बुद्ध जन्मस्थल लुम्बिनीको ब्रान्डिङ 

मंगलबार, फागुन २५, २०७७

सिद्धार्थनगर । बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको ब्रान्डिङ शुरु गरेको छ ।     लुम्बिनीको नाम लेखाइको ढाँचा, रङ र लोगोलाई अन्तर्राष्ट्रियरूपमा परिचित गराउने उद्देश्यले ब्रान्डिङसम्बन्धी छलफल महत्वपूर्ण भएको सरोकार भएकाले बताएका छन् । लुम्बिनीसँग सरोकारी सङ्घसंस्था, प्रदेश सरकार, पर्यटन विज्ञ तथा पत्रकारहरूबीच रुपन्देहीको टाइगर प्यालेसमा आज भएको कार्यक्रममा लुम्बिनीका लागि ब्रान्डिङ प्रस्ताव गरिएको हो । प्रस्ताव गरिएअनुसार बुद्ध रङ, अशोका पिल्लर, बुद्ध जन्मस्थल र बुद्ध धर्मसँग सम्बन्धित विभिन्न तथ्यलाई प्रभावकारी ढङ्गले ब्रान्डिङमा प्रस्ताव गरिएको छ । उक्त प्रस्तावित लोगोमाथि अन्तरक्रियाका सहभागीले आ–आफ्ना सुझाव दिँदै लोगोको अक्षर रञ्जना लिपिमा राखेमा अझै प्रभावकारी हुने बताएका छन् । 
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले लुम्बिनीको प्रभावकारी प्रचारप्रसार र प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले थालेको लुम्बिनी ब्रान्डिङ उपलब्धिमूलक हुने बताए ।  उनले निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र पर्यटन बोर्डले एकीकृतरूपमा लुम्बिनीको प्रवद्र्धनमा लाग्नुपर्नेसमेत बताए ।  डा.गौतमले लुम्बिनीमा प्रसूति अस्पताल खोल्ने गरी छलफल भएको बताउँदै लुम्बिनीमा आएर बच्चा जन्माउँदा जन्मिने बालबालिकामा बुद्धको जस्तै केही भाव, प्रकृति देखिने विश्वासका साथ प्रचारप्रसार गरेमा विश्वभरिका आमाहरू आफ्ना सन्तान जन्माउन लुम्बिनी आउने बताए ।  लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयका सचिव डा राजेन्द्र केसीले सरकारले सधैँ लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।  नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन विशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।
स्थानीयवासीलाई प्रत्यक्ष जोड्ने गरी कार्यक्रम गर्ने, लुम्बिनी क्षेत्रका हिन्दू पर्यटकीय धामसँग लुम्बिनीको सञ्जाल विस्तार गर्ने, विभिन्न निकुञ्जहरूमा कार्यक्रम गराउने तथा हिल स्टेशन र हिमालका दृश्य हेर्न मिल्नेगरी कार्यक्रम बनाउने गरी बुद्धजन्मस्थल लुम्बिनीको विकास गर्ने योजनामा पर्यटन बोर्ड रहेका उनले जानकारी दिए । 
नेपाल एसोसिएशन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको योगदानलाई सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए । 
लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्व लुम्बिनीको ब्रान्डिङपश्चात् अझै बढेर जाने बताए । –रासस

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार