सोसल मिडिया
Contact Us
युनिकोड
सरकार र सिके राउतको जनमत पार्टीबीच भेट । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा पार्टीसँग विगतमा भएका विभिन्न सहमति कार्यान्वयनबारे छलफल भएको छ । कृष्ण अधिकारी/रासस काठमाडौँ, २ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन् । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन भागलिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए । मन्त्री खाँणले सबै राजनीति दलले आफ्नो दलको चुनाव चिह्न पाउने व्यवस्था गर्न आयोगसँग आग्रह गरेको र सोहीअनुरुप आयोगले निर्णय गरिसकेको जानकारी दिए । भेटमा सो पार्टीका नेताले आगामी स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको जनाउँदै आफूहरुले यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो । उक्त पार्टीले आफूहरुले गरेको कृषि आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ गर्न माग गर्दै किसान आन्दोलनका माग सम्बोधन गर्न आग्रहसमेत गरेको छ । भेटमा गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, महान्यायाधिवक्ता खम्बबहादुर खाती र सहसचिव फणीन्द्रमणि पोखरेल तथा सो पार्टीको तर्फबाट अध्यक्ष राउत, उपाध्यक्षत्रय वसन्त कुशवाह, दीपक साह, नरेन्द्र साह र महासचिव चन्दन सिंहको सहभागिता रहेको थियो ।