गर्मी बढेसँगै गाउँ पस्दै मनाङवासी, सुरु भएन चुनावी चहलपहल

सोमबार, चैत २१, २०७८

मनाङ, २१ चैत  ।  स्थानीय तह निर्वाचन नजिकिएसँगै देशभर गाउँदेखि सहरसम्म चुनावी चहलपहल बढे पनि मनाङ्मा भने चुनावी सरगर्मी बढेको देखिएको छैन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले उम्मेदवार छनौट गरिरहेका छन् । तर हिमाली जिल्ला मनाङमा भने चुनावी गतिविधिहरु नबढ्दा उम्मेदवार छान्ने काम पनि हुन सकेको छैन । 

जिल्लावासी जाडो छल्न बेँसी झरेकाले पनि यहाँ चुनावी चहलपहल सुरु हुन नसकेको हो । चैतको दोस्रो सातापछि यहाँका स्थानीय विस्तारै गाउँ फर्कने गर्दछन् । गर्मी बढेसँगै जिल्लावासी मनाङ फर्कन थालेपछि चुनावी प्रचारप्रसार बढ्ने देखिएको छ । जिल्लाका नेताहरु अहिले गाउँ पुगेका छैनन् । धेरैजसो मतदाता पनि जिल्ला बाहिर रहेकाले पनि नेताहरु जिल्लामा नपुगेको आँकलन गर्न सकिन्छ । जिल्लाका राजनीतिक दलका नेताहरु गाउँ नपुगे पनि निर्वाचन कार्यालयले भने निर्वाचनसम्बन्धी आवश्यक कार्यहरु अगाडि बढाएको बताएको छ । 

माथिल्लो मनाङमा चुनावी माहोल नबनेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले बताए  । ‘‘अब नेताहरू आउछन् , विस्तारै तात्ने बेला हुन लागेको छ”, उनले भने  । उनका अनुसार चिसो छल्न काठमाडौँ–पोखरा, अन्यत्र गएका स्थानीयवासी विस्तारै फर्किन थालेका छन् । नार्पाभूमिका गाउँ पनि अहिले सुनसान छन् । स्थानीयसँगै केही जनप्रतिनिधि र कर्मचारी पनि फर्किन बाँकी नै छ । गाउँपालिका अध्यक्ष मिङ्माछिरिङ लामाका अनुसार बाहिर रहेका गाउँपालिकाका बासिन्दा फर्किएका छैनन् । 


 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार