सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर, ८ वैशाख । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे वैशाख १० गते शनिबार निर्णय गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल भएको र अर्को बैठक शनिबार दिउँसो ३ बजे बालकोटमै बसेर उम्मेदवारको टुङ्गो लगाउने बताए । शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने र भोलि नै तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गर्ने बैठकले निर्णय गरेको गुरुङले जानकारी दिए । स्थानीय निर्वाचनको घोषणापत्र भोलि नै सार्वजनिक गर्ने निर्णय एमाले सचिवालय बैठकले गरेको छ । नेकपा एमालेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशसभाका सदस्यलाई पालिकाको नेतृत्वको लागि टिकट नदिने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङले त्यहाँ सरकार परिवर्तन हुनसक्ने सम्भावना रहेको र त्यसलाई ध्यानमा राखेर यस्तो निर्णय भएको बताए । उनले यी दुई प्रदेशमा एमालेको एकल बहुमत पुग्नलाई केही सांसद मात्रै कमी हुने अवस्था रहेको र सत्ता गठबन्धनमा फाटो आएमा एमालेको सरकार बन्न सक्ने सम्भावना रहेको छ ।
विकास र सुशासनको नीतिमा एमाले स्पष्ट छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी चुनौती खडा गर्न खोजिए पनि विकास र सुशासनको नीतिका आधारमा देशलाई अघि बढाउन पार्टी प्रतिबद्ध भएको बताएका छन् । सो पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले पार्टीमा वैचारिक स्पष्टता, साङ्गठनिक सुदृढता कायम गरेर अघि बढ्न आग्रह गरे । अध्यक्ष ओलीले सल्लाहकारको अनुभव र ज्ञानबाट पार्टीले लाभ लिनसक्ने बताए ।
परिषद्का अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा सम्पन्न बैठकमा परिषद्मा पछिल्लो समयमा थपिएकासहित सदस्यले सपथ लिएका थिए । यसैबीच नेकपाको ७३औँ स्थापना दिवसका अवसरमा यही वैशाख ९ गते एमालेले स्थानीय तहका लागि केन्द्रस्तरमा र पालिकास्तरमा एकैसाथ घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्र सार्वजनिक गरिने कार्यक्रममा ज्येष्ठ कम्युनिष्टको पनि सम्मान गरिँदैछ । एमालेले सोही दिनदेखि केन्द्रीय कार्यालयलाई थापाथलीबाट सारेर च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन गर्दैछ ।