काँग्रेसले चुनावी सभा दुई घण्टाभित्र सक्ने

यस्ताे बन्याे काँग्रेसकाे चुनाव प्रचार रणानीति
शुक्रबार, वैशाख २, २०७९

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।

समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उनले बताए ।बैठकले सभामा आसन ग्रहण र वक्ताको संख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ । 

केन्द्रको निर्णय उल्लंघन नगर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।

शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बठैकमा गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

उनले गठबन्धनको मर्म विपरीत जान नहुने धारणा परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैठकमा व्यक्त गरेको बताए ।

बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउने निर्णय पनि गरेको छ । साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरिएको छ ।

चुनावी प्रचार सभालाई आचासंहिताभित्र रहेर व्यवस्थित बनाउने बारे पनि छलफल भएको महरले बताए । विदेशस्थित सम्पर्क समिति भ्रातृ र शुभेच्छुक संस्थालाई निर्वाचनमा सक्रिय परिचालन गरिने भएको छ ।

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसको २ लाख ७५ हजार पुरस्कार

नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो ।

कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको छ ।

गीतमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताए । उनले त्यसरी छनोट भएको गीतलाई पुरस्कार प्रदान गरिने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार