ह्वाइट हाउसमा ट्रम्प वा बाइडेन ?

 मंगलबार राति नै नतिजा आउने संभावना 
मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं ः अमेरिकी नागरिकले अहिले आफ्ना नयाँ राष्ट्रपति छान्न मतदान गरिरहेका छन् । अमेरिकीसहित विश्वका नागरिकहरु इति बेला टेलिभिजनमा आँखा गाडेर बसिरहेका छन् । सामाजिक सञ्जालमा आउने समाचार मा ध्यान केन्द्रित गरिरहेका छन् । तर न त राष्ट्रपति डोनल्ड ट्रम्पले न त पूर्वउपराष्ट्रपति जो बाइडनले नै हार स्वीकारिरहेका छन् ।  
यस वर्ष कोरोना भाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो ।
के राति नै नतिजा आउन सक्छ?
हुलाक सेवामा हुने विलम्बका बीच अहिलेको चुनावमा आधारित भई कुरा गर्दा संख्याको हिसाबले राति निर्णय हुन सम्भव छ ।
ह्वाइट हाउस पुग्न जो बाइडन अथवा डोनल्ड ट्रम्पले २७० इलेक्टोरल मतको सीमा पार गर्नुपर्ने हुन्छ । प्रत्यक्ष रूपमा मतदाताद्वारा राष्ट्रपति निर्वाचित नभई इलेक्टोरल कलेजबाट निर्वाचित हुन्छन् । 
हरेक राज्यमा निश्चित संख्यामा इलेक्टोरल कलेज मत निर्धारण गरिएको हुन्छ जुन केही हदसम्म राज्यको जनसंख्यका आधारमा तोकिएको हुन्छ । हरेक राज्यमा मानिसहरूले कसरी मतदान गर्छन् र ती इलेक्टोरल मत कसलाई जान्छ भन्ने कुराले अर्थ राख्छ । हिजो ६.९५ करोड अमेरिकीले हुलाकमार्फत् मतदान गरिसकेका छन् । 
अबको राष्ट्रपति को बन्ला भन्ने कुरा दुई मुख्य उम्मेदवार डोनल्ड ट्रम्प र जो बाइडेनका चुनावी अभियान र मतदानल केही समय पछि नै निर्धारण गर्नेछ । 
दुबै उम्मेदवारले अवलम्बन गर्ने नीति र एजेन्डा वाहेक चुनावी रणनीतिका हिसावले रणमैदान ठानिएका केही राज्य छन्, जहाँ उम्मेदवारले कसरी अभियान चलाए भन्ने कुराले मत परीणामको संकेत गर्ने बताइन्छ । ती राज्यमा ट्रम्प र बाइडेन दुबै केन्द्रित भए । त्यहाँका नागरिकलाई कसले नजिकबाट भेट्छ र मतदानबारे प्रभाव पार्नसक्छ उसैले जित्नसक्ने आंकलन गरिन्छ । अन्ततः ५ सय ३८ इलेक्टोरल भोटमध्ये जसले २ सय ७० वटा इलेक्टोरल कलेज भोट जित्छ उही राष्ट्रपतिको रुपमा विजयी ठहरिन्छ ।
निर्णायक भूमिका खेल्न सक्ने राज्यहरु 
पेन्सिलभेनिया 
अमेरिकी चुनावमा प्रभाव पार्ने झण्डै एक दर्जन निर्णयक राज्यमध्ये पेन्सिलभेनियालाई पनि लिइन्छ । २०१६ सम्म यस राज्यमा डेमोक्रेटिक पार्टीको प्रभाव थियो । तर बाराक ओबामालाई २००८ र २०१२ मा समर्थन गरेपछि पछिल्लो पटक ट्रम्पप्रति ढल्किएको छ । १९८८ देखि नै निरन्तर डेमोक्रेटको पक्षमा मतदान गर्ने लुजर्न काउन्टी पनि ट्रम्पका लागि ‘माइक्रोकोजम’ सावित भएको बताइन्छ । जहाँ ट्रम्पले २० मतले अग्रता हासिल गरेका थिए । कोइला र निर्माण सम्बन्धी काममा रोकावटपछि अर्थव्यवस्थामा आएको गिरावटसँगै स्वेत मतदाताको समर्थन ट्रम्पप्रति देखिएको थियो ।
पेन्सिलभेनियाको स्क्रान्टोनमा जन्मिएका जो बाइडेनले यहाँका श्रमजीवी वर्गका मानिसलाई प्रभावित पार्नसक्ने बताइन्छ । यस क्षेत्रमा सानो तर छरिएर रहेको ल्याटिन अमेरिकी, अफ्रिकन अमेरिकन र एसियन मतदाता बाइडेनका लागि महत्वपूर्ण मानिएको छ । यसवाहेक गैर स्वेत समुदायको मत लिन पनि बाइडेन प्रयासरत छन् । यस राज्यमा मत प्रभावित पार्नसक्ने समूह भनेको स्वेत शिक्षित महिला समुदाय हो । विशेषगरी पिट्सबर्ग र फिलाडेल्फिया र आसपास बसोबास गर्नेहरु । जसले यसअघि डेमोक्रेटका लागि साथ दिएका थिए ।
विस्कोन्सिन 
कहिलेकाहीँ यस राज्यलाई नै चुनावी परीणमको चाबी मानिन्छ । जसले यहाँ जित्यो उसैले चुनाव जित्छ भन्ने मान्यता छ । ट्रम्पले अघिल्लो परीणामलाई चुनौती दिँदै, चकित तुल्याउँदै यस राज्यमा २०१६ को चुनाव जितेका थिए ।
तर २०१२ मा मिट रोम्नीको जित अन्तर भन्दा कम अन्तरसहित ट्रम्पले जितेका थिए । यस्तो हुनुको कारण पनि हिलारी क्लिन्टन त्यस क्षेत्रमा अभियानका लागि नगएकाले पनि ट्रम्पका लागि लाभ मिलेको बताइन्छ । त्यसो त, डेमोक्रेटिकले यस क्षेत्रमा पराजय भोग्नुपरेको आरोप पनि हिलारीलाई नै लगाइन्छ । यसबीचमा ट्रम्पले यहाँ रहेका दुग्ध उत्पादकहरुका लागि काम गरिदिए ।

मिसिगन
२०१६ मा ५० लाख मत खसालेको मिसिगन राज्यलाई कुनै उम्मेदवारले बिर्सन सक्दैन । जहाँ ट्रम्पले हिलारी क्लिन्टनलाई १० हजार ७ सय मतले पछि पारेका थिए । यो मत अन्तर इतिहासमै सबैभन्दा झिनो अन्तर थियो । यस राज्यलाई लिएर डेमोक्रेट आवश्यक भन्दा धेरै आत्मविश्वासी भएको पनि बताइन्छ । हिलारीले अत्याधिक अभियान गरेको र धेरै मत ल्याएकाले पनि यसो भनिएको हो ।
यस पटक डेमोक्रेटहरुले जो बाइडेनलाई उनी जित्दैछन् भन्ने खालका समाचार हेडलाइनको बोवास्ता गर्न आग्रह गरिरहे । दुबै पक्षलाई के थाहा छ भने, ह्वाइट हाउसमा पुग्न मिसिगन जित्नु आवश्यक छ ।
ओहिओ 
इतिहासले के देखाएको छ भने, ह्वाइट हाउसको बाटोमा प्राय ओहिओ राज्य कहिल्यै छुटेको छैन । जोन एफ केनेडीको १९६० को जित मात्रै त्यस्तो अपवाद थियो, जतिबेला केनेडी ओहिओ राज्य नजितिकनै राष्ट्रपति बनेका थिए ।
१८ इलेक्टोरल कलेज भोटसहित ओहिओ सर्वाधिक ठूलो राज्यमध्ये एक हो । यसैले पनि राष्ट्रपति बन्न यो राज्य जित्नु अत्यावश्यक जस्तै छ । डोनल्ड ट्रम्पले २०१६ मा ५१ प्रतिशत मत सहित सजिलै यस राज्य जितेका थिए । हिलारीले ४३ प्रतिशत मत पाएकी थिइन् ।
२०२० को चुनावमा भने यो राज्य झन् जटिल देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । उनीहरु अन्य राज्य जस्तो यहाँको वस्तुस्थिति अचानक नबदलिने बताउँछन् ।

फ्लोरिडा 
२०१६ को चुनावमा यो राज्य हिलारी क्लिन्टनले जित्नेछिन् भन्ने सर्वेक्षणले देखाएको थियो । तर परीणाम आउँदा धेरैको आंकलन गलत सावित बन्यो । धेरैजसो रिपब्लिकनहरु समेत त्यसबेला अचम्भित भए कि, जतिबेला ट्रम्पले ११२९११ मतले हिलारीलाई पछि पार्दै जित हासिल गरे ।
यहाँका मतदाताहरु अस्वेत वृद्धहरु साथै क्युवाली अमेरिकीहरुको समुदायको ठूलो हिस्सा यहाँ छ । जसले निर्णायक पलट ल्याउन सक्छ । र उक्त समुदायमा ट्रम्पले प्रभाव जमाएका थिए । तर गैर क्युवाली समुदायमा यसपटक बाइडेनको पकड छ । विश्लेषकहरु के पनि भन्छन् भने, फ्लोरिडाविना ट्रम्पका लागि जित लगभग असम्भव छ ।
अरिजोना

अधिकांश डेमोक्रेटहरु २०२० मा यस क्षेत्रमा आफूहरु सजिलै जित्नेमा विश्वस्त देखिन्छन् । यदी कुनै पनि डेमोक्रेटलाई सोध्यो भने उनीहरुको जवाफ आउँछ कि, ‘अन्ततः २०२० हाम्रो पालो हो ।’
यहाँको मत परिणम छिटो छिटो परिवर्तन हुने र विकल्प खोज्ने किसिमको भएकाले पनि ट्रम्पको विकल्पको खोजीमा उनीहरु रहेको विश्लेषण गरिन्छ । यसैले पनि डेमोक्रेटहरु यस राज्यलाई लिएर यस पटक अहिलेसम्मकै धेरै आशावादी देखिएका छन् । २०१६ मा जसले ट्रम्पलाई विश्वास गरेका थिए उनीहरुले ट्रम्पबाट धोका पाएको उनीहरुको बुझाइ छ । कोरोना भाइरस महामारीका बीच यहाँका नागरिकमा ट्रम्पप्रति निराशा उत्पन्न भएको व्याख्या हुन्छ ।

नेभाडा 
यो राज्यमा कोरोना भाइरस महामारीले पनि ठूलो भूमिका खेल्यो । बेरोजगारीको उच्च दर, जेष्ठ नागरिकहरुका समस्या, श्रम मुद्दाले यस राज्य नराम्ररी प्रभावित भयो । तिनै समस्याको फाइदा बाइडेनले लिने प्रयत्न गरे । जबकि, नाभाडाले अघिल्ला तीन चुनावमा डेमोक्रेटिकका लागि जिताए । ट्रम्पले पनि झिनो अन्तरले हिलारीसँग हारेका थिए ।
यसपल्ट यस राज्यमा इमेल मार्फत मतदान गर्ने प्रविधि पनि अपनाइएको छ । तर ट्रम्प यस्तो निर्णयबाट रुष्ट बनेका थिए ।
नर्थ क्यालोरिना
जर्ज डब्लु बुसले यहाँ २००४ को चुनाव जितेका थिए । तर त्यसपछिको अर्काे चुनाव बाराक ओबामाले जिते । त्यसपछि ट्रम्प्ले झिनो अन्तरले जिते । यसरी पनि यो राज्यलाई छिटो छिटो परिणाम फेरिने राज्यको रुपमा लिइन्छ ।
महामारी अघि नर्थ क्यारोलिनामा रोजगारी र विविध क्षेत्रको कामका लागि आउने गर्थे । जुन अहिले अवस्था फेरियो । राज्य अहिले सहरी व्यवसायी, अस्वेत मतदाता र विश्वविद्यालयका विद्यार्थी र ग्रामीण लगायत क्षेत्रमा विभाजित छ । स्वेत सर्वोच्चतावादी, शिक्षित महिला लगायत विषयसँगै मतदाता विभाजित हुने सम्भावना यहाँ देखिन्छ । यद्यपि २०१६ पछि ठूलो संख्यामा नयाँ मतदाता पनि थपिए ।
टेक्सास 
टेक्सासलाई भने डेमोक्रेट्सहरुको चुनावी पवित्र स्थल जस्तै बनाएका छन् । विभिन्न क्षेत्रबाट आउनेहरुको क्रम यहाँ तीव्र छ । यसैले पनि ती नयाँ मतदातालाई डेमोक्रेटले लक्षित गरेको छ । साथै कलेज मतदाताहरुप्रति डेमोक्रेट आशावादी देखिन्छ । साथै छिट्टै नेतृत्वको विकल्प खोज्ने राज्यमा टेक्सास पनि एक मानिन्छ । अन्यत्र सबै राज्य भन्दा यहाँ विविधता र व्यवसायीहरुको पनि ठूलो संख्या छ । अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुने ठूलै समूह पनि यहाँ छ । जुन समूह ट्रम्पको व्यापार युद्धबाट निराश बनेको बताइन्छ ।
न्यु ह्याम्सायर 
यो राज्यलाई भने ट्रम्पले आफू फेरि जित्ने राज्यको रुपमा चुनावी अभियान केन्द्रित गरे । २०१६ मा हिलारी क्लिन्टनबाट झिनो अन्तरले चुनाव हारेपछि उनले यस राज्यमा आफ्नो भ्रमण बाक्लो बनाए । साथै अभियान पनि यहाँ बढी लक्षित गरे ।
१९९२ देखि नै ह्याम्सायरका मतदाताले डेमोक्रेटलाई साथ दिए पनि जर्ज डब्लु बुसले भने २००० मा जित हासिल गरेका थिए । त्यसो त बाइडेन यो राज्यलाई लिएर आशावादी देखिएका छन् । प्रारम्भिक मत परीणाम उनको पक्षमा थिएन ।
मिन्नेसोटा 
मिन्नेसोटा त्यही राज्य हो जहाँ तीन प्रहरी अधिकृतले जर्ज फ्लोइडको हत्या गरेका थिए । विशाल आन्दोलन पनि भयो । त्यसका बावजुद ट्रम्पको अभियान यो राज्यमा बढी नै केन्द्रित भयो । २०१६ मा भने हिलारीले झिनो अन्तरले ट्रम्पलाई हराएकी थिइन् । त्यसो त, डेमोक्रेटिकले सबैभन्दा धेरैपटक ११ पटकसम्म जितेको राज्य पनि हो यो । यो राज्य त्यस्तो राज्य हो, जहाँ ग्रामीण र सहरी अमेरिकाको ठूलो विभाजनको चित्र यहाँ देखिन्छ । जर्ज फ्लोइडको हत्या, अस्वेत आन्दोलन, ब्लयाक लाइभ्स म्याटर अभियान जस्ता मुद्दाले यसपटकको चुनावमा प्रभाव पार्नसक्ने बताइन्छ । त्यसो त, महामारीका बीच उठेको विशाल प्रदर्शनसँगै ट्रम्प नराम्ररी आलोचित भए ।
जर्जिया
जर्जिया त्यस्तो राज्य हो, जहाँ १९९२ देखि नै डेमोक्रेट पार्टीले जितेको छैन । ट्रम्पले २०१६ को चुनाव सजिलै, अर्थात् कुनै ठूलो अभियान नगरिकनै जितेका थिए । अस्वेत अभियानलाई डेमोक्रेटले कसरी पूँजीकृत बनायो भन्ने कुराले मात्रै यस पटकको चुनाव डेमोक्रेटको पक्षमा जाने वा नजाने निर्धारण गर्छ ।
लोवा
लोवा राज्यमा यस्तो इतिहास जोडिएको छ, यहाँका मतदाता अत्याधिक छिटो नेतृत्वको विकल्प खोज्नेमा पर्छन् । यसैले पनि यहाँ मतदाताले झिनो मतअन्तरले जित्ने गरेका छन् । ट्रम्पले अवलम्वन गरेका अर्थनीति, चीनसँगको व्यापार युद्ध जस्ता निर्णयले पनि यहाँ यस पटक प्रभाव पार्नसक्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार