सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । स्थानीयवासीको उठिबास लाग्ने गरी सहमति विपरीत हनुमन्ते करिडोर निर्माण गरेको भन्दै स्थानीय बासिन्दाले हनुमन्ते करिडोर निर्माण तत्काल रोक्न माग गरेका छन् । हनुमन्ते खोला करिडोर पीडित समितिले सोमबार मध्यपुरथिमिमा पत्रकार सम्मेलनको आयोजना गरी राज्यले उचित मुआब्जा एवं क्षतिपूर्ति नदिई करिडोर निर्माण अगाडि नबढाउन माग गरेका हो । पत्रकार सम्मेलनमा समितिका संयोजक ओमप्रकाश श्रेष्ठले पीडितको माग सम्बोधन नगरी हनुमन्ते करिडोर निर्माण अगाडि बढाउन खोजे सयौँ स्थानीयवासीले प्रतिवाद गर्ने बताए । समितिले हनुमन्ते खोला करिडोर विस्तारका क्रममा परेका जग्गाको उचित मुआब्जा दिनुपर्ने, विगतमा सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले संयुक्तरूपमा यहाँको जग्गाको ‘ल्यान्ड पुलिङ’ गरी सबैलाई उचितरूपमा जग्गाको व्यवस्थापन गर्ने भनेर भएको सहमति कार्यान्वयन गर्नुपर्नेलगायत माग राखेको छ । करिडोर निर्माणका लागि जग्गा प्राप्ति गर्न कानूनबमोजिम स्थानीयवासी मूल्यअनुसारको मुआब्जा र क्षतिपूर्तिको व्यवस्था हुुनुपर्ने समितिको माग छ । करीब ११ किलोमिटर सडक विस्तार गर्दा ९५० रोपनी जमीन पर्ने भन्दै समितिका संयोजक श्रेष्ठले यसले धेरैको उठीबास लाग्ने बताए । नेपालको संविधानद्वारा प्रदत्त सम्पत्तिसम्बन्धी हकको संरक्षण गर्दै अधिग्रहण गरिने जग्गाको क्षतिपूर्ति र मुआब्जा प्रयोजनका लागि सीमाङ्न तथा नक्साङ्कन गरी डिपिआर बनाउनुपर्ने पीडितहरूको माग छ । हनुमन्ते करिडोर निर्माण गर्दा केही स्थानमा २०२१ सालको नापी नक्साअनुसार खोलाको बहाव परिवर्तन गरेको र केही ठाउँमा अहिलेकै बहावअनुसार गरेर दोहोरो नीति लिएको पीडित समितिका सल्लाहकार सुरेन्द्र श्रेष्ठले बताए । नक्साअनुसार सूर्यविनायक र मध्यपुरथिमिको सिमाना नै परिवर्तन हुने गरी खोलाको बहाव नै परिवर्तन गरेको बताउँदै उनले यहाँको समस्याबारे जिल्ला प्रशासन कार्यालयमा पटकपटक छलफलका लागि जाँदा उल्टै धम्की दिइने गरेको बताए ।–रासस