सडक कर्मचारीका पीडा: गाडीभाडामै सकिन्छ आधा तलब

आइतबार, चैत १३, २०७८

चितवन। लिलाधर ढकालले २०६१ सालदेखि सडक डिभिजन कार्यालय चितवन अन्तर्गत रहेर ‘लेन्थ वर्कर’ को काम गरे। सडकको नियमित सरसफाइ गर्ने उनको ड्यूटी थियो। २०७ भदौ २५ गते सडक सफाइ गरिरहँदा प्रहरीले हाँकेको स्कूटरले ठक्कर दियो। ६७ वर्षका लिलाधरको हातमा चोट लाग्यो। हात औँलामा चोट धेरै लाग्यो । नियमित सडक सफाइको काम गर्न नसक्ने भए ।

 

 

२०६१ सालमा ३ हजार पाँच सय रुपैयाँबाट जागिर सुरु गरेका लिलाधरको तलब बढेर २१ हजार २ सय २५ रुपैयाँ पुगेको थियो । काम गरेको १७ वर्षसम्म न त कार्यालयले बीमा गरिदियो न उनको सुरक्षाको लागि कुनै सुविधा थियो। उपचार खर्च भने कार्यालयले व्यवस्था गरिदियो ।

दुर्घटनामा घाइते भएपछि लिलाधर खाली हात घर फर्किए । उनको ठाउँमा भदौ २७ गतेदेखि लागु हुनेगरि बुहारी बिमला ढकाल काममा लागिन् । तर, १७ वर्ष सडकमा धुलो खाँदै सडक सफाइ गरेका ढकाल भने बुढ्यौलीमा रित्तो हात घर फर्किएका छन् ।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी शिव खनालका अनुसार सडकको नियमित सफाइको लागि लिलाधर जस्ता ९७ जना लेन्थ वर्कर छन। उनीहरूले तोकिएको रुटमा सडक सफाइको काम गर्छन् । उनीहरूको प्रतिव्यक्ति पहाडमा ३ र तराइमा पाँच किलोमिटरसम्म सडक सफाइ गर्ने जिम्मा हुन्छ ।

तर, उनीहरूको परिचयपत्र दिने व्यवस्था सडक डिभिजन कार्यालयले गरेको छैन। परिचयपत्र साथमा नहुँदा घरभन्दा पर सडक सफाइमा जाँदा सडककै कर्मचारी भएपछि गाडीभाडा तिर्नुपर्ने बध्यतामा उनीहरू छन् ।

जीवनाथ ढुंगाना ७६ वर्षका भए। उनी २५ वर्षदेखि लेन्थ वर्करको काममा छन्। भरतपुर महानगर ११ को नौरंगे घर भएका जीवनाथको काम गर्ने एरिया चितवन राष्ट्रिय निकुञ्जको राप्ती पुलदेखि माडीको कृतनपुरसम्म हो । यो रुटमा पाँच जना कार्यरत छन्। उनीहरू २५ किलोमिटर सफाइ गर्छन् ।

जीवनाथ हरेक दिन गाडी चढेर माडी आउजाउ गर्नुपर्छ। भरतपुरको चौबीसकोठीदेखि माडीको रेवा खोलासम्म पुग्दा सार्वजनिक बसले कम्तिमा एक सय रुपैयाँदेखि एक सय ३० रुपैयाँसम्म लिने गर्छ। कृतनपुरसम्म पुग्दा त अझ थपिन्छ गाडीभाडा।

‘सडककै कर्मचारी हौँ, ड्रेस लगाएर काममा आउँछु’, जीवनाथ भन्छन्, ‘तर, बसले गाडीभाडा छुट गर्दैन ।’

जीवनाथको दुईतर्फ भाडा हिसाब गर्दा दिनको कम्तिमा दुई सय ५० रुपैयाँभन्दा बढी रकम खर्च हुन्छ । महिनाको २६ दिन काम गर्नुपर्छ। २६ दिनको गाडी भाडा ६ हजार पाँच सय तिनुपर्छ। यसअघि भरतपुरकै मुख्य सडकमा काम गर्थे । तर, अहिले साइट फेरियो। जीवनाथ थप्छन्, ‘७६ वर्षको उमेरमा दुःखले कमाएको पैसा पनि गाडीभाडामा सकियो ।’

सडक बोर्ड नेपालले स्थानीय जनताको रोगजारी र उनीहरूको घर पायक सडक सफाइको अवधारणा अनुसार लेन्थ वर्कर राख्ने व्यवस्था गरेको हो। सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्की डिभिजन सडक कार्यालयले उनीहरूलाई दिने पोशाक नै परिचयपत्र सरह भएको दाबी गर्छन् ।

उनले भने, ‘सडकका कर्मचारीलाई कुनै पनि गाडीले भाडा लिँदैनन् । उनीहरूलाई पनि सडकको पोशाक देखेपछि नलिनुपर्ने हो ।’

तर, आफूहरूलाई परिचय पत्र नभइ गाडी भाडामा पनि छुट नदिएको अर्की लेन्थ वर्कर सविता विश्वकर्माले बताइन् । ‘सडक कर्मचारी भए परिचय पत्र देखाउनु भन्छन्, ड्रेसले हुँदैन रे। हामीसँग परिचय पत्र नै छैन कसरी भाडामा छुट पाउनु ।’

सविता पनि भरतपुर महानगरपालिका ६, बाट दैनिक माडी सडक सफाइको लागि आउजाउ गर्छिन् । 

उपदान समेत छैन

वर्षौँदेखि सडक सफाइमा काम गर्दै आएका सडक मजदुरहरूलाई सडक डिभिजन कार्यालयले केही करार र अधिकांश ज्यालादारीमा नियुक्त गरेको छ। श्रम ऐनले नै ६ महिना नियमित काम गरेपछि करार हुँदै, अस्थायी र स्थायीको प्रकृयामा लैजानुपर्ने व्यवस्था गरेको छ ।

तर, लेन्थवर्कको न त स्थायीको व्यवस्था नै छ न उनीहरूले उपदान नै पाउँछन् । रामसिंह चौधरी १७ वर्षदेखि सडक सफाइको काममा छन् । बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सडक छेउछाउ काम गरिरहेका भेटिन्छन् । भरतपुर २३ का रामसिंह ६० वर्षका भए । शरीरमा कमजोरी बढ्दै गएको छ। अब उनलाई ठेला बेल्चा चलाउन सक्दिन जस्तो लाग्न थालेको छ। तर, जागिर छोडेकै भोलिपल्टदेखि हात खाली हुन्छ ।

‘यत्रो वर्ष काम गरियो, छोड्दा उपदान मात्रै आएपनि बुढेसकालमा केही सजिलो हुन्थ्यो, ‘रामसिंह भन्छन्, ‘पातमा जीवन राखेर हिँड्नुपर्छ। सरकारले केही हेर्दैन।’

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार