यौन दुर्व्यवहारको घटना मिलाउन सर्वपक्षीय छलफल

मंगलबार, चैत ८, २०७८

यौन दुर्व्यवहारको घटना मिलाउन चितवनको माडी नगरपालिकामा ओयोजित एक सर्वपक्षीय छलफल पीडितहरूको अस्वीकृतका कारण असफल भएको छ। यौन दुर्व्यवहारसँग सम्बन्धित उजुरी र बयान बन्द कक्षमा गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि इलाका प्रहरी कार्यालयकै संयोजनमा सर्वपक्षीय छलफल आयोजना गरेर पीडित थप पीडा दिने प्रयास गरिएको थियो ।

माडी नगरपालिका१ मा रहेको सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछानेमाथि फागुन २९ गते कक्षा ९ का एक छात्रालाई झोलामा किताब नल्याएको विषयमा दुर्व्यवहार गरेको आरोप छ।

कक्षा ९ की १५ वर्षीया छात्राकै अनुसार लेखा शिक्षक लामिछानेले ‘स्कूल आउँदा झोला बोक्ने हैसियत नभए बेलुका आमालाई मेरो घर सुत्न पठाइदिनु’ भनेका थिए। कक्षाकोठामै शिक्षकले त्यस्तो अश्लिल शब्द बोलेपछि यो कुरा विद्यालयभर फैलियो। स्कूलका दुई महिला शिक्षकलाई विद्यार्थीहरूले घटनाबारे पनि खबर गरे।

सोमेश्वर उच्चमाध्यामिक विद्यालयमा विद्यार्थीका कुरा सुनुवाई गर्न लैंगिक सम्पर्क व्यक्ति तोकिएको छैन। ‘हामीले म्याडमहरूलाई यो कुरा भन्यौँ, ‘ एक विद्यार्थीले भनिन्, ‘उहाँले विद्यालयको कुरा बाहिर हल्ला नगर्न दबाब दिनुभयो।’

शिक्षक लामिछानेले नौ कक्षाकी छात्रालाई कक्षामा नै लज्जित हुनेगरि भनेको जस्ता घटना एउटा मात्रै थिएन। विद्यार्थीहरूकै अनुसार यसअघि पनि यौनजन्य दुर्व्यवहार गर्ने, कक्षामा नै यौन उत्तेजक कुराहरू बोल्ने गरेका थिए ।

कक्षा १२ का एक छात्रले भने, ‘सरले केटीहरूलाई भनेका कुरा सुन्दा हामी समेत लाजले मुन्टो तल गर्थ्यौ।’ लेखा विषय पढाउने भए पनि शिक्षक लामिछानेले विषय बाहिर गएर यौनसँग सम्बन्धित कुराहरू बोल्ने, छात्राहरूको संवेदनशिल अंगमा छुने जस्ता पटक पटक दोहोरिने व्यवहारले कक्षा ९ देखि १२ सम्मकै छात्राहरू हैरान भएका थिए । उनीहरूले एक महिना अघि नै सरको व्यवहारबाट आजित भएर विद्यालयमा राखिएको उजुरी पेटीकामा लेखेर निवेदन समेत हालेका बताए। तर, त्यो उजुरी पेटीका अहिलेसम्म खोलिएको छैन।

२९ गतेको घटना विद्यालयभर फैलिएपछि पटक पटकको दुर्व्यवहार सहेका आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै कालोमोसो दले। विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनायो। वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले शिक्षक लामिछानेले पटक पटक उही क्रियाकलाप दोहोर्‍याएकाले विद्यालयमा अध्यापन गराउन दिन नसक्ने भन्दै नगर शिक्षा समितिलाई पत्र लेख्यो । तर, विद्यालयले सहजीकरण गरेर पीडित विद्यार्थीहरूलाई न्यायिक बाटोतर्फ जान भने समन्वय गरेन।

विद्यालयका प्राधानाध्यापक प्रेम विश्वकर्माले आफूकहाँ शिक्षक लामिछानेले गर्ने गरेको व्यवहारबारे जानकारी नै नआएको बताए। उनले भने,  'विद्यार्थीहरूले महिला शिक्षकलाई भनेका भएपनि उहाँहरूले केही जानकारी गराएन र यो घटना भयो।

