नाम र पैसाको पछाडि लाग्दा गुमेको ‘मानवीयता’

पल-गायिका प्रकरण
बिहीबार, फागुन १९, २०७८

गत सातादेखि नेपालमा मिडियासँगै सामाजिक सञ्जालमा नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणी कसुरमा जाहेरी दिएपछि यो विषय चर्चामा छ । म्युजिक भिडियोमा चर्चित शाहविरुद्ध जाहेरी परेकाले पनि यो विषयलाई चासोका साथ हेरिएको हो । 

रसिया र युक्रेनको युद्धको चर्चालाई पनि यो प्रकरणले छायाँमा पारेको छ । यद्यपि नेपालमा फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा ‘न्यायाधीश’ बन्नेहरूको कमी छैन । बाहिर आएका केही अडियोसँगै सुनिएका कथाको भरमा सामाजिक सञ्जालमा फैसला गर्नेहरू दिनप्रतिदिन बढ्दो छन् । नाबालिग गायिकाले जबर्जस्ती करणी कसुरमा उजुरी दिएपछि अभिनेता शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् । उनलाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन् । तर, कानुनी दायरामा पुगेको विषयमा केही कथित सामाजिक अभियन्ता र पलका फ्यानहरू भने जथाभावी बोलेर प्रहरी अनुसन्धानमा प्रभाव पार्ने अभियानमा लागेका छन् । आफू प्रहरी नियन्त्रणमा पर्नुअघि पलले सार्वजनिक गरेको अडियोका कारण नाबालिक ‘साइबर बुलिङ’को सिकार बनेकी थिइन् । 

जाहेरीको गम्भीरता नबुझ्नेहरू 

पलले गत आइतबार तनहुँ पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरे । उनले त्यसअघि नै आफूले आत्मसमर्पण गर्ने जानकारी भिडियोमार्फत गराइसकेका थिए । त्यसैले त्यहाँ युट्युबरसँगै कथित सामाजिक अभियन्ता नहुने कुरै भएन । 

आइतबार प्रहरीले पललाई न्यायिक हिरासतमा लिएसँगै सोमबारदेखि त्यहाँ भीडभाड नै भयो । क्यामेरा बोकेर प्रहरी कार्यालयको गेट अगाडि उभिनु, पललाई भेट्न आउने-जानेहरूको बयान लिनु र पलको समर्थनमा माहोल बनाउनुजस्ता काम सोमबारदेखि नियमित हुँदै आएका छन् । 

यतिमात्र होइन्, त्यहाँ नाराबाजीसमेत भयो । पल शाहलाई रिहा गर, दुर्गेश थापा मुर्दावादलगायतका नारा लाग्दै गर्दा त्यहाँ नाबालिग पनि थिए । जसले कथित अभियन्ताले लगाउने नारा दोहोर्याउने गर्थे ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा न्यायिक हिरासतमा रहेका शाहको पक्षमा नारा लगाउने कार्य त्यहाँ मात्र नभई काठमाडौंका केही स्थानमा समेत भए । अहिले युट्युब र टिकटक हेर्ने हो भने यी र यस्तै भिडियो छ्यापछ्याप्ती पाइन्छ । यी भिडियोहरू ट्रेन्डिङमा समेत छन् । 

एक नाबालिगले आफूलाई अन्याय परेको भन्दै कानुनमार्फत न्यायका लागि अगाडि बढ्दा पनि यस्ता भिडले उनलाई लान्छना लगाइरहेका छन् । बालिकाले जाहेरी दिएपछि सामाजिक सञ्जालमार्फत निकै आलोचनासमेत खेप्नु परेको छ । विशेषतः फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उनलाई भद्दा प्रतिक्रिया जनाउनेको कमी देखिँदैन । 

सामाजिक सञ्जालमा चरित्र हत्या 

आफूलाई भएको दुव्र्यवहारको निन्दा गर्दै कानुनको सहयोग लिइरहेकी नाबालिकाको सामाजिक सञ्जालमा चरित्र हत्या भइरहेको छ । खासगरी टिकटकमा उनलाई लाञ्छित गरी अत्यन्तै आपत्तिजनक भिडिओहरू पोस्ट भइरहेका छन् । पीडितका लागि होइन, पीडकका लागि न्यायको माग भइरहेको छ । विशेषतः फिल्मसँग जोडिएको विधाअन्तर्गत पर्ने सेलिब्रेटीहरूले यसबारे आफ्नो धारणा राख्न सकेका छैनन् । मीटू र जिरो टोलरेन्सजस्ता अभियानमार्फत आफूलाई भएको अन्यायविरुद्ध आवाज उठाउने केही अभिनेत्रीहरूसमेत यी नाबालिकाले जाहेरी दिएपछि खेपिरहेको ‘साइबर बुलिङ’मा मौन छन् । 

पलविरूद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि उनले प्रहरीबाट लुक्दै आफूलाई चारजना व्यक्तिहरू दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशी षड्यन्त्रपूर्वक फसाएको आरोप लगाएका थिए । त्यसपछि सुरु भयो ती नाबालिकामाथिको साइबर बुलिङ । भन्न र सुन्न नसकिने प्रतिक्रियाले ती नाबालिकाको मनस्थिति कस्तो भयो होला ? यो कसैले सोचेका छैनन् । 

कथित अभियन्ता भनिने पुन्य गौतमलगायतका समूहलाई आफू हिट हुनुछ भने युट्युबरलाई ‘डलर’ कमाउनु छ । त्यसैले त पलले आत्मसमर्पण गरेको समाचार बाहिरिनेवित्तिकै कथित अभियन्तासँगै युट्युबर रातारात त्यहाँ पुगेका छन् । 

उनीहरूले जाहेरीको गम्भीरता बुझेका छन्, न त अपराधको । उनीहरू त बुझेका छन्, भ्युजको भाषा । जसलाई भ्युज प्राप्त हुन्छ, जहाँ दर्शकको भिड हुन्छ, युट्युबर र पुन्य गौतम जस्ता अभियन्ता पुगिसकेको हुन्छन् । एउटी नाबालिकाले हिम्मत गरेर आफूविरुद्ध भएको अन्यायको निन्दा गर्दै न्यायका लागि कानुनी बाटो अपनाउँदा उनले सामाजिक सञ्जालमा अपराध गरेझैँ फैसला सुन्नु परिरहेको छ । यस्ता घटनामा ती नाबालिका मात्र पीडित हुँदिनन्, उनीझैँ दबिएर रहेको आवाजलाई बाहिर ल्याउने सोच बनाएका यतिकै हराउछन् । 

आज ती नाबालिकालाई भइरहेको ‘साइवर बुलिङ’ देख्दै गर्दा भोलि कुनै नाबालिग वा बालिगले आफूविरुद्ध भएका यस्ता गम्भीर प्रकृतिका अपराधको बारेमा बोल्दै न्यायका लागि अगाडि आउला ? यी र यस्तै धेरै गम्भीर प्रश्नहरू उब्जिएका छन् । 

परिवारलाई पार्ने असर 

सामाजिक सञ्जाल चलाउनु हुन्छ भने तपाईलाई भन्नै पर्दैन, केही दिनयताको ट्रेन्डिङ विषयको बारेमा । नाबालिकाले अभिनेता शाहले बलात्कार गरेको भन्दै जाहेरी दिएपछि यो विषय अहिले ‘टक इस्यु’ बनिरहेको छ । केही समय अगाडिसम्म एमसीसीको बारेमा धारणा व्यक्त गर्नेहरू अहिले आफ्नो बुझाई र फैसला यसै प्रकरणमा सुनाउन व्यस्त छन् ।

चिया पसल होस् या शैलुन वा जमघट हुने कुनै वातावरणमा यो विषयले स्थान पाउने गरेकै छ । यस्ता घटनामा पीडितको पहिचान गोप्य राखिन्छ । किनकि त्यसपछिको समयमा उसले यस्तै समाजमा आफूलाई राख्नुपर्ने हुन्छ । तर, यहाँ नाम अगाडि ल्याउन होडबाजी छ । नाबालिकाले दिएको जाहेरीमा काल्पनिक नाम प्रयोग भए पनि यहाँ पीडितको नाम खुलाउनेको कुनै कमी छैन । विधागत पत्रकारहरूले समाचारसँगै सामाजिक सञ्जालमा लेख्ने स्टाटसमा नाबालिकाको नाम देखिन्छ । 

हाम्रो कानुनले १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबर्जस्ती करणी (बलात्कार) गरेको मान्छ । पलले जब आफूविरूद्ध षड्यन्त्र भएको भन्दै केही अडियोसहित सार्वजनिक गरे । त्यसपछि उनका समर्थकहरू पलमाथिको आरोप ‘डाइभर्ट’ गर्न र अनुसन्धानलाई प्रभाव पार्न लागिपरेका छन् । दमौलीमा भेला भएका यी कथित अभियन्ता र केही युट्युबरहरू यसलाई आफ्नो प्लेटफर्ममा ल्याउन कत्ति पनि ढिला गर्दैनन् । कारण पाइने भ्युज र त्यसले जेनरेट गर्ने डलर नै हो । 

तर, यस्ता घटनामा नाम मुछिँदा भोलि समाजमा भोग्नुपर्ने पीडाको ख्याल कसैलाई छैन । त्यसो त यति सोच्ने चेतना हुँदो हो त उनीहरूले यस प्रकरणलाई यसरी सामाजिक सञ्जालमा ल्याउने नै थिएनन् । जाहेरीमा आरोपी भनिएका पल न्यायिक हिरासतमा छन् भने पीडित नाबालिका बाहिर । यी दुइसँगै यिनको परिवार छ । यिनीहरूले मिडिया र त्यसमा आउने गसिप साथै युट्युबमा बन्ने भिडियोले उनका परिवारमा कस्तोे प्रभाव परिरहेको होला ? यसतर्फ कसैले सोचेका छैनन् । पीडित र पीडक भनिएका परिवार र आफन्तहरूले युट्युब र टिकटकमा आउने भिडियोहरूसँगै सामाजिक सञ्जालमा हुने भद्दा टिप्पणीका कारण के कस्ता समस्या भोगिरहेका छन् ? यसतर्फ भिडियो मेकरले सोचेका छैनन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार