‘एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ’

शुक्रबार, वैशाख २, २०७९

बनेपा, २ वैशाख  । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी  छन्  । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा एकीकृत समाजवादी पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्ध भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन्  ।

यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ताखाले अवस्थाबाट छुटकारा दिलाउनको लागि स्थानीय तहको निर्वाचनदेखि प्रदेश र सङ्घ सरकारको निर्वाचन गरेर मुलुकलाई समृद्धि बनाउने दिशामा अगाडि बढ्न गठबन्धन बनेको उनको भनाइ छ । 

“सबैसँग एकअर्कामा सहकार्य, सहअस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न गठबन्धन गरेका हौँ”, उनले भने , “एक्लै हिँड्छु भनेर हिँड्यौ भने हामी कहीँ पुग्दैनौँ, हामी सँगसँगै हिँड्यौँ भने लक्ष्य हासिल गर्न सकिन्छ ।” मन्त्री झाँक्रीले पार्टीको नेता तथा कार्यकर्तालाई पनि त्यहीँअनुसारले काम गर्न आग्रह गरे  । 

संविधानसभा सदस्य विदुर सापकोटाले प्रतिगमनकारी शक्तिका अवशेषलाई समाप्त गर्दै वर्तमान व्यवस्थालाई जोगाउन, प्राप्त उपलब्धिको संरक्षण गर्न र मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउनको लागि अहिलेको गठबन्धन भएको बताए  । बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहँदा विगत पाँच वर्षमा जनप्रतिनिधिले केके गरे र अब के गर्दैछ भन्ने कुरालाई राम्रोसँग मनन् गरेर अगाडि बढ्ने बताए  ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार