संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास

बिहीबार, चैत २४, २०७८

सिन्धुपाल्चोक, २४ चैत  । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका  छन् गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको उल्लेख गर्दै संसद्को विवाद पनि संवादबाटै समाधान हुने उल्लेख गरे  ।

कोभिड–१९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका कारण यसबीचमा आम नागरिकसँग प्रत्यक्ष जोडिन र विकास निर्माणमा ध्यान दिन नसकिएको उल्लेख गर्दै सभामुख सापकोटाले अब अवस्थामा केही सहजता आएको बताए  । जुगल गाउँपालिका–५ को चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयमा उनको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा सहभागी  भएका सभामुख सापकोटाले शिक्षाले नै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए  । 

आधुनिक र सुविधा सम्पन्न विद्यालय भवनको सही सदुपयोग गर्न विद्यालय परिवार र सम्बद्ध पक्षलाई सभामुख सापकोटाले सुझाव दिए  । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न रत्नराज्य माध्यमिक विद्यालय देशकै नमूना विद्यालयमध्यको एक हो । सो अवसरमा विद्यालय परिवार र व्यवस्थापन समितिका तर्फबाट सभामुख सापकोटालाई विद्यालय भवन निर्माणको विशेष पहल र प्रयत्नका लागि आभार व्यक्त गर्दै संरक्षणका लागिसमेत पहल हुने विश्वास व्यक्त गरिएको थियो ।
 
 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार