सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, २ बैशाख । वर्षातको पानी व्यवस्थापन गर्न ललितपुर महानगरभित्र निर्माण भइरहेको ढल निर्माण (ट्रङ्कलाइन प्रोजेक्ट) कार्यको महानगर प्रमुख चिरीबाबु महर्जन, एसियाली विकास बैंकका उपाध्यक्ष सिक्जिन चेन र राष्ट्रिय निर्देशक आरनु कोस्वाले निरीक्षण गरेका छन् । ललितपुर महानगरले एसियाली विकास बैंक र काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत आयोजना व्यवस्थापन कार्यालयसँग सहकार्य गरी शंखमूलदेखि लगनखेलसम्म ढल निर्माणको काम पाँच महिना अघि सुरु गरेको थियो । हालसम्म यो काम ४० प्रतिशत सम्पन्न भइसकेको छ ।
बैंकका उपाध्यक्ष सिक्जिन चेनले बाक्लो बस्ती र सम्पदा क्षेत्रमा यो काम गर्नु चुनौतीपूर्ण भएपनि स्थानीय तहका नेताहरुको सहयोगका कारण काम निरन्तर अघि बढेको बताए । उनले भने, ‘ यो काम चुनौतीपूर्ण काम भएपनि महानगरका मेयरको सक्रियता र समन्वयमा सहज तरीकाले अघि बढ्न सक्यो, उहाँ लगायत सबैलाई स्थानीय तहका नेताहरुलाई धन्यवाद । ’ महत्वपूर्ण सँगसँगै चुनौतीपूर्ण काम भएकाले यसलाई एसियाली विकास बैंकले उच्च प्राथमिकतामा राखेर निरीक्षणका लागि आएको उनको भनाई थियो । ढल निर्माण कार्य सम्पन्न भएपछि कुमारीपाटी, लगनखेल लगायतका महानगरको ‘कोर एरिया’मा वर्षायाममा पानी जम्ने समस्या समाधान हुनेछ । दुई दशमलव ८ किलोमिटर लामो ढल निर्माणको काम अहिले २५ प्रतिशत सम्पन्न भएको छ । ठाउँ र अवस्था अनुसार १४ सय मिलि मिटरदेखि ५ सय मिलि मिटरसम्मको पाइप बिछ्याइएको छ । विद्युतीय तार, टेलिफोनको तार र खानेपानीको पाइपलाइए पनि ढलसँगसँगै जमिनमुनि बिछ्याइएको छ । महानगर प्रमुख महर्जनले ढल निर्माण सम्पन्न भएपछि सडक जलमग्न हुने समस्या समाधान हुने बताए । उनले भने, ‘यो महानगरको ठूलो योजना हो, तार पनि जमिनमुनि बिछ्याइने भएकाले सहर सुन्दर देखिन्छ । ’