गठबन्धनको टुङ्गो भोलिसम्म : दाहाल

शनिबार, वैशाख ३, २०७९

चितवन, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् ।  
भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले भने, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” 
निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए । पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए।  
उनले भने, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो ।

गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह
नेकपा माओवादी केन्द्रकी नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन् ।  ललितपुरमा आज आयोजित कार्यक्रममा उनले भनिन्, “अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि पर्काउने बीचको हो । त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ ।”
जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पारिन् ।  उनले भनिन्, “प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धनलाई बलियो बनाउनुपरेको हो ।”
यसैबीच ऊर्जमन्त्री भुसालले पछिल्लो समय चर्चा भएजस्तो देशको अर्थतन्त्र खराब नभएको उल्लेख गर्दै कृषिमा आधारित देशको अर्थतन्त्रमा बाह्य कारणले दबाब भने रहेको बताइन् । उनले भनिन्, “देशको अर्थतन्त्र सबल बनाउन स्वदेशी उत्पादनलाई प्रयोग गरौँ, विद्युतीय सवारी साधन तथा भान्सामा विद्युतीय चुल्हो प्रयोग गरौँ ।” बिलासीताका वस्तुमात्र नभई अर्बौंको खाद्यान्नसमेत विदेशी मुलुकबाट आयात हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले पछिल्लो समय सरकारले अत्यावश्यकबाहेक केही सामग्रीको आयात कडाइ गरेको जानकारी दिए । 
जलविद्युत्बाट उपलब्ध हुने सुविधामा सरकारले छुट दिलाएको बताउँदै उहाँले सिँचाइका लागि र सर्वसाधारण जनताले खपत गर्ने विद्युत् महसुलमा सहुलियत दिलाइएको छ भनिन् ।–रासस

 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार