै बस्ती नै ऐलानी जग्गामा बसोबास गरिरहेका छन् भने अधिकांशको घरमा अझै शौचालयको समस्या रहेको स्थानीयवासीको भनाइ छ । दैनिक मजदूरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका सो बस्तीका मतदाताले बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छाँंै भन्दै आएको छ । आर्थिक आभावका कारण फुसको छाप्रोमा जेनतेन जीवन गुजारा चलाउँदै आएका स्थानीयवासी फुलकुमारी सदाले सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा आफू पुगेको बताए । 
‘‘सधैँभरी मजदूरी गरेर परिवार पाल्दै आएका छौं”, उनले भने, “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो, अरुबेला उहाँहरुको अनुहारै देख्न पाईंदैन, यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।” 
स्थानीयवासी ५० वर्षीय झौला सदायले पनि घर र शौचालय बनाइ दिने उम्मेदवारलाई मात्र मत दिने बताए । “वर्षौंदेखि हामीले भोट हालेर माननीय मन्त्री बनाएकै छौं, तर जितेर गएपछि नेता पुनः आफूहरुको समस्या बुझ्नै आउँदैन्”, उनले भने, ‘‘त्यसैले यही बेलामा नेताहरुसँग केही कुरा माग्ने हो ।” 
पटक–पटकको निर्वाचनमा हामीले मत दिएर थुप्रै नेतालाई जितायौँ, तर हाम्रो अवस्थामा भने केही सुधार आएन् उनले भने, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मात्र मत दिन्छौँ ।” करिब पाँच वर्षपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालीको चुनावमा उहाँहरु सुरक्षित आवास र शौचालय खोजेका हुन् । 
माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुुप्रा घर भएको उक्त बस्तीमा मत माग्न आउने उम्मेदवारले आफूहरु निर्वाचित भएपछि माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउने गरेको स्थानीयवासीले बताएका छन् । ‘‘हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ, यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौंँ भन्ने विभिन्न उम्मेदवारले प्रतिबद्धता जनाइरहेका छन्”, स्थानीयवासी तारादेवी सदाले भने, ‘‘यस्तो प्रतिबद्धता थुप्रै पाए तर चुनाबपछि त्यो प्रतिबद्धता पूरा भएन्, यसपाली विश्वासिलो नेतालाई मात्र मत दिन्छु ।” 
स्थानीयवास िरामबत्ती सदायले आर्थिक अभावकै कारण एउटा राम्रो घर बनाउन नसकिएको बताउँदै मन नभएर घर नबनाएको होइन्, कमाइले खानलाउनै पुग्दैन, कसरी घर र शौचालय बनाउने हो भनी प्रश्न गरे । ? उहाँले हाम्रो घर र शौचालय बनाइदिने विश्वासिलो प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौं ।” 
पहिला पहिलाको चुनावमा नेताहरुले पैसा बाँडेर मत किनेर जित्ने गरेका थिए, तर अब हामी यस्तो हुन दिदैनौं, यसका लागि हामी एक भएका छौँ, स्थानीयवासी जीतन सदाको भनाइ छ । 
वर्षौंदेखि ऐलानी जमिनमा बस्दै आएको यहाँका मुसहर बस्तीका कसैको नाममा पनि जमिन दर्ता भएको छैन । कूल आठ नगरपालिका र ९ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको सिरहामा चार लाख १४ हजार १६६ मतदाता रहेका छन् । जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।–रासस
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बुधबार, वैशाख २१, २०७९