घटनाको चार दिनपछि (चैत ३ गते) बल्ल केही अधिकारकर्मीको सहारामा पीडित छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिइन्। मूलुकी अपराध संहिता २०७४ अनुसार आशय करणी फौजदारी मुद्धा हो। फौजदारी अभियोगको उजुरीमा छलफल गरेर सहमती गर्न मिल्दैन।

तर, इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले आइतबार बिहान ८ बजे पीडित, पीडक, राजनीतिक दलका प्रतिनिधिसहित सर्वपक्षीय छलफल बोलाए। जबकी यौन दुर्व्यवहारसँग सम्बन्धित उजुरी र बयान बन्द कक्षमा गर्नुपर्ने कानूनी व्यवस्था छ। जिल्ला प्रहरी कार्यालय परिसरमा भएको छलफलमा पटक पटक पीडकले शिक्षकले आफूले केही अपराध नगरेको भन्दै पीडित पक्षलाई नै आरोप लगाइरहेका थिए।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले बोलाएको छलफलमा माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी महतो, माडी नगरपालिका १ का अध्यक्ष कृष्ण पौडेल, नेपाली काँग्रेस माडी नगर सभापति कमलनाथ भुसाल लगायतका राजनीतिक दलका प्रतिनिधि लगायत उपस्थित थिए।

छलफलमा जानै नहुने भन्दै पीडितका तर्फबाट जाहेरी लेखिदिएकी अधिवक्ता सरिता तिवारीले, बालिकामाथि शिक्षकले गरिएको यौनजन्य दुर्व्यवहारमा राजनीतिक रंग दिएर शिक्षकलाई उन्मुक्ति दिने प्रयास गरिएको आरोप लगाइन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले भने घटनाबारे बुझ्न मात्रै छलफल गरिएको दाबी गरे। उनले आफूले जिल्लामा रिपोर्टिङ गर्नको लागि मात्रै सर्वपक्षीय छलफल बोलाएको दाबी गरे।

पीडित बालिका तथा विद्यालयका छात्रछात्रा समेतले नमिल्ने अड्डी लिएपछि इलाका प्रहरी कार्यालय माडीले घटनालाई जिल्ला प्रहरी कार्यालयमा पीडितको निवेदन सहित आरोपी शिक्षक लामिछानेलाई पठाइदिएको छ।

बालिकाकी आमा र केही विद्यार्थी समेतले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बाल यौन दुर्व्यवहारको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरेका छन्। बाल यौन दुर्व्यवहारमा कसुर ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था कानुनले गरेको छ।

यौन हिंसाका आरोपीका पक्षमा शिक्षक संघको विज्ञप्ति

 

आफ्नै विद्यार्थीलाई यौन हिंसा गरको आरोप लागेका माडी नगरपालिका १ मा रहेको सोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेका पक्षमा नेपाल शिक्षक संघले विज्ञप्ति नै निकालेको छ।

संघका माडी नगरअध्यक्ष विश्वनाथ घिमिरेद्वारा जारी विज्ञप्तिमा “विद्यार्थीलाई सामान्य दुर्वाच्य बोलेको विषयलाई न्यायिक प्रकृयामा लैजानु गलत” रहेको दाबी गरेका हुन्। आइतबार निकालिएको सो विज्ञप्तिमा भनिएको छ – विद्यार्थीले दुर्वाच्य बोलेको भनी लगाएको आरोपमा शिक्षकलाई अपमानित गर्ने दुर्व्यवहार गर्ने कार्य गरियो त्यसको भर्त्सना गर्दछौँ।

यसका साथै विज्ञप्तिमा यौन दुर्व्यवहार गर्ने शिक्षक विरुद्ध न्यायिक प्रकृयामा जाँदा लेखा शिक्षक लामिछानेको सम्मानपूर्वक बाँच्न पाउने हकको हनन भएको दाबी गरेको छ। शिक्षक लामिछानेले कक्षा ९ पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहारजन्य शब्दहरू बोलेपछि विद्यार्थीहरुले प्रहरीमा उजुरी दिएका छन्। आइतबार विद्यालयका केही विद्यार्थीसहित पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा बालयौन दुर्व्यवहारको उजुरी दिएकी छन्। आरोपी शिक्षकलाई आइतबार नै नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान थालेको छ। सहमति गरेर गाउँमै घटना सामसुम पार्न आइतबार भएको सर्वपक्षीय छलफलमा पीडित पक्षले सहमति गर्न नमानेपछि प्रहरी कार्यालयमा उजुरी दर्ता भएको हो।-स्वतन्त्र समाचार 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार