स्थानीय तहको अनुमतिले विद्यालयहरू खुल्न थाले

आइतबार, माघ २३, २०७८

काठमाडौं, २३ माघ । कोभिड सङ्क्रमण बढेपछि गृह मन्त्रालयले माघ मसान्तसम्म विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन नगर्न निर्देशन दिएको छ । तर काठमाडौंसहित विभिन्न जिल्लाका स्थानीय तहमा विद्यालयहरू सञ्चालन आइसकेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपाल केही स्थानीय तहले आफ्नो क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेका कारण विद्यालयहरूलाई कक्षा सञ्चालन गर्ने अनुमति दिएको बताउँछिन् । विद्यालय सञ्चालकहरूले विद्यार्थीहरूले खोप लगाएको र सङ्क्रमण दर घटेको कारण देखाई स्वास्थ्य मापदण्डको पालना गरेर विद्यालय खोल्न पाउनुपर्ने माग गरिहेका छन् । स्वास्थ्यविज्ञहरूले भने अहिल्यै विद्यालय खोल्न हतार नगर्न सुझाव दिएका छन् ।  सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपाल भन्छिन्, ‘गृह मन्त्रालयले त माघ अन्तिमसम्मै शैक्षिक संस्थाहरू बन्द राख्न निर्देशन दिएको छ। पालिकाको अवस्थालाई ध्यानमा राखेर विद्यालय खोल्ने निर्णय गरिएको होला।’ उनले विद्यालय खोल्ने वा नखोल्ने पालिका र जिल्ला कोभिड–१९ व्यवस्थापन समिति डीसीएमसीको क्षेत्राधिकारको विषय भएको बताइन् ।

किन खुले विद्यालय ?
माघ १५ देखि माघ २० गतेसम्म विद्यार्थीहरूलाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि विद्यालयहरू खोल्ने अनुमति दिइएको थियो । त्यसबाहेक केही विद्यालयले विद्यार्थीहरूलाई पठनपाठनकै लागि विद्यालयको पोसाक नलगाई विद्यालय डाकेको जानकारहरू बताउँछन् । ‘हाम्रै नगरपालिकामा केही विद्यालय गोप्य रूपमा सञ्चालन गरिएको थाहा पाएका छौँ’, गोकर्णेश्वर नगरपालिकाका नगर शिक्षा अधिकारी विजयप्रसाद आचार्यले भने ।
उनले नगरपालिकाले माघ २३ गतेदेखि नै सम्पूर्ण विद्यालयहरू सञ्चालनमा ल्याउने निर्णय समेत भएको जानकारी दिए । अभिभावक र विद्यालयहरूको आग्रह, पेसागत सङ्घसंस्थासँगको बैठक र हरेक विद्यार्थीले खोप पाएको सुनिश्चितसँगै विद्यालय खोल्ने निर्णय गरेको उनको कथन छ । आचार्यले भने, ‘खोप लगाएपछि सङ्क्रमणको जोखिम वा सङ्क्रमणले पार्ने असर कम हुन्छ। त्यसैले अब कुनै पनि विद्यालयले लुकेर वा छलेर विद्यार्थी बोलाउन पर्दैन।’

अध्ययन
बुढानीलकण्ठ नगर प्रमुख उद्धवप्रसाद खरेल नगरपालिकामा पनि केही विद्यालयहरू सञ्चालन भइरहेको बताउँछन् । उनका अनुसार थोरै विद्यार्थी सङ्ख्या भएका र आवासीय विद्यालयहरूमा आलोपालो गर्दै पठनपाठन भइरहेको हो । ‘केही विद्यालयले स्वास्थ्य मापदण्ड पालन गर्दै कक्षा सञ्चालन गरेको थाहा पाएका छौँ। विद्यार्थीहरूले खोप लगाएको हुनाले यसलाई ठूलो अपराधका रूपमा हेरेका छैनौँ’, उनले भने । खरेलका अनुसार बिहीवार नगरपालिकाका सबै विद्यालय संस्थापकहरूले भौतिक कक्षा सञ्चालन गर्ने अनुमतिको मागसहित कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । ‘अवस्था भयावह बनेन भने फागुनदेखि विद्यालय खोल्ने अनुमति दिन्छौँ’ उनले भने ।

के भन्छन् विद्यालय ?
निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनका काठमाडौं जिल्ला अध्यक्ष प्रेमकुमार राई सबै बजार र व्यवसाय खुला रहँदा विद्यालय मात्र ठप्प राखिनु अव्यवहारिक भएको बताउँछन् । प्याब्सनले माघ २३ गतेदेखि सम्पूर्ण निजी तथा आवासीय विद्यालयहरू खोल्ने अनुमतिको माग गर्दै आएको छ । ‘विद्यार्थीहरूले खोप लगाउनु नै विद्यालय खोल्ने आधार हो । हामी पनि बालबालिकाको स्वास्थ्यबारे संवेदनशील छौँ । तर सङ्क्रमण जीवनको पाटो बनेको अवस्थामा उनीहरूको शैक्षिक एवं मानसिक विकासको पाटोमा ध्यान दिन आवश्यक छ’ उनले भने । दुई वर्ष विद्यालय नजाँदा विद्यार्थीहरूको शैक्षिक स्तर र क्षमता खस्किएको उनी बताउँछन् । त्यस्तै इन्टरनेटको असमान पहुँच र प्राविधिक उपकरणहरूको अभावका कारण अनलाइन कक्षा प्रभावकारी नभएको राईले बताए । ‘१२ वर्षभन्दा कम उमेर समूहका विद्यार्थीहरू जसले खोप लगाएका छैनन् उनीहरूलाई केही समय भर्चुअल रूपमै पढाउन विद्यालयहरू तयार छन्’ राईले भने । जनस्वास्थ्यका मापदण्ड पालना, विद्यार्थीलाई अनिवार्य खोप र आलोपालो गर्दै कक्षा सञ्चालन गर्ने योजना रहेको उनले बताए।

स्वास्थ्य विज्ञको राय
विद्यालय सञ्चालकहरूले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको माग गरे पनि तत्काल शैक्षिक संस्थाहरू खोल्ने समय नभएको विज्ञहरूको धारणा छ । सङ्क्रमणको यस लहरमा बालबालिकामा सङ्क्रमण दर उच्च देखिएको नेपाल पेड्रियाटिक सोसाइटीका अध्यक्ष एंव बालरोग विशेषज्ञ डा. गणेशकुमार राईले बताए । राईले सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कलाई बालबालिकामा सङ्क्रमण फैलिनुको प्रमुख कारण भएको बताए । ‘पहिलो र दोस्रो लहरमा बालबालिका घरमै बसे। सङ्क्रमितसँग सम्पर्कमा आएनन् । तेस्रो लहरअघि त विद्यालय खुले, बालबालिका बाहिर निस्किए र सङ्क्रमितहरूसँग सम्पर्कमा आए, उनले भने । सङ्क्रमण र त्यसपछि हुने सम्भावित जोखिमलाई कम गर्न विद्यालय बन्द राख्न उनी सुझाव दिन्छन् ।

‘विद्यालयमा हरेक समूहका बालबालिका हुन्छन् । साना बालबालिकालाई मापदण्ड लागू गराउन गाह्रो हुन्छ’, उनले भने, ‘हाम्रा विद्यालयका भौतिक संरचना, कक्षाकोठादेखि शौचालय र डेस्क बेन्चहरू दूरी कायम राख्न सकिने गरी फराकिला छैनन् । त्यस्तोमा सुरक्षा अपनाउन सम्भव हुँदैन ।’ त्यस्तै विद्यार्थी बोक्ने सवारीसाधन समेत सङ्क्रमण फैलाउने माध्यम हुनसक्ने उनले बताए ।
डा. राई भन्छन्, ‘अझै दुई–तीन हप्ता विद्यालय खोल्ने कुरा सोच्न हुँदैन।’

‘सङ्क्रमण घट्यो भनेर विद्यालय खोल्नु ठिक होइन’
सङ्क्रमण सङ्ख्यात्मक रूपमा केही घटेको जस्तो देखिँदैमा बालबालिकालाई विद्यालयमा भेला पार्ने निर्णय सङ्क्रमण नियन्त्रणका लागि उचित नहुने बताउँछन् सघन उपचार विज्ञ डा। दिप्तेश अर्याल । उनका अनुसार तत्काल विद्यालय खोल्नुले बालबालिकामा सङ्क्रमण र त्यसले निम्त्याउने स्वास्थ्य समस्याको जोखिम रहन्छ । ‘खोप लगाएका बालबालिका तथा किशोरकिशोरीका लागि विद्यालय खुल्नु ठिक हो। तर सबैले खोप लगाएका छैनन् र सङ्क्रमणको सम्भावना उच्च छ भन्ने कुरालाई ध्यान दिनु पर्‍यो’, डा. अर्यालले भने ।

‘सङ्क्रमण दरलाई आधार बनाएर सङ्क्रमण घटेको अन्दाज गर्नु र विद्यालय खोल्नु ठिक हुँदैन। किनकि परीक्षण कम गरेपछि सङ्क्रमण दर पनि कम देखिन्छ। यस्ता महत्त्वपूर्ण निर्णय त अस्पताल भर्ना हुने, गम्भीर बिरामी हुने र मृत्युदर हेरेर लिनुपर्छ’, उनले भने, ‘सङ्क्रमण दर उच्च रहँदा मानिसहरू भेला हुनुले भाइरसको नयाँ भेरिअन्ट देखिने सम्भावना रहन्छ ।’  डा. अर्याल भन्छन्, ‘जनस्वास्थ्यको कोणबाट हेरेर मात्र विद्यालय खोल्नु ठिक हुन्छ।’–बीबीसी 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